'राजनीतिक रूपमा' कांग्रेसको विभाजन, छुटेका नेता के गर्छन्?

नेपाली कांग्रेसका सभापति गगन थापा १५औँ महाधिवेशनमा
Published
पढ्ने समय: ५ मिनेट

नेपाली कांग्रेस संस्थापन पक्षको जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवारी आह्वान भएसँगै देशको सबैभन्दा पुरानोमध्येको यो दल फुटको अवस्थामा पुगेको नेताहरूले बताएका छन्।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको गगन थापा पक्षले पार्टीको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मङ्गलवार उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ।

कांग्रेस महामन्त्री गुरु घिमिरेले बन्दसत्रमा पेस गरिएका प्रस्ताव र विधान पास गरेर मङ्गलवारबाट आफूहरू नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रियामा जाने बताएका छन्।

"निर्वाचनमा गएपछि मतगणनाको कुरा पनि आउँछ। सभापतिमा कति जना हुनुहुन्छ। सर्वसम्मत भए नतिजा चाँडै आउने होला। अरू प्रतिस्पर्धा भए समय लाग्ने होला," घिमिरेले भने।

विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समर्थित समूहले मङ्सिरमा अलग्गै महाधिवेशनको घोषणा गरेर समानान्तर वडा र नगर अधिवेशन गरिसकेको छ।

"उहाँहरू महाधिवेशनमा पुगिसक्नु भयो हाम्रो पनि क्षेत्रीय महाधिवेशनमा पुग्न थालिसक्यो। त्यो अवस्थामा अहिले नै त्यस्तो समझदारी हुने, एकता हुने सम्भावना म देख्दिनँ," देउवा पक्षका एक जना नेता प्रकाशशरण महतले बीबीसी न्यूज नेपालीसँग भने।

देउवा पक्षले पनि कांग्रेसको आधिकारिकता दाबी छोडेको छैन। थापा पक्षलाई आधिकारिक मान्यता दिने आदेश पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएपछि पार्टीको आधिकारिकता विवादको निरूपण अदालतबाटै हुने देउवा पक्षका नेताहरू बताउँछन्।

कांग्रेस राजनीतिका अध्येता जगत नेपाल समानान्तर महाधिवेशनसँगै कांग्रेस राजनीतिक रूपमा विभाजित भएको बताउँछन्।

"राजनीतिक रूपमा दुई वटै पार्टी देखियो। प्राविधिक रूपमा अदालतको फैसला बाँकी रह्यो," त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभागका उपप्राध्यापक समेत रहेका नेपालले भने।

कांग्रेस दुई टुक्रा बनेको हो

नेपाली कांग्रेसका सभापति गगन थापा नेताहरू विश्वप्रकाश शर्मा पुष्पा भुसाल र प्रदिप पौडेल १५औँ महाधिवेशनमा

संस्थापन पक्षका नेता घिमिरेले महाधिवेशन पछि कांग्रेस नामको दल एउटा मात्रै रहने र पार्टीको आधिकारिकताबारे बहस सकिने दाबी गरे।

"नेपाली कांग्रेस १५औँ महाधिवेशन गरेर विधिसम्मत तरिकाले निर्वाचन आयोगमा अद्यावधिकका लागि जान्छ। त्यसपछि नेपाली कांग्रेस नामक राजनीतिक दल एउटा रहन्छ," उनले भने।

देउवा पक्षका अर्का एक जना नेता कुन्दन काफ्लेले नेतृत्वले विवाद मिलाउन नसकेका कारण पार्टी विभाजनको अवस्थामा आएको बताउँछन्।

"दुई वटा संरचना भएपछि त पार्टीहरू दुई वटा भइहाले नि। अब लगभग चिन्ह र झन्डा एउटा पक्षले पाउने मात्रै बाँकी रह्यो," उनले भने।

यसअघि देउवा र अर्का नेता शेखर कोइराला समूह निकट भनेर चिनिएका कतिपय नेताहरू पनि पछिल्लो समय कांग्रेसको संस्थापन पक्षमा सम्मिलित भएका थिए।

यसअघि देउवा निकट मानिएका नेताहरू बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, महालक्ष्मी उपाध्याय, महेन्द्र यादव, सिता गुरुङ सहितका नेताहरू महाधिवेशनमा सहभागी भएका छन्।

यो पक्षले असोज २२ गते हुने मतदानबाट पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

यद्यपि विशेष महाधिवेशनबाट हटाइएका निवर्तमान पार्टी सभापति देउवा पक्षमा नेताहरू विमलेन्द्र निधी, प्रकाशमान सिंह, कृष्ण सिटौला, शशाङ्क कोइराला सहित पार्टीमा यसअघि महत्त्वपूर्ण भूमिकामा रहेका नेताहरू समेत छन्।

पार्टीका दुई जना प्रभावशाली नेताहरू शेखर कोइराला र पूर्वबहादुर खड्का कुनै पनि पक्षमा खुलेका छैनन्।

के भन्छन् शेखर कोइराला?

शेरबहादुर देउवा शेखर र शशाङ्क कोइराला

कांग्रेस राजनीतिमा लामो विरासत रहेको कोइराला परिवारका नेता समेत रहेका नेता शेखर कोइरालाले आफूले मिलाउने प्रयास गरिरहे पनि पार्टी फुटेको बताउँछन्।

"अब मलाई द्विविधा छैन। मैले त पहिले पनि प्रजातान्त्रिक कांग्रेस र नेपाली कांग्रेस फुट्दा पनि देखेको हो। अहिले फुट्दा पनि विभाजन त भयो अब," कोइरालाले बीबीसी न्यूज नेपालीसँग भने।

उनले यसअघि पार्टी फुटेर फेरी मिलेका इतिहास रहेको भन्दै आफू अझै पनि मिलाउन लाग्ने बताए।

"यो पहिलो चोटि फुटेको होइन नि नेपाली कांग्रेस। म अहिले पनि दुवै पक्षसँग संवादमा छु। मिलाउने कोसिस जारी छ," नेता कोइरालाले भने।

उनले दशैँपछि र स्थानीय चुनाव अघि दलको एकताको प्रयत्नलाई 'अझ सघन' बनाउने पनि बताए।

राजनीतिक विश्लेषक हरि शर्मा यसअघि असामान्य परिस्थितिमा भएको विशेष अधिवेशनपछि भएको नियमित महाधिवेशनले पार्टीका संरचनाहरूलाई संस्थागत गरेको बताउँछन्।

यद्यपि नेताहरूको महत्त्वाकाङ्क्षा व्यवस्थापन अबको चुनौती हुने शर्मा बताउँछन्। "जुन किसिमको महत्त्वाकाङ्क्षा पार्टीभित्र सदस्यहरूमा बढेको देखिन्छ। यो पद त्यो पद भनेर सामाजिक सञ्जाल रङ्गिएको छ। त्यसले हामीलाई एक सूत्रमा लिएर आउँछ? हाम्रो व्यक्तिगत इच्छा आकाङ्क्षा हुँदा हुँदै पनि सामूहिकता भएन भने मान्छे हुने तर विचार र एकताका रूपमा चाहिँ समस्या हुने देखिन्छ," शर्मा भन्छन्।

उनले पार्टी विधान अनुसार 'नेताहरूको घर जेलपछिको' परिस्थितिमा महाधिवेशन अघि बढेको र अन्योलका माझ पार्टी संस्थागत दिशामा अघि बढेको बताए।

"यो नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो," उनले भने।

कांग्रेसमा नयाँ होइन विभाजन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन

नेपाली कांग्रेसको देउवा पक्षले समानान्तर महाधिवेशन वा अर्को दल गठन गरे उनी आफैँ संलग्न देखिएको विभाजन यस पटक दोस्रो हुने अध्येता नेपाल बताउँछन्।

यसअघि देउवाले विसं २०५९ सालमा कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए।

"त्यो समूह ठूलै थियो। पछि २०६४ मा मिल्दा ६०-४० प्रतिशतमा मिलेका भएर ठूलै थियो भन्न सकिन्छ," नेपाल भन्छन्। देउवा पुन कांग्रेसमा एकीकृत हुँदा उनको समूहले पार्टी केन्द्रीय समितिमा ४० प्रतिशत हिस्सेदारी पाएको थियो।

कांग्रेसमा २०१५ साल अघि नै कांग्रेसबाट अलग भएर डिल्लीरमण रेग्मीले नेपाली कांग्रेस मातृका प्रसाद कोइरालाले प्रजा पार्टी गठन गरेको उनी बताउँछन्। तर नेपालका अनुसार कोइरालाले २०१५ सालको आम निर्वाचन अघि आफ्नो दललाई पुन कांग्रेसमै मिलाएका थिए।

"विपी जेल परेपछि मातृका प्रसाद कोइरालालाई उपाध्यक्ष बनायो। मातृकाले राजीनामा गर्नुभयो र रेग्मी कार्यवाहक सभापति भए। विपी जेलबाट छुटेपछि विपीले आफूलाई सभापति भने डिल्लीरमणले छोड्दिन भनेपछि राष्ट्रिय कांग्रेस भयो," नेपाल भन्छन्।

नेपालका अनुसार रेग्मीले गठन गरेको उक्त दल उनी जीवित रहँदासम्म पनि अस्तित्वमा रहेको रह्यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।