ग्रीसमा आगो निभाउने क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किँदा चालक दलका दुई जनाको मृत्यु

Published
पढ्ने समय: ३ मिनेट

ग्रीसमा डढेलो नियन्त्रणमा लिने क्रममा आकाशमै दुई हेलिकप्टर आपसमा ठोक्किँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा एक डेनिस पाइलट र ग्रीक अग्नि नियन्त्रण निकायका सम्पर्क अधिकृत रहेका छन्। त्यस्तै अर्को हेलिकप्टरमा सवार ब्रिटिस पाइलट र एक ग्रीक समन्वयकर्ता भने सकुशल रहेका बताइएको छ।

राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा भएको उक्त दुर्घटनाको भिडिओमा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको 'पङ्खा'मा ठोक्किएको देखिन्छ। त्यसपछि एउटा हेलिकप्टरमा आगो लागेर नजिकैको भिरालो स्थानमा खसेको थियो भने अर्कोले आकस्मिक अवतरण गरेको थियो।

यो साता ग्रीसका विभिन्न क्षेत्रमा डढेलो फैलिएको छ। त्यसले गर्दा ठूलो सङ्ख्यामा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। लामो समयदेखिको अत्यधिक गर्मीका कारण युरोपका अन्य देशहरू पनि विनाशकारी डढेलोबाट प्रभावित भएका छन्।

ग्रीसको नागरिक सुरक्षा मन्त्रालयको एक स्रोतले बीबीसीलाई बताएअनुसार सुरक्षा प्रोटोकलअनुसार देशभर सञ्चालनमा रहेका सबै 'बेल' हेलिकप्टरको उडान तत्कालका लागि स्थगित गरिएको छ।

स्रोतले बताएअनुसार जीवित बचेका ब्रिटिस पाइलट डढेलोको जोखिमयुक्त मौसमका लागि निजी रूपमा खटाइएका पाइलट थिए। उनी ब्रिटेन र ग्रीसबीचको कुनै आदानप्रदान कार्यक्रमको हिस्सा थिएनन् र एथेन्सले ब्रिटेनसँग सहयोगको लागि कुनै अनुरोध पनि गरेको थिएन।

ग्रीसको समाचार वेबसाइट 'एकाथिमेरिनी'का अनुसार दुर्घटनामा बचेका दुई जनाले तुरुन्तै हेलिकप्टर ठोक्किएको जानकारी दिएका थिए र उद्धारकर्ताहरूलाई दुर्घटनास्थलसम्म पुग्न सघाएका थिए।

चारै जना चालक दलका सदस्यहरूको नाम सार्वजनिक गरिएको छैन।

अहिले पनि 'एरिक्सन एअर-क्रेन' र 'चिनूक हेलिकप्टर'का साथै पानी छर्कने 'क्यानाडेअर' विमानहरूले डढेलो नियन्त्रण गर्ने काम जारी राखेका छन्।

यो साताको सुरुआतमा फ्रान्स र स्पेनले पनि ठूल्ठूला डढेलोहरूसँग सङ्घर्ष गरेका थिए। तीमध्ये दुई ठूला डढेलो क्रमशः मड्रिड र बोर्डो नजिकै फैलिएका थिए।

अहिले ती डढेलोहरू नियन्त्रणमा आएका छन् तर अझै निभिसकेका भने छैनन्। डढेलोका कारण सुरक्षित स्थानमा सारिएका करिब ३ लाख मानिसहरू अब आफ्ना घर फर्कन थालेका विवरणहरू आएका छन्।

ग्रीसमा सञ्चारमाध्यमहरूले पोर्टो यर्मेनो, पसाथा, फोकीदा, मेगारा र केफालोनिआ लगायतका क्षेत्र समेटिएको ठूलो भूभागको डढेलोको अवस्थालाई "विशाल सङ्घर्ष"का रूपमा वर्णन गरेका छन्। पछिल्लो ७२ घण्टादेखि ५०० भन्दा बढी अग्निनियन्त्रकहरू डढेलो नियन्त्रणमा ल्याउने कोसिसमा जुटेका छन्।

डढेलोहरू प्राय: जानाजान वा दुर्घटनावश मानिसहरूबाटै सुरु हुन्छ। तर जलवायु परिवर्तनका कारण यस्ता डढेलो फैलिन अनुकूल अवस्था थप सामान्य बन्दै गएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।