नेपाली कांग्रेसको १५औँ महाधिवेशन, जहाँ कांग्रेस एक छैन

कांग्रेस
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

देशमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएको २०४६ सालपछि दोस्रो पटक विभाजित भएर नेपाली कांग्रेसले आइतवारबाट आफ्नो १५औँ महाधिवेशन गर्दै छ।

निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गगन थापा नेतृत्वको कांग्रेसले नीति र नेतृत्व परिवर्तन गर्ने गरी भन्दै पार्टीको सर्वोच्च भेला आयोजना गर्दैगर्दा पूर्वसभापति शेरबहादुर देउवा पक्षले मङ्सिरका लागि समानान्तर महाधिवेशन घोषणा गरेर पार्टीका अलग्गै गतिविधि सञ्चालन गरिरहेको छ।

कांग्रेसकी एक जना उपसभापति पुष्पा भुसाल "महाधिवेशन वैधानिक आधारमा भइरहेको र यो वैधानिक फुट नभएको" बताउँछिन्।

"कांग्रेस एक हुनुपर्ने विषय राष्ट्रिय राजनीतिको आवश्यकता पनि हो। तर यो राजनीतिक विवादलाई कानुनी विषय बनाउँदा अवस्था झन् जटिल बन्यो," भुसालले बीबीसीसँग भनिन्।

"यसले तल्लो तहमा जेजस्तो स्वरूपमा भए पनि मनोवैज्ञानिक विभाजन ल्याएको छ। त्यसलाई महाधिवेशनपछि आउने केन्द्रीय समितिले सबैलाई समेट्ने गरी काम गर्नुपर्छ।"

देउवा पक्षीय नेता प्रकाशशरण महत "कांग्रेसमा फुटको लाभ कुनै पनि पक्षलाई नहुने भए पनि तत्काल कुनै एकताको सम्भावना समेत नदेखिएको" बताउँछन्।

"हामीले वहाँहरूलाई दुवै पक्षले महाधिवेशन स्थगित गरौँ। अदालतलाई नकुरीकनै पनि एउटा सहमति बन्न सक्छ भनेका थियौँ। त्यसो भन्दाभन्दै वहाँहरूले प्रक्रिया अगाडि बढाएपछि हामीले पनि प्रक्रिया अघि बढाएका हौँ।"

असोज १८ गतेखि २२ गतेसम्मका लागि तय गरिएको कांग्रेस महाधिवेशनमा हालसम्मकै सबैभन्दा धेरै सङ्ख्यामा करिब ७ हजार ५०० प्रतिनिधिहरू सहभागी हुँदै छन्।

र पहिलो पटक केन्द्रीय समितिमा ३५ वर्षमुनिका युवाका लागि २१ पद छुट्ट्याइएको बताइएको छ।

फुटले 'पार्टी कमजोर बनेको सन्देश जान्छ'

कांग्रेस महाधिवेशन स्थल

एक जना राजनीतिक टिप्पणीकारले कांग्रेसमा शीर्ष नेतृत्व र आफ्नो समूहलाई बलियो बनाउने क्रममा "निरन्तर टुट, फुट र गुट" देखिने गरेको भए तापनि २०६४ सालयता पहिलो पटक "फुटकै सन्देश जाने गरी कांग्रेसमा चिरा देखिएको" बताएका छन्।

विसं २०५९ मा नेपाली कांग्रेस (प्रजातान्त्रिक) का रूपमा फुटेको कांग्रेस २०६४ मा पुन: एक बनेको थियो।

पत्रकार तथा लेखक हरिबहादुर थापा भन्छन्: "यो २०५९ सालको जस्तो ठूलो विभाजन नभए पनि त्यसले फुटको सन्देश त जान्छ। पार्टी फुटेको सन्देश जाँदा प्रमुख प्रतिपक्षी दल अझ कमजोर बनेको सन्देश जान सक्छ। आउने स्थानीय चुनावमै यसको छिनोफानो हुन्छ।"

कांग्रेस पार्टी कार्यालय, सानेपा

कांग्रेसका एक जना सहमहामन्त्री प्रकाश रसाइली समेत गगन थापासामु "पार्टीलाई क्षति पुर्‍याउने पूर्वनेतृत्वबीच दललाई अघि बढाउने चुनौती" रहेको स्वीकार्छन्।

"तर पार्टी व्यक्तिभन्दा विधि र संवैधानिक सर्वोच्चताले बलियो हुने हो। अग्रज नेताहरूलाई समेट्ने प्रयास अन्तिम समयसम्मै र महाधिवेशनपछि पनि हुन्छ। त्यसो हुन नसके पनि कांग्रेसले अब एउटा दिशा लिन्छ," रसाइली भन्छन्।

गत वर्ष पुसमा भएको विशेष महाधिवेशनले देउवालाई सभापतिबाट हटाएर गगन थापालाई पार्टी सभापतिमा चयन गरेको थियो र उसैलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको थियो।

१५औँ महाधिवेशनको मुखैमा भदौ अन्तिममा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको एक बैठकले शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो।

जसलगत्तै देउवा पक्षका कैयौँ नेताहरू केन्द्रीय समिति बैठकमा फर्किए पनि अझै कतिपय नेताहरू निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएको थापा समूहसँग अलग छन्।

दुई दशकमा दोहोरिएको परिवेश

फाइल तस्बिर
तस्बिरको क्याप्शन, फाइल तस्बिर

यसअघि २०५९ सालमा समेत शेरबहादुर देउवा नेतृत्वको समूहले कांग्रेसबाट अलग्गिएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए।

त्यस बेला निर्वाचन आयोगले गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो।

"त्यसपछि विसं २०६२ मा भएको ११औँ कांग्रेस महाधिवेशनमा फुटबीच भएको थियो। पृष्ठभूमि केही भिन्न भए तापनि यो फुटबीच भएको २०४६ सालपछिको यो दोस्रो महाधिवेशन हो," राजनीतिक दलहरूसम्बन्धी पुस्तकहरू लेखेका पत्रकार हरिबहादुर थापा भन्छन्।

नेपाली कांग्रेसको झण्डा

हरिबहादुर थापा यतिखेर शेरबहादुर देउवासँग भएका कैयौँ नेताहरू समेत धेरै मूल कांग्रेस फर्किएको देखिनुले पार्टीलाई ठूलो असर पार्लाजस्तो आफूलाई नलागेको बताउँछन्।

"यो २०५९ सालमा भएको विभाजन जस्तो होइन। त्यतिखेर शेरबहादुर देउवा पक्षमा निकै प्रभावशाली नेता थिए, उनी स्वयं प्रधानमन्त्री थिए। त्यसबेला कांग्रेस प्रजातान्त्रिकतिर माहोल थियो। अहिलेको अवस्था त्यस्तो होइन," थापा भन्छन्।

"तर गगन थापा नेतृत्वको मूल कांग्रेसपट्टि भाग नपाउनेहरू पनि पछि फर्किएर ससानो कांग्रेस बनाइराख्न सक्छन्। जेजस्तै भए पनि पार्टी फुटको सन्देश जाँदा कांग्रेसलाई राम्रो गर्दैन। आउँदो स्थानीय चुनाव ठूलो परीक्षाको घडी हुने छ।"

कांग्रेस उपसभापति पुष्पा भुसाल भने "त्यो पार्टीको आन्तरिक चुनौति मात्र भएको" बताउँछिन्।

"वास्तविक रूपमा त हामीले वरिष्ठलाई सम्मान गर्दै नयाँ पुस्ता ल्याइरहेका छौँ। जेनजी र युवा पुस्ताको प्रतिनिधित्व बढाउँदै समाजमा भइरहेको परिवर्तनको प्रतिनिधित्व गराएका छौँ। हामीले आफ्नो भूमिका परिवर्तन गरिरहेका हौँ," भुसाल भन्छिन्।

'पूरै सङ्गठन बिथोलियो'

२०८२ पुसमा भएको कांग्रेस विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेको थियो
तस्बिरको क्याप्शन, विसं २०८२ पुसमा भएको कांग्रेस विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेको थियो

देउवा पक्षीय नेता एनपी साउदले विशेष महाधिवेशन आयोजना गर्ने बेलामा केन्द्रीय समिति र आयोजक समितिबीच विभाजन देखिए तापनि पार्टीको व्यापक सङ्गठन एक ढिक्का रहेको अवस्था यतिखेर बिग्रिएको बताउँछन्।

"अदालतले पुनरवलोकनका निस्सा प्रदान गरेपछि निषेधाज्ञाका लागि गएका थियौँ। त्यो नपाएपछि राजनीतिक रूपमा महाधिवेशन रोक्न आग्रह गर्‍यौँ। त्यसले पार्टी विभाजन रोक्न सक्थ्यो," साउदले भने।

"सङ्गठनका अरू संरचनामा विभाजन भएको थिएन। त्यसैले सर्वोच्च अदालतको आदेशलाई कुर्नपर्छ भन्ने हाम्रो माग थियो। तर वहाँहरूले समयको चाप र दबाव नहुँदा नहुँदै हतारो गर्नुभयो। त्यसले पूरै सङ्गठन बिथोलिएको छ। एकताको सम्भावनालाई आघात् पुर्‍याएको छ।"

गत आमचुनाव अगावै कांग्रेस एकजुट नदेखिँदा त्यसले कमजोर चुनावी नतिजा दिएर पार्टीलाई कमजोर बनाएको साउदको भनाइ छ।

"यस्तोमा पार्टी विघटित नहोस् भन्ने आम चाहना थियो। त्यसरी बचेको पार्टी पनि दुई भाग हुँदा थप क्षति प्रदेश र स्थानीय तह निर्वाचनमा देखिनेछ," उनी भन्छन्।

तर कांग्रेस सहमहामन्त्री रसाइलीले त्यो नेताहरूको "अर्घेल्याइँ मात्र रहेको" ठान्छन्।

"सर्वोच्च अदालतले दुईदुई पटक कांग्रेसका सभापति गगन थापालाई वैधानिकता दिइसकेपछि दलहरूसम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार भएको निर्वाचन आयोगले निर्णय गरिसकेपछि वहाँहरूको लोकतन्त्रको प्रतिबद्धतामाथि प्रश्न चिह्न खडा हुन्छ," रसाइली भन्छन्।

"संसद्‍मा अहिले कुनै पनि [कांग्रेस] सांसद् प्रतिपक्षको भूमिकाभन्दा बाहिर हुनुहुन्न। हामी एकै पार्टीका रूपमा छौँ। प्रदेशमा पनि त्यही अवस्थामा छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।