तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कसैको पनि बहुमत नपुगे इजरेलमा कसरी गठन हुन्छ सरकार
इजरेलमा संसदीय निर्वाचनमा मतदान सकिएको छ र अहिले मतगणना भइरहेको छ। अहिलेसम्म चुनावी नतिजा कसको पक्षमा जान्छ भन्ने स्पष्ट भइसकेको छैन।
एक्जिट पोलहरूले विपक्षी नेता गादी आइजेनकोटको गठबन्धनले सबैभन्दा धेरै सीट जितेको देखाए पनि बहुमत भने हासिल नगरेको सङ्केत गरेका छन्।
सर्वेक्षणअनुसार प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको लिकुड पार्टी संसद्मा सबैभन्दा ठूलो एकल पार्टी बन्ने देखिएको छ।
विश्लेषकहरूले यो चुनावमा अहिलेसम्मकै कडामध्येको प्रतिस्पर्धा हुने बताउँदै आएका थिए।
त्यसैले, इजरेलमा अब के हुन्छ र कसरी सरकार बन्छ भन्नेतर्फ धेरैको चासो सोझिएको छ। इजरेली संसदीय निर्वाचनको नतिजाले मध्यपूर्वमा जारी द्वन्द्वलाई पनि प्रभावित तुल्याउन सक्ने ठानिएकाले यो चुनाव विश्वव्यापी चासोको केन्द्रमा परेको हो।
तर मतगणना जारी रहेकाले परिणामको प्रष्ट चित्र आउन केही समय लाग्न सक्ने देखिएको छ।
सन् १९४८ मा इजरेल स्थापना भएदेखि नै त्यहाँ गठबन्धन सरकारहरू बन्दै आएका छन्। अब बन्ने सरकारमा वर्तमान प्रधानमन्त्री नेतन्याहु सहभागी होलान् कि नहोलान् भन्नेतर्फ पनि मानिसहरूको चासो बढेको पाइएको छ।
नेतन्याहुले हाल देखिएको नतिजाका आधारमा चुनावी परिणामबारे कुनै निष्कर्षमा पुग्न हतार गर्न नहुने भनेका छन्। अन्तिम परिणामबारे धारणा बनाउनुअघि आफूले "वास्तविक नतिजा" पर्खिरहेको उनको भनाइ छ।
आउँदो नोभेम्बर ४ भित्रमा सबै मतपरिणाम आइसक्ने विवरणहरूआएका छन्।
इजरेलमा कसरी बन्छ सरकार?
इजरेलमा अहिलेसम्म कुनै पनि दलले संसद्मा एकल बहुमत हासिल गर्न सकेको छैन। त्यसैले त्यहाँ सधैँ गठबन्धन सरकार गठन हुँदै आएको छ।
मतपरिणाम आएपछि सरकार गठन प्रक्रिया सुरु हुन्छ। राष्ट्रपतिले विभिन्न दलका नेताहरूसँग परामर्श गरी सरकार गठन गर्न सक्ने सबैभन्दा बढी सम्भावना भएको नेतालाई सरकार बनाउन आमन्त्रण गर्छन्।
त्यसपछि ती नेताले गठबन्धन बनाएर सरकार गठन गर्न २८ दिनको समय पाउँछन्। आवश्यक परेमा थप १४ दिनको समय माग्न सकिन्छ।
तोकिएको अवधिमा सरकार गठन गर्न नसके राष्ट्रपतिले अर्को नेतालाई प्रयास गर्ने अवसर दिन सक्छन्।
दोस्रो प्रयास पनि असफल भएमा संसद् सदस्यहरूले तेस्रो नेतालाई सरकार गठनको अवसर दिन राष्ट्रपतिसमक्ष आग्रह गर्न सक्छन्। तेस्रो प्रयाससमेत विफल भए नयाँ निर्वाचन गर्नुपर्ने हुन्छ।
चुनाव भइरहनु इजरेलमा नौलो विषय पनि होइन। सन् २०१९ देखि २०२२ को बीचमा दलहरूबीच कुरा नमिल्दा त्यहाँ पाँच पटक निर्वाचन भएको थियो।
सन् २०२२ को निर्वाचनमा बेन्जमिन नेतन्याहुको लिकुड पार्टी सबैभन्दा ठूलो दल बनेको थियो। उसले संसद्का कुल १२० मध्ये ३२ सिट जितेको थियो। त्यसपछि नेतन्याहुले केही अति दक्षिणपन्थी दलसँग गठबन्धन बनाए। यससँगै उनी र उनका साझेदार दलहरूको संसद्मा ६४ सीट पुग्यो, जुन सरकार गठनका लागि आवश्यक बहुमत थियो।
यसले के पनि देखाउँछ भने गठबन्धन सरकार गठनका लागि दलहरूबीच हुने वार्ता केही हप्ता वा महिनौँसम्म पनि लम्बिन सक्छ। उदाहरणका लागि, सन् २०२१ को मार्चमा भएको निर्वाचनपछि जुन महिनामा मात्रै इजरेलमा नयाँ सरकार गठन भएको थियो।
पचास वर्षयताकै धेरै मत खसेको दाबी
तीन वर्षअघि हमासले गरेको आक्रमणपछि इजरेलमा भएको पहिलो आमनिर्वाचनमा ५० वर्षयताकै धेरै मत खसेको निर्वाचन अधिकारीहरूले बताएका छन्।
इजरेलको केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान केन्द्रहरू बन्द गर्दासम्म ७७.७ प्रतिशत मतदान भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।