तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पको चीन भ्रमण टोलीमा इलोन मस्क र टिम कुक पनि
- Author, क्याली हेज
- Role, प्रविधि संवाददाता
- Author, आर्ची मिचल
- Role, व्यापार संवाददाता
- Published
- पढ्ने समय: ४ मिनेट
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीन भ्रमण गर्दा उनीसँगै व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी हुँदैछन्।
ट्रम्पको प्रतिनिधिमण्डलमा एपलका टिम कुक, टेस्ला तथा स्पेसएक्सका इलोन मस्क, ब्ल्याकरकका ल्यारी फिङ्क अनि मेटा, भिजा, जेपी मोर्गन, बोइङ, कार्गिलसहित विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्।
ह्वाइट हाउसका एक अधिकारीले विभिन्न अमेरिकी कम्पनीका कुल १७ कार्यकारी प्रमुखहरू ट्रम्पको टोलीमा सहभागी हुने बीबीसीलाई बताए।
अमेरिका र चीनबीच अर्थतन्त्र र प्रविधिको क्षेत्रमा शत्रुता बढेको बेला बेइजिङमा हुन लागेको ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङको भेटलाई महत्त्वपूर्ण मानिएको छ।
मस्क, कुक र फिङ्कबाहेक ट्रम्पको टोलीमा संलग्न कार्यकारी प्रमुखहरूको सूची यस्तो छ -
- डिना पावल मकोर्मिक, प्रेजिडन्ट तथा भाइस-चेअर, मेटा
- केली ओर्ट्बर्ग, प्रेजिडन्ट तथा कार्यकारी प्रमुख, बोइङ
- र्यान मकिनर्नी, कार्यकारी प्रमुख, भिजा
- स्टीभन श्वार्ज्मन, कार्यकारी प्रमुख, ब्ल्याकस्टोन
- ब्रायन साइक्स, कार्यकारी प्रमुख तथा अध्यक्ष, कार्गिल
- जेन फ्रेजर, कार्यकारी प्रमुख, सिटी
- जिम एन्डर्सन, कार्यकारी प्रमुख, कोहरन्ट
- हेन्री लरेन्ट कल्प, कार्यकारी प्रमुख, जीई एअरोस्पेस
- डेभिड सोलोमन, कार्यकारी प्रमुख, गोल्डमन स्याक्स
- याकोब टेसेन, कार्यकारी प्रमुख, इल्यूमिना
- माइकल मीबाख, अध्यक्ष, मास्टरकार्ड
यो सूचीमा एन्भिडिआका प्रमुख जेन्सन ह्वाङ परेका थिएनन्। उनको कम्पनी अमेरिका र चीनबीच कम्प्युटर चिप्स तथा आर्टिफिशल इन्टेलिजन्स (एआई)को क्षेत्रमा जारी द्वन्द्वको केन्द्रबिन्दुमा छ।
तर बेइजिङका लागि उडेको अमेरिकी राष्ट्रपतिको विमान 'एअर फोर्स वन' इन्धन भर्न एङ्करेज, अलास्कामा रोकिँदा ह्वाङलाई विमानमा चढ्दै गरेको देखिएको छ।
"राष्ट्रपति ट्रम्पको निम्तोमा अमेरिका र उनको प्रशासनका उद्देश्यहरूलाई सहयोग गर्न जेन्सन भेटवार्तामा सहभागी हुँदै छन्," एन्भिडिआका प्रवक्ताले बीबीसीलाई बताए।
त्यसबाहेक माइक्रोन टेक्नोलजीका कार्यकारी प्रमुख सञ्जय मेहरोत्रा पनि ट्रम्पको प्रतिनिधिमण्डलमा छन्।
बेइजिङले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै महत्त्वपूर्ण संरचनाहरूमा माइक्रोनद्वारा उत्पादित केही चिप्सको प्रयोगलाई सन् २०२३ मा प्रतिबन्ध लगाएको थियो।
उक्त निर्णयका कारण चीनमा आफ्नो व्यापारमा दुष्प्रभाव परेको उक्त कम्पनीले बताउँदै आएको छ। मेहरोत्रा पनि ट्रम्पको टोलीमा सहभागी हुनुलाई रोचक मानिएको छ।
प्रविधि र निर्यात नियन्त्रणका विषयमा तनाव चलिरहेको भए पनि अमेरिका-चीन आर्थिक सम्बन्धमा सेमिकन्डक्टरको महत्त्व धेरै छ।
सिस्कोका कार्यकारी प्रमुख तथा अध्यक्ष चक रोबिन्सले पनि चीन भ्रमण गर्ने निम्तो पाएका थिए। तर कम्पनीको आर्थिक प्रतिवेदन तयार पार्नुपर्ने भएकाले उनी सहभागी हुन नसकेको सिस्कोकी एक प्रवक्ताले बताएकी छन्।
समग्रमा भन्नुपर्दा अमेरिकाबाट सामाजिक सञ्जाल र हार्डवेअरदेखि कम्प्युटर चिप्स र व्यावसायिक उत्पादनसम्मका क्षेत्रको प्रतिनिधित्व छ।
क्यालिफोर्नियामा रहेको बायोटेक्नोलजी कम्पनी इल्यूमिनाकी एक प्रवक्ताका अनुसार प्रतिनिधिमण्डलमा सहभागी हुन पाउँदा याकोब टेसेनले सम्मानित अनुभूति गरेका छन्। उनले कम्पनीले यो भ्रमणलाई "सम्बन्ध सुदृढ बनाउने र 'प्रिसिजन मेडिसिन'को भविष्यलाई आकार दिने एउटा अवसर" मानेको बताइन्।
अरू कम्पनीले तत्काल प्रतिक्रिया दिन मानेनन्।
व्यापार युद्ध
झन्डै एक दशकपछि अहिले अमेरिकाका राष्ट्रपतिले चीनको भ्रमण गर्न लागेका हुन्। ट्रम्प यसअघि सन् २०१७ मा बेइजिङ गएका थिए।
एकअर्काका वस्तुमाथि चर्को अतिरिक्त आयातशुल्क लगाउने कदमसँगै दुई देशबीच व्यापार युद्ध चुलिएको थियो। तनाव केही मत्थर भए पनि अवस्था कमजोर नै छ।
अक्टोबर २०२५ मा दक्षिण कोरियामा ट्रम्पको भेट सीसँग भएपछि ट्यारिफ लगाउने निर्णय स्थगित भयो।
ट्रम्प र सीको भेटमा अमेरिका र इजरेलले इरानमा थालेको युद्धको पनि प्रभाव पर्ने ठानिएको छ। इरान युद्धकै कारण अमेरिका र चीनका शीर्षस्थ नेताहरूको भेट हुन ढिलो भएको हो।
ट्रम्पले चीनलाई इरान युद्ध अन्त्य गराउन तेहरानमाथि दबाव दिन सक्ने ठानिएको छ। चीनले इरानमा उत्पादित सस्तो तेल किन्दै आएको छ।
चीनले पनि उक्त द्वन्द्व टुङ्गियोस् भन्ने चाहेको छ। तेलको आपूर्ति सीमित हुँदा चिनियाँ सामान आयात गर्ने देशहरूको क्रयशक्ति घटेको छ।
तर चीनमा भएका तेलखानी र अन्य स्रोतहरूबाट ऊर्जा आपूर्ति भएकाले चीनले युद्धका कारण परेको दुष्प्रभाव अरू देशको तुलनामा राम्ररी भरथेग गर्न सकेको ठानिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।