तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पको चीन भ्रमणमा 'मत्थर भएको व्यापार युद्धको परीक्षा'
- Author, ओस्मोन्ड चीआ
- Role, व्यापार संवाददाता
- पढ्ने समय: ५ मिनेट
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीन भ्रमणको निम्ति बेइजिङतर्फ लागेका छन्।
अमेरिकी राष्ट्रपतिको चीन भ्रमण झन्डै एक दशकपछि हुन लागेको हो।
यो विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्रबीचको सम्बन्धमा निर्णायक क्षण हुने ठानिएको छ।
ट्रम्पसँगै अमेरिकाका सबैभन्दा ठूला कम्पनीका कार्यकारीहरू पनि बेइजिङ पुग्दैछन्।
बोइङ, सिटी ग्रुप र क्वोलकमका कार्यकारीहरू चिनियाँ कम्पनीहरूसँग सम्भाव्य सम्झौताका लागि जान लागेको बताइएको छ।
वासिङ्टन र बेइजिङबीच व्यापार युद्ध रोकिएको समयमा हुन लागेको यो भ्रमण अर्को परीक्षण पनि हो।
सन् २०२५ को एप्रिलमा ट्रम्पले विश्वभरिका मित्रदेखि शत्रु राष्ट्र सबैलाई आयात शुल्क लागु गरे।
यो नीतिको सबैभन्दा ठूलो प्रभाव अमेरिका र चीनबीचको व्यापार युद्धमा देखियो। अमेरिकी ट्यारिफको जबाफमा चीनले पनि शुल्क लगाउँदा १०० प्रतिशतसम्म कर बढ्यो।
अक्टोबरमा ट्रम्प र सी जिन्पिङबीच दक्षिण कोरियामा प्रत्यक्ष भेटवार्ता भएपछि उक्त ट्यारिफ स्थगन गरियो। तर दुवै पक्षका धम्कीहरू रोकिएका छैनन्।
व्यापार युद्ध कसरी सुरु भयो
अमेरिकाका लागि अन्तर्राष्ट्रिय व्यापार न्यायोचित बनाउने र उत्पादन क्षेत्रमा रोजगारी स्वदेश फर्काउने वाचा गरेका ट्रम्पले सन् २०१६को निर्वाचन जितेका थिए।
सन् २०१८ मा उनले चीनबाट हुने आयातमा २५० अर्ब अमेरिकी डलर कर घोषणा गरे। धेरै विश्लेषकहरू त्यही क्षणलाई व्यापार युद्धको आरम्भ मान्छन्।
त्यही वर्ष ट्रम्पले मेक्सिको, क्यानडा र युरोप सहितका अन्य व्यापारिक साझेदारहरूमाथि पनि आयात शुल्क लगाए।
जोर्जटाउन विश्वविद्यालयकी नीति अनुसन्धानकर्मी निङ लेङ व्यापक कर लागु गर्ने ट्रम्पको कदमले धेरैलाई आश्चर्यमा पारेको बताउँछिन्।
"उनीहरूले गम्भीरताका साथ ट्रम्पलाई झेलेको त्यो पहिलो पटक थियो। उनीहरूले ट्रम्प त्यो हदसम्म जालान् भनेर सम्भवतः ठानेका पनि थिएनन्," लेङ भन्छिन्।
त्यस बेला चीन अमेरिकासँगको व्यापारमा धेरै नै निर्भर थियो।
अमेरिका चीनमा उत्पादित सामग्रीहरूको प्रमुख आयातकर्तामध्येको एक थियो। ट्रम्पको ट्यारिफका कारण अमेरिकी खरिदकर्ताहरू अन्यत्र मोडिएको अवस्थामा चीनका कामदारहरू जोखिममा पर्ने अवस्था थियो।
त्यसअघिबाटै आर्थिक समस्या सामना गरिरहेको चीनको अर्थतन्त्रमा उक्त तनावले कम आन्तरिक खपत र बेरोजगारी जस्ता थप सङ्कट सिर्जना गरिदियो।
अमेरिकामा हुने निर्यात चीनमा रोजगारी सिर्जनाको प्रमुख स्रोत हो।
"व्यापार नाफामा रहेको देशलाई व्यापार युद्ध सामना गर्न अझै कठिन हुन्छ," लेङ भन्छिन्।
ट्रम्पपछि सन् २०२१ मा अमेरिकी राष्ट्रपति बनेका जो बाइडनले पनि बेइजिङमाथि दबाव कायमै राखे।
उनको प्रशासनले पनि चीनमाथि लगाइएको ट्यारिफ नहटाउने निर्णय लियो।
बाइडनले पनि हुवावे जस्ता चीनका ठूला प्रविधि कम्पनीहरूमाथि प्रतिबन्धहरू लगाए।
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै हुवावेलाई अन्ततः अमेरिकाबाट निष्कासन नै गरियो।
उनले टिकटकमाथि पनि छानबिन गरे र अमेरिकामा सञ्चालन हुने टिकटकलाई अन्ततः चिनियाँ मातृ कम्पनीबाट अलग गरे।
बाइडनले उच्च करहरू लागु गरेपछि चिनियाँ विद्युतीय सवारी साधनहरूमाथि पनि अमेरिकी बजारमा रोक लगाइयो।
"हामीले प्राय ट्रम्प चीनका लागि अप्ठ्यारा थिए भन्ने सोच्छौँ। तर ट्रम्प भन्दा बाइडन बढी संरक्षणवादी थिए भन्ने तर्क पनि छ," हङकङ विश्वविद्यालयका अर्थशास्त्री ताङ हाइवाई भन्छन्।
ट्रम्पको दोस्रो कार्यकाल
सन् २०२५ मा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले कर दोबरले बढाउने नीतिहरू लागु गरेका छन्।
अमेरिकामा फेन्टनल औषधी भित्र्याएको भन्दै उनले चीनबाट आयात हुने सामग्रीमा २० प्रतिशत आयात शुल्क लगाए।
त्यसपछि ट्रम्पले घोषणा गरेको 'मुक्ति दिवस' का दिन उनले ३५ प्रतिशत शुल्क थपेर चीनबाट आयात हुने सामग्रीमा विश्वभरिकै सबैभन्दा धेरै कर पुर्याए।
उक्त ट्यारिफले चिनियाँ व्यापारीहरूलाई स्तब्ध बनायो। चिनियाँ गोदामहरूमा सामानहरू थन्किए भने अमेरिकी कम्पनीहरूले आयातको विकल्प खोज्न सङ्घर्ष गर्नुपर्यो।
बदलामा बेइजिङले पनि अमेरिकाका कृषि उत्पादनहरूमा कर लगायो। जसको मारमा ट्रम्पका मतदाता आधार इलाकाका कृषकहरू परे।
तर ट्रम्पले स्मार्टफोनदेखि लडाकु विमानहरूसम्म बनाउन अत्यावश्यक रेअर अर्थमा चीनको एकाधिकार चाहिँ तोड्न सकेनन्।
ट्रम्पले आयात शुल्कलाई अमेरिकाको हित अनुकूल हुने गरी सहमति गर्न देशहरूलाई दबाव दिने हतियारको रूपमा प्रयोग गरे। तर उनले चिनियाँ कच्चा पदार्थमा आधारित महत्त्वपूर्ण व्यापारहरूलाई जोखिममा पर्न दिएनन्।
अक्टोबरमा ट्रम्प र सीबीचको बैठकले बेइजिङले निर्यातमा नियन्त्रण गरेका बस्तुहरू खुला गर्ने सहमति गर्यो।
जसलाई ट्रम्पको जीतका रूपमा हेरियो। चीनले पनि अमेरिकी अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको अमेरिकी कृषि उत्पादन किन्ने ट्रम्पले बताए।
त्यसको बदलामा वासिङ्टनले पनि बेइजिङमाथि लागु गरिएका करहरूमध्ये केही हटाइदियो।
बदला स्वरूप बढाइएका करहरू स्थगन गरिए र चीनमा उन्नत सेमिकन्डक्टरहरूको बिक्री फेरी खुला गरियो। यद्यपि सबैभन्दा अत्याधुनिक चिप्सका हकमा भने यो सहमति लागु भएन।
यो पटकको मुद्दा के छ?
गत वर्ष ट्यारिफमा अस्थायी सहमति भए पनि यसको स्थायी समाधान पहिचान हुन सकेको छैन।
चीनले उत्पादनमा गरेको ठूलो लगानीका कारण उसका सामु विदेश निर्यात भन्दा अर्को विकल्प नभएको ताङ बताउँछन्।
"उसलाई अमेरिका चाहिन्छ। उनीहरू जति ठूलो उपभोक्ता बजार कुनै अर्को एउटै देश छैन," ताङ भन्छन्।
यो सबैका बाबजुद पनि यो पटकको बैठकमा चीनको हात माथि छ।
अमेरिकासँगको व्यापार कमजोर बनेपछि चीनले विश्वभरि बनाएका नयाँ व्यापारिक साझेदारहरूका कारण चीन यो वर्ष अहिलेसम्मकै उच्च निर्यात गर्न सफल भयो।
बेइजिङले रोबोटिक्समा पनि उच्च लगानी जारी राखेको छ।
सँगसँगै उसले एनभिडिआ जस्ता पश्चिमा कम्पनीहरूमा आफ्नो निर्भरता कम गर्दै आफ्नै अत्याधुनिक चिप्सहरू बनाइरहेको छ।
ट्रम्प प्रशासनले अब बेइजिङलाई अमेरिकी सोएबिन र वायुयानका पुर्जाहरू खरिदका लागि फकाउन सक्छ।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले लगाएका ट्यारिफ खारेज गरिदिएको पृष्ठभूमिमा चीनसँग सम्झौता हुने अवस्था आएको छ।
यहीबीचमा उनले अर्को करको सहायतामा सबै देशहरूमाथि १० प्रतिशत अतिरिक्त कर लगाएका छन्। अनि उनले न्यायोचित व्यापार अभ्यास नगरेको भन्दै चीन सहितका देशहरूमाथि अनुसन्धान अघि बढाएका छन्।
अनि गत सातामात्रै अमेरिकी व्यापार अदालतले ट्रम्पले लगाएको पछिल्लो ट्यारिफ पनि न्यायोचित नभएको ठहर गरेको छ। जसको अर्थ भविष्यमा यो विषयमा पनि अदालतमा मुद्दा मामिला हुनसक्छ।
इरानबारे के हुन्छ?
ट्रम्प र सीबीचको भेटमा इरान युद्धबारे धेरै छलफल होला भन्नेमा शङ्कै छ।
ठूलो तेल भण्डार र ऊर्जाका विविध स्रोतका कारण आफ्ना कैयौँ छिमेकीहरूभन्दा चीनले इरान युद्धका कारण निम्तिएको सङ्कट सहजै सामना गरिरहेको छ।
चीन आफैँमा प्रमुखमध्येको तेल उत्पादक हो। उसले ठूलो मात्रामा कच्चा तेल रुसबाट ल्याउँछ।
बेइजिङ इरानी तेलको प्रमुख खरिदकर्तामध्येको देश भए पनि यी कारणहरूले गर्दा उसलाई युद्धको असर खासै परेको छैन।
यद्यपि युद्ध लम्बिँदै जाँदा चिनियाँ अर्थतन्त्रको पनि परीक्षण भइरहेको र चीनको ऊर्जा सुरक्षा तथा आपूर्ति शृङ्खला जोगाउन वरिष्ठ अधिकारीहरूले कठोर कदमहरू चाल्न सुझाव दिइरहेको नीति विश्लेषक लायल मोरिस बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।