तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालले कतिवटा बाघ थेग्न सक्छ, मान्छेसँगको द्वन्द्व कसरी घट्ला
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ६ मिनेट
राजधानी काठमाण्डूमा बाघको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको घोषणालाई अधिकारीहरू तथा वन्यजन्तु संरक्षणकर्मीहरूले उत्साहजनक मानेका छन्। अहिले नेपालमा वयस्क बाघको सङ्ख्या ४२९ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
तर लुम्बिनी प्रदेशको राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनीषा सिंह थारूले बाघको सङ्ख्या वृद्धिलाई स्थानीय मानिसहरूले हर्षको मात्र विषय बनाउन नसक्ने प्रतिक्रिया दिइन्।
"स्थानीय सरकारहरू गठन भएदेखि नै यस गाउँपालिकामा १०-१५ जना मानिसले बाघका कारण ज्यान गुमाइसकेका छन्। त्यसैले सङ्ख्याबाट उनीहरू उत्साहित हुँदैनन्," थारूले भनिन्।
राप्ती सोनारी गाउँपालिकाको अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्जले ओगटेको छ। अहिलेको सर्वेक्षणले त्यहाँ बाघको सङ्ख्या ५१ रहेको देखिन्छ।
थारूले औँल्याएको विषयमा संरक्षणविद्हरूको दुईमत छैन।
संरक्षण दिगो नहुने चिन्ता
"सङ्ख्या बढेको देखिनु संरक्षणका लागि निश्चय नै एउटा सफलता हो। तर सँगसँगै मान्छे नमर्नु झन् महत्त्वपूर्ण हुन्छ। बाघ वा वन्यजन्तुका कारण मानवीय क्षति शून्य बनाउन सकियो भने बल्ल संरक्षण दिगो र महत्त्वपूर्ण हुन सक्छ," बाघ संरक्षणका विज्ञ बाबुराम लामिछानेले बताए।
अर्का संरक्षणविद् कुमार पौडेल सङ्ख्या वृद्धिबाट मात्रै संरक्षणका कार्यक्रम पूर्ण सफल मान्न नसकिने बताउँछन्।
"बाघ संरक्षणको दृष्टिकोणबाट सङ्ख्या वृद्धि उत्साहजनक छ। तर बाघसँगै बस्ने स्थानीय समुदायहरू जबसम्म खुसीसाथ यो बढेको सङ्ख्यालाई स्वीकार गर्न सक्ने अवस्थामा हुँदैनन् तबसम्म यसलाई आंशिक सफलता मात्र मान्न सकिन्छ," पौडेलले भने।
बाघको सर्वेक्षणमा सङ्ख्या वृद्धि भएको घोषणा गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरूले पनि चुनौतीपूर्ण नै मानेका छन्।
"गत चार वर्षमा वार्षिक करिब ५ प्रतिशतले वयस्क बाघको सङ्ख्या बढाउन सकिएको छ। यस मानेमा हामी खुसी पनि छौँ अनि सँगसँगै भोलिको दिन थप चुनौतीपूर्ण हुने छन् भनेर हामी थप जिम्मेवार हुनुपर्ने स्थिति छ," विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेदकुमार ढकालले बताए।
कति बढ्यो बाघको सङ्ख्या
विश्व बाघ दिवसका अवसरमा हालै गरिएको बाघ गणनाको नतिजा बुधवार सार्वजनिक गरिएको हो।
यसअघि सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या ३५५ थियो।
ताजा विवरणअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। त्यहाँ १४५ बाघ रहेका छन्।
बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा ११२ बाघ गणना भएको छ।
त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा ७१ अनि बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा क्रमश: ५१ र ५० बाघ भेटिएका छन्।
बाघलाई कति ठाउँ चाहिन्छ
बाघको सङ्ख्या बढ्दै गर्दा कतिपयले नेपालका संरक्षित क्षेत्रहरूले कति बाघ थेग्न सक्लान् कि नसक्लान् भन्ने प्रश्न पनि गर्दै आएका छन्।
बाघ फस्टाउन अलि धेरै क्षेत्रफल आवश्यक पर्ने गर्छ। कतिपय अन्तर्राष्ट्रिय प्रकाशनहरूमा प्रति १०० वर्गकिलोमिटरमा १५-२० वटासम्म बाघ रहन सक्ने उल्लेख छ।
"तर त्यस्तो सङ्ख्या परिवर्तनशील हुन्छ र धेरै कुरामा निर्भर हुन्छ। राम्ररी व्यवस्थित क्षेत्र छ भने थोरै ठाउँमा पनि धेरै बाघ अट्छन्," विभागका उपमहानिर्देशक वेदकुमार ढकालले भने।
"उदाहरणका लागि, पानीको स्रोत यथेष्ट उपलब्ध छ, आहारा प्रजाति प्रशस्त छन्, घाँसेमैदान छ र मानिसको हस्तक्षेप त्यति छैन भने ७/८ वर्ग किलोमिटर क्षेत्रमा एउटा बाघ रहन सक्छ," उनले भने। "नत्र ठूलै क्षेत्र भए पनि धेरै बाघ थेग्न सकिँदैन।"
उनका अनुसार अहिले चितवन र बर्दियामा बाघको सङ्ख्या क्षेत्रफलको हिसाबले पर्याप्त हुन थालेको छ तथापि सङ्ख्यामा हुन सक्ने "केही तलमाथि"ले अहिले कुनै चुनौती ल्याइहाल्ने देखिएको छैन।
बाघको सङ्ख्या केही वर्षयता निरन्तर बढिरहेको देखिए पनि त्यो विगतको तुलनामा एकदम कम रहेको संरक्षणविद् लामिछानेको भनाइ छ।
"सय वर्षअघि एउटै सिकारमा १२० बाघ मारिएका थिए भन्ने कुरा हामीले सुनेका छौँ। त्यसरी हेर्दा अहिले केबल बाघ पुनर्स्थापित मात्रै हुँदै गएको जस्तो लाग्छ," उनले भने।
विश्वमा नेपालसहित १३ वटा देशमा मात्र बाघ पाइन्छन्। सन् २०१० मा नेपालमा जम्मा १२० बाघ थिए। सोही वर्ष रुसमा भएको विश्व बाघ सम्मेलनले १० वर्षमा बाघको सङ्ख्या दोबर बनाउने घोषणा गरेको थियो।
नभन्दै सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या ३५५ पुग्यो। विश्वभरिचाहिँ सन् २०१० मा ३२०० रहेको बाघको सङ्ख्या सन् २०२२ मा आइपुग्दा ५२०० पुगेको थियो।
बाघ-मानिस द्वन्द्व बढ्ने डर
सन् २०१० देखि सन् २०२४ का बीचमा नेपालमा बाघको आक्रमणका २४५ घटना भएको र तिनमा परेर १४१ जनाले ज्यान गुमाएको आँकडाहरूले देखाएको बाघ संरक्षणविद् बाबुराम लामिछानेले बताए।
"यस्ता घटना कोभिड महामारीका बेला अलि धेरै भएको पाइयो। सन् २०२२ पछि यो सङ्ख्या क्रमश: कम भइरहेको छ तर शून्यमा आएको छैन," उनले भने।
बाघ-मानिस द्वन्द्व न्यूनीकरणका निम्ति केही वर्षयता थालिएका कार्यक्रमहरूले केही सकारात्मक परिणाम दिन थालेको उनले बताएका छन्।
खास गरी वनजङ्गल छेउछाउ बसोबास गर्ने स्थानीय समुदायलाई पर्याप्त सचेतना र संरक्षणकार्यमा सामेल गराउनुपर्ने उनले बताए।
"पहिलो त बाघको आनीबानीबारे बताउने कामहरू भएका छन्। हाम्रो अनुभवमा बाघ प्राय: बिहानबेलुका सक्रिय हुने हुँदा त्यो समय स्थानीय समुदाय बढ्ता सचेत रहनुपर्छ। झाडीहरूको सरसफाइ तथा मानिस हिँड्ने बाटोको सोचविचार गर्दा पनि द्वन्द्व घटेको छ," उनले भने।
विभागका प्रवक्ता वेदकुमार ढकालका अनुसार सरकारले आवश्यक ठाउँमा बस्तीलाई तारबार गरेर पनि द्वन्द्व न्यूनीकरण गर्ने प्रयास गरेको छ।
बन्यजन्तु संरक्षणविद् कुमार पौडेल अब सबैको ध्यान बाघको दिगो संरक्षणमा केन्द्रीत हुनु पर्ने बताउँछन्।
"कुनै समय लोप हुने अवस्थामा पुगेको बाघको सङ्ख्या यसरी बढ्नु निकै राम्रो हो। यसले संरक्षणका प्रयासहरू तथा चोरी सिकार नियन्त्रणका प्रयासहरूले काम गरेको देखाउँछ। तर अब मानिससँगको द्वन्द्व न्यूनीकरणमा पनि उत्तिकै प्रयास हुनु पर्छ," पौडेलले बताए।
विभागको अघिल्लो वर्षको प्रतिवेदन हेर्ने हो भने नेपालभरिका संरक्षित क्षेत्र भित्रका बस्ती र मध्यवर्ती क्षेत्रका बस्तीमा बन्यजन्तुको आक्रमणबाट अघिल्लो वर्ष २०८१/८२ मा १५ जनाको ज्यान गएको थियो। जबकी ६ वर्ष अगाडि ३० जनाको ज्यान गएको थियो।
अहिलेको कानुनअनुसार बन्यजन्तुको आक्रमणमा परेको खण्डमा पीडितको उपचार खर्च सरकारले बेहोर्छ। कसैको मृत्यु भएमा दश लाख रुपैयाँको राहत दिने व्यवस्था छ।
कहिले र कसरी भयो बाघ गणना
नेपालले सन् २००९ देखि हरेक चार-चार वर्षमा बाघ गणना नियमित रूपमा गर्दै आएको छ।
यसअघि सन् २०२१ मा बाघ गणना भएको थियो।
उक्त गणनामा नेपालभरि ३५५ वटा बाघ प्राकृतिक वासस्थानमा भएको सार्वजनिक भएको थियो। तीमध्ये चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, शुक्लाफाँटामा ३६ र पर्सामा ४१ थिए।
पछिल्लो पटक राष्ट्रिय बाघ सर्वेक्षण २०८२, पुस १ गतेदेखि सुरु भएर २०८३ सालको वैशाख १० गते सम्पन्न भएको थियो। नेपालमा बाघ पाइने पाँच निकुञ्जहरू तथा वरपरका वन क्षेत्रमा क्यामरा ट्र्याप गरेर बाघ गणना गरिएको विभागले बताएको छ।
उक्त अभियानअन्तर्गत बाघका वासस्थानलाई चितवन-पर्सा, बाँके-बर्दिया र शुक्लाफाँटा-लालझाडी गरी तीनवटा 'कम्प्लेक्स'मा विभाजन गरिएको थियो।
"हरेक कम्प्लेक्सलाई दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइमा वर्गाकार ग्रिड बनाई हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामरा जडान गरी निरन्तर रूपमा कम्तीमा दुई सातासम्म राखिएको थियो। सर्वेक्षणका क्रममा कुल ७,३९३ वर्ग किलोमिटर क्षेत्रफलमा १,८४८ वटा ग्रिडमा कुल ३,६९६ वटा स्वचालित क्यामरा प्रयोग गरिएको थियो," विभागले भनेको छ।
ती क्यामराबाट प्राप्त बाघका तस्बिरहरूलाई तिनका शरीरका पाटाहरूको आधारमा विश्लेषण गरिएको जनाइएको छ।
ती विश्लेषणका आधारमा नेपालमा बाघको कुल सङ्ख्या ४०२ देखि ५०० सम्म हुन सक्ने अनुमान गरिएको छ। बाघको घनत्व, अक्युपेन्सी र आहारा प्रजातिको सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको थप विश्लेषण गरी पूर्ण प्रतिवेदन छिट्टै प्रकाशन हुने विभागले बताएको छ।
"(पछिल्लो) नतिजाले नेपालमा बाघ संरक्षणका क्षेत्रमा विगतदेखि सञ्चालन हुँदै आएका बासस्थान संरक्षण तथा व्यवस्थापन, चोरीसिकार नियन्त्रण, आहारा प्रजातिको संरक्षण, जैविक मार्ग संरक्षणजस्ता प्रयासहरूको सकारात्मक परिणामलाई प्रतिबिम्बित गर्छ," विभागको विज्ञप्तिमा उल्लेख छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।