रुसले कब्जा गरेको युक्रेनी क्षेत्रमा बसमाथि ड्रोन प्रहार, सात जनाको मृत्यु

युक्रेनमा निर्मित भ्याम्पाइअर हेभी बमर ड्रोन मे २३ मा युक्रेनको डोनेस्ट्स्क क्षेत्रमा बम बोकेर उड्दै

तस्बिर स्रोत, Getty Images

    • Author, जेम्स च्याटर
    • Author, हेन्री मोर
  • Published
  • पढ्ने समय: ३ मिनेट

रुसले आफ्नो नियन्त्रणमा लिएको युक्रेनी भूभागमा एउटा यात्रुवाहक बसमाथि ड्रोन प्रहार हुँदा सात जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन्। उनका अनुसार उक्त घटनामा अरू ११ जना घाइते भएका छन्।

रुसको राजधानी मस्को र रुसी नियन्त्रणमा रहेको क्राइमियामा अवस्थित सिम्फेरोपोलबीच आउजाउ गर्ने उक्त बसमा बुधवार सबेरै एउटा ड्रोन बज्रिएको युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा रुसले नियुक्त गरेका नेता डेनिस पुशिलिनले बताए।

रुसी अधिकारीहरूका अनुसार मङ्गलवार राति रुसले ३५० वटा ड्रोन खसालेको थियो।

रुसले युक्रेनका विभिन्न स्थानमा भीषण हमला गरेको भोलिपल्ट रुसी नियन्त्रणमा रहेको क्षेत्रमा युक्रेनी पक्षबाट हमला भएको हो। रुसी आक्रमणमा परी महिला र बालबालिकासहित कम्तीमा २२ जनाको मृत्यु भएको थियो।

"येनाकियेफोमा मस्को र सिम्फेरोपोलबीच चल्ने एउटा बसमा यूएभी प्रयोग गरी हमला भयो। प्रारम्भिक विवरणहरूका अनुसार सात सर्वसाधारण मानिसको ज्यान गएको छ," पुशिलिनले बुधवार टेलिग्राममा प्रेषित एउटा पोस्टमा भनेका छन्।

उनका अनुसार घाइते भएका ११ जनाको उपचार हुँदै छ।

रुसी अधिकारीहरूका अनुसार रुसी पक्षले बेल्गोरोड, कुर्स्क, अरू पश्चिमी क्षेत्रहरू अनि मस्कोनजिकै र आजोफ सागरमाथिबाट पनि कैयौँ ड्रोनहरूलाई निस्तेज बनाएर खसालिएको थियो।

मस्कोबाट पश्चिमोत्तर लेनिन्ग्राड क्षेत्रमा कम्तीमा ५० वटा ड्रोन खसालिएको त्यहाँका क्षेत्रीय प्रशासक आलेक्सान्डर ड्रोज्डेन्कोले बताए।

उक्त क्षेत्रमा सेन्ट पिटर्स्बर्ग सहर पनि पर्छ। त्यहाँ बुधवारदेखि इन्टर्न्याश्नल ईकनोमिक फोरमको वार्षिक कार्यक्रम हुन लागेको छ।

राति भएको हमलाका कारण पुल्कोभो विमानस्थलले केही समयका लागि उडान बन्द गर्नुपरेको रुसी उड्डयन नियामक निकाय रोसाभियाट्सियाले जनाएको छ।

युक्रेनमा पनि हमला

 सेन्ट पिटर्स्बर्गस्थित गोल्डन डोमनजिकै बाक्लो धुवाँको मुस्लो निस्किएको देखिन्छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शृङ्खलाबद्ध ड्रोन प्रहार भएपछि सेन्ट पिटर्स्बर्गको आकाशमा बाक्लो धुवाँको मुस्लो निस्किएको देखिएको थियो

मस्कोले मङ्गलवार राति पनि युक्रेनका विभिन्न स्थानमा हमला गरेको थियो।

युक्रेनको दक्षिणी खेर्सोन क्षेत्रमा राति भएको ड्रोन आक्रमणमा परी एक ८६ वर्षीया वृद्धाको मृत्यु भएको उक्त सहरका सैन्य प्रशासकले जनाएका छन्।

युक्रेनको वायुसेनाले रुसले विभिन्न स्थानमा १९८ वटा ड्रोन प्रहार गरेको र तीमध्ये १८९ वटालाई आफूले खसालिदिएको दाबी गरेको छ।

रुसले सोमवार रातिदेखि युक्रेनमा भीषण हमला गरेको थियो। त्यस क्रममा ७०० वटाभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार भएको युक्रेनी पक्षले दाबी गरेको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले गैरसैनिक संरचना र ऊर्जासँग सम्बन्धित संरचनाहरूलाई निसाना बनाएको आरोप लगाएका छन्।

युक्रेनले गरेका हमलाहरूको जबाफ दिन सैन्य कारबाही गरिएको भन्दै रुसको रक्षा मन्त्रालयले "आक्रमणको उद्देश्य" पूरा भएको जनाएको छ।

रुसी नियन्त्रणमा भएको पूर्वी युक्रेनको एउटा स्थानमा रहेको छात्रावासमा किएभले घातक आक्रमण गरेको आरोप लगाउँदै रुसले त्यसको जबाफ लिने उद्घोष गरेको थियो। क्रेम्लिनले त्यसैअनुसार "योजनाबद्ध आक्रमण" गरिएको मङ्गलवार जनाएको थियो।

यद्यपि किएभले आफूले रुसी सैनिकहरूको एउटा एकाइलाई निसाना बनाएको दाबी गर्दै आएको छ।

रुसले युक्रेनी सैन्य संरचनाहरूलाई निसाना बनाएको दाबी गर्दै क्रेम्लिनका प्रवक्ता ड्मित्री पेस्कोफले मङ्गलवार सञ्चारकर्मीहरूसँग भने, "यसले निरन्तरता पाउँछ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।