भारतीय उद्यमी जसले सम्हाल्दै छन् ह्वाट्स्यापको नेतृत्व

तस्बिर स्रोत, CRED
- Author, अभिषेक डे
- Published
- पढ्ने समय: ६ मिनेट
केही समयअघिसम्म कुणाल शाह भारतको स्टार्टअप र लगानीकर्तामाझ एउटा चिरपरिचित अनुहार थिए।
वित्तीय प्रविधि (फिन्टेक) कम्पनी 'क्रेड'का संस्थापकले आफूले स्थापना गरेको व्यवसायभन्दा बाहिर पनि आफूलाई पछ्याउने जमात निर्माण गरेका थिए।
पड्कास्टमा उपस्थित हुँदा उनले विश्वास, प्रोत्साहन, सम्पत्तिको सृजना र मानव व्यवहार जस्ता विषयहरूमा धारणा राख्ने गर्थे। सामाजिक सञ्जालमा उनका पोष्टहरू आर्टिफिशल इन्टेलिजेन्सीदेखी दर्शनसम्मका विषयमा केन्द्रित रहन्थे।
तर अहिले मेटाले उनलाई ह्वाट्स्यापको नेतृत्व गर्ने जिम्मा दिएसँगै उनले अन्तर्राष्ट्रिय ध्यान खिचिरहेका छन्।
मेटाले क्रेडमा ९० करोड डलर लगानी गर्ने निर्णय गरेसँगै यो घोषणा भएको हो। ह्वाट्स्यापले सन्देश आदानप्रदानभन्दा पर भुक्तानी, व्यापार सेवा र एआईमा आधारित उत्पादनमा आफूलाई केन्द्रित गर्न खोजिरहेको छ।
भारतीय मूलका कार्यकारी अधिकारीहरूले विश्वका कतिपय प्रमुख प्रविधि कम्पनीहरूको नेतृत्व गरिसकेका छन्। तर भारतको स्टार्टअप चक्रमा आफ्नो करिअर निर्माण गरेका एक संस्थापकलाई यति ठूलो स्तरको विश्व्यापी उपस्थिति भएको प्ल्याट्फर्मको नियन्त्रण दिइनु दुर्लभ मानिएको छ।
विश्वभर ह्वाट्स्यापका ३ अर्बभन्दा बढी प्रयोगकर्ता छन्।
विगत
मेटाले उनलाई खोज्नुअघि शाह भारतको स्टार्टअप प्रणालीमा एक परिचित अनुहार बनिसकेका थिए।
सन् २०१० मा भारतको इन्टरनेट अर्थतन्त्रले आफ्नो आकार ग्रहण गर्न लागिरहँदा 'फ्रीचार्ज' नामक मोबाइल रिचार्ज प्ल्याट्फर्मबाट उनले पहिलो ठूलो सफलता हासिल गरेका थिए। उक्त कम्पनी द्रुत गतिमा विस्तार भएको थियो र त्यसलाई सन् २०१५ मा 'स्न्याप डील' नामक अनलाइन व्यापार कम्पनीले आफ्नो बनाएको थियो।
भारतको इतिहासमा नै त्यो त्यस बेलासम्मको सर्वाधिक ठूलो स्टार्टअप स्वामित्व हस्तान्तरण थियो।
तर शाहको प्रतिष्ठा उनले स्थापना गरेका कम्पनीहरूभन्दा बाहिर पनि फैलिँदै गयो। 'फ्रीचार्ज' छाडेपछि उनले कैयौँ वर्ष युवाहरूको प्रवधि र परामर्शसम्बन्धी फर्महरूमा लगानी गरेका थिए।
उनले स्टार्टअप प्रवर्द्धक कमस्पनी वाई कम्बाइनेटर र सेक्वोया क्यापिटलमा पनि सल्लाहकारका रूपमा काम गरे। भारतमा स्टार्टअप तीव्र ढङ्गले विस्तार भइरहँदा यी भूमिकामार्फत् उनले नजिकबाट प्रविधि क्षेत्रका एउटा पुस्तासँग सङ्गत गर्न पाए।
मुम्बईमा हुर्किएका शाहले कलेजमा दर्शनशास्त्र अध्ययन गरेका थिए। उनले भारतका नाम चलेका प्रविधि क्षेत्रका कम्पनीका संस्थापकहरूले इन्जिनियरिङ वा व्यवस्थापन संस्थाहरूबाट अघि बढेको जस्तो बाटो अँगालेनन्।
एक्समा राखिएको एउटा पोस्टमा भारतका उद्यमी र लगानीकर्ता सञ्जीव बिखचन्दानीले बताएअनुसार शाहले बिहान पढेर बाँकी समयमा त्यस बेला सङ्कटग्रस्त अवस्थामा रहेको परिवारको व्यवसाय सम्हालन आफूले दर्शनशास्त्र अध्ययन गरेको उल्लेख गरेका थिए।
अन्तर्वार्ता र पड्कास्टहरूमा उपस्थित हुँदा शाहले अध्ययनको समयमा विभिन्न किसिमका कठिन कामहरू गरेको उल्लेख गरेका थिए। प्रारम्भिक समयका ती अनुभवहरू फ्रीचार्जको घोषणा गर्दा काम लागेका थिए। उक्त कम्पनीले सबैभन्दा पहिला उनलाई भारतमा चिनाएको थियो।
सन् २०१८ मा समयमा नै आफ्नो क्रेडिट कार्डको भुक्तानी गर्ने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने अवधारणा बोकेको समान्य व्यावासायिक मोडलमा 'क्रेड' सुरु भएको थियो।
सार्वजनिक मञ्चहरूमा शाहले कम्पनीको स्थापना गर्ने निर्णय विश्वास र प्रोत्साहनका प्रश्नहरूसँग सम्बन्धित रहेको बताएका थिए। पछि कम्पनीले ऋण, बीमा, व्यवसाय र सम्पत्ति व्यवस्थापनजस्ता क्षेत्रमा आफूलाई विस्तार गरेको थियो।
प्रशंसा र प्रश्न सँगसँगै

तस्बिर स्रोत, PA
मेटाको पछिल्लो लगानीले क्रेडको मूल्य विगतमा उसमाथि लगानी गरिदाँको समयभन्दा बढी अर्थात् झन्डै चाढे चार अर्ब डलर कायम गरिदिएको छ। तर उक्त तथ्याङ्क सन् २०२२ मा उसको सर्वाधिक उच्च मूल्याङ्कनभन्दा कम रहेको रोयटर्सको विवरणमा जनाइएको छ।
क्रेड एउटा सबैले चिनेको फिन्टेक ब्र्यान्ड पनि बन्न पुग्यो, विशेष गरी उसको विज्ञापन अभियानका कारण। विशेष गरी हास्यरस, भावुक बनाउेे गरी विगतका दिनको सम्झना र चर्चित व्यक्तित्वको अकस्मात्को उपस्थितिले पनि त्यसमा भूमिका खेल्यो।
तर उसको विस्तारले उसमाथि निगरानी पनि बढ्यो। वर्षौँसम्म सो कम्पनीलाई उसको ब्र्यान्ड र विस्तारका कारण प्रशंसा गरियो तर नाफाका लागि उसले रोजेको बाटोलाई लिएर प्रश्नहरू पनि उठे।
आलोचकहरूले कम्पनीको वित्तीय प्रगतिले लगानीकर्ताको उत्साह र उच्च मूल्याङ्कनको औचित्य सावित गर्छ कि गर्दैन भनेर प्रश्न गरिरहे। तर समर्थकहरूले संस्थाको विस्तारका क्रममा धेरै सफल प्रविधि व्यवसायहरूले लामो अवधि नोक्सान बेहोरेका तर्क गरे।।
अघिल्लो वर्ष सामाजिक सञ्जालमा निरन्तरको दिगो नाफाबिना पनि उद्यमीहरूलाई किन प्रशंसा गरिन्छ भनेर प्रश्न गरिँदा यो प्रश्न पुन: सतहमा आएको थियो।
उत्तरमा शाहले नाफा कमाउने व्यवसायले मान्यता पाउनुपर्नेमा आफ्नो सहमति रहेको बताउँदै उद्यमशीलता स्वयंलाई भने प्रोत्साहित गरिनुपर्ने तर्क गरे। उनका अनुसार उद्यमशीलताले रोजगारी सृजना गर्छ र जोखिम वहन गर्छ।
उनका समर्थकहरू शाहलाई भारतको आधुनिक इन्टरेनट अर्थतन्त्र निर्माणमा सहयोग गर्ने पुस्ताको उद्यमीका रूपमा लिन्छन्। उनले पहिला डिजिटल भुक्तानी र त्यसपछि वित्तीय प्रविधिबाट त्यो गरेका थिए।
स्टार्टअप पोलिसी फर्मकी प्रमुख कार्यकारी श्वेता राजपाल कोह्लीले शाहसँग कैयौँ वर्षसम्म विभिन्न नीतिगत विषयहरूमा काम गरेकी छन्। उनले 'नियामकीय जटिलतालाई उत्पादनको दृष्टिकोणबाट बुझ्ने र उत्पादन डिजाइनमा नियामकीय दृष्टिकोण समावेश गर्ने दुर्लभ क्षमता' शाहसँग भएको बताइन्।
"उनको सिर्जनशीलता र समस्या समाधान गर्न सक्ने क्षमताले निरन्तर चकित बनाउने गरेको छ," उनले भनिन्।
आलोचकहरू शाहले दिगो व्यावसायिक ढाँचाभन्दा पनि मूल्याङ्कन, लगानीको खोजी र द्रुत विस्तारमा आधारित स्टार्ट अप संस्कृतिको प्रतिनिधित्व गर्ने ठान्छन्।
नियुक्तिको अर्थ

तस्बिर स्रोत, Getty Images
अहिलेको उनको नियुक्तिले पनि शाहको करिअरका कैयौँ चरित्रहरूलाई झल्काउँछ।
ह्वाट्स्यापले सन्देश आदानप्रदान गर्ने माध्यमबाट आफूलाई भुक्तानी, व्यवसायसँग सम्बन्धित सेवा र व्यापारका क्षेत्रमा विस्तार गर्न लागिरहेको छ भने शाहले पछिल्लो दशकको धेरै समय उत्पादनहरू निर्माण गर्ने, लगानी गर्ने र कम्पनीहरूलाई सल्लाह दिने काममा खर्चिएका छन्।
ह्वाट्स्यापको सबैभन्दा ठूलो बजार भारत उनको उद्यमशीलताको करिअरको केन्द्र रहेको छ। यो नियुक्तिसँगै उनी ह्वाट्स्यापलाई नेतृत्व गर्ने पहिलो भारतीय बन्दै छन्।
तर कतिपय आलोचनकहरूले उनको नियुक्तिलाई पूर्ण रूपमा फिन्टेक वा भुक्तानीको आँखाले मात्रै हेर्न नहुने धारणा राखिरहेका छन्।
"शाहलाई फिन्टेक र भुक्तानीको उनको पृष्ठभूमिका कारण यो भूमिकामा छनौट गरियो भन्ने ठान्ने प्रवृत्ति देखिएको छ। मलाई लाग्छ त्यो अति साँघुरो खालको दृष्टिकोण हो," 'मिडियानामा' नामक प्रविधि समाचार वेवसाइटका संस्थापक र सम्पादक निखिल पाह्वाले बीबीसीसँग भने।
"उनी त्यो व्यक्ति हुन् जसले उत्पादन, उपभोक्तका व्यहार, प्रोत्साहन र विस्तारका बारेमा सोचविचार गरेर वर्षौँ बिताएका छन्। अनि उनको व्यवसायमा भुक्तानीलाई उपभोक्तालाई आफूतर्फ आकर्षित गर्ने माध्यमका रूपमा प्रयोग गरिएको छ ताकि उत्पादनहरूलाई उनीहरूतर्फ नै बजारीकरण गर्न सकियोस।"
"यो भुक्तानीसँग सम्बन्धित नियुक्तिभन्दा पनि मेटाले उपभोक्तामा आधारित व्यवसायलाई विस्तार गर्न सक्ने अनुभव भएको संस्थापक रोजेको जस्तो देखिन्छ।"
मेटाले सार्वजनिक रूपमा उनलाई उक्त भूमिकामा किन रोजियो भन्ने स्पष्ट पारेको छैन। उनको नियुक्ति घोषणा गर्दै मेटाका प्रमुख कार्यकारी मार्क जकर्बर्गले उनको 'निर्माण गर्ने सोच" र "विश्वव्यापी अवधारणा'को प्रशंसा गरेका थिए।
विश्वका अर्बौँ मानिसहरूलाई आफ्नो सेवा पुर्याइरहेको ह्वाट्स्यापले भुक्तानी, व्यवसायका साधन र एआई आधारित उत्पादनहरूमा आफ्नो उपस्थिति गहिरो पार्न लागिरहँदा उनका ती विशेषताहरू परीक्षणमा पर्नेछन्।
शाहका सामु अबको चुनौती उनले विगतमा भोगेका भन्दा बिलकुल फरक हुने छन्। क्रेडमा उनले आर्थिक रूपमा सक्रिय प्रयोगकर्ताहरूका लागि उत्पादकहरू बनाइरहेका थिए। उनका प्रयोगकर्ता मुख्य रूपमा संस्थापक, लगानीकर्ता र प्रविधिमारुचि राख्ने मानिसहरू थिए।
तर ह्वाट् एपमा उनले त्यो तप्काभन्दा बाहिरको विशाल समुदायलाई सेवा दिन केन्द्रित हुनुपर्ने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















