देशनिकालाबारे फैसला कुर्दै पाकिस्तानी र भारतीय प्रेम जोडी

गुलजार खान र दौलत बी
    • Author, नेयाज फारुकी
    • Role, बीबीसी, दिल्ली
  • Published

यो सन् २०११ को कुरा हो। पाकिस्तानका गुलजार खानले अवैध रूपमा भारत प्रवेश गरेर आफ्नी भारतीय प्रेमिकासँग ‍बिहे गरे। आफ्नो वास्तविक परिचय लुकाएर भारतमै बसेका उनी आठ वर्षपछि पक्राउ परे। अहिले उनी भारतबाट देशनिकाला हुन्छ कि हुँदैन भन्ने निर्णय कुरिरहेका छन्।

भारतीय र पाकिस्तानी नागरिकहरूबीचको सीमापार प्रेमकथालाई दुर्लभ मानिन्छ। सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएदेखि नै यी दुई देशबीच कटुतापूर्ण सम्बन्ध छ।

यी देशबीच तीन पटक युद्ध भइसकेको छ। तनावपूर्ण सम्बन्धका कारण त्यहाँका नागरिकहरूले अर्को देशमा जाने प्रवेशाज्ञा पाउन कठिन छ।

प्रेमसम्बन्धका लागि अवैध रूपमा सीमा पार गर्ने कैयौँ भारतीय र पाकिस्तानीहरू समस्यामा परेका छन्। केही समययता धेरै जोडीका कथाहरूले सञ्चारमाध्यममा स्थान पाएका छन्। उनीहरूले आफ्नो चिनजान इन्टरनेटमा भएको र त्यहीँबाट प्रेम बसेको बताएका छन्।

तर गुलजार खान र दौलत बीको ‘पहिलो भेट’ फोनमा भयो। त्यो पनि ‘रङ नम्बर’मा गरिएको फोनका कारण।

खान पाकिस्तानको पन्जाब प्रान्तको सियालकोट निवासी हुन्। भारतमा पनि पन्जाब राज्य छ, सन् १९४७ मा देश विभाजन हुँदा पन्जाब पनि टुक्रिएको थियो। दौलत बी दक्षिणी भारतको आन्ध्र प्रदेशकी हुन्।

‘साथीलाई फोन गर्दा नम्बर नमिलेपछि....’

साउदी अरबमा रङ्गरोगन लगाउने काम गर्ने खानले सन् २००९ मा भारत फर्किएका आफ्ना पुराना साथीलाई फोन गर्न खोजे। तर फोन नलागेपछि नम्बर टिप्दा गल्ती पो भएछ कि भन्दै उनले एउटा अङ्क यताउता पारेर फेरि फोन गरे।

“तर उनले गरेको फोन मलाई आइपुग्यो,” बी भन्छिन्।

नचिनेको मान्छेसँग कुरा गर्न उनी हिचकिचाइन्। तर खानले कुरा गर्ने हठ गरे।

उक्त कुराकानीमा आफू पन्जाबको भएको कुरा बीलाई भनेको खान सम्झिन्छन्। तर उनले कुन देशको पन्जाब भन्ने चाहिँ खुलाएका थिएनन्। उनले आफू इसाई भएको कुरा वर्षौँसम्म बताएनन्, बीसँग बिहे गरेपछि पनि। बीलाई खान आफूजस्तै मुस्लिम हुन् भन्ने लागेको थियो।

भारत र पाकिस्तानबीच कटुतापूर्ण सम्बन्ध छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारत र पाकिस्तानबीच कटुतापूर्ण सम्बन्ध छ

बिहे गर्ने वचन

‘रङ नम्बर’ले जुराएको टेलिफोन संवाद अरू दुई वर्षसम्म चलिरह्यो। उनीहरू नियमित फोनमा कुरा गर्थे।

बी विधवा थिइन् र उनको एउटा बच्चा थियो। खानसँग कुरा गरेको थाहा पाएपछि उनले आफन्त र छरछिमेकीको गाली र उपहास सहनुपर्‍यो।

"म उनलाई आफू मरे पनि हुन्थ्यो भन्थेँ,” उनी भन्छिन्। तर खानले उनलाई आफू भारत आउने र उनीसँग बिहे गर्ने वचन दिए।

खानका अनुसार साउदी अरबस्थित भारतीय दूतावासबाट भिसा लिने प्रयास धेरै पटक गरेको भए पनि उनी विफल भए।

यसरी सम्भव भयो भारत प्रवेश

उनले आफू भारतीय नागरिक भएको दाबी गर्ने निर्णय गरे।

"मैले आफू भारतीय नागरिक हुँ, मेरो पासपोर्ट हरायो र म भारत फर्किन चाहन्छु भनेँ।"

त्यस क्रममा उनले श्यामश्वेत तस्बिर भएको एउटा परिचयपत्र देखाए। तस्बिरमा देखिने व्यक्तिसँग उनको अनुहार मिल्दोजुल्दो थियो।

त्यसपछि आफूलाई नियन्त्रणमा लिइएको र भारत ‘फिर्ता पठाइएको’ उनी बताउँछन्। बीबीसीले यसबारे जान्न साउदी अरबस्थित भारतीय दूतावासलाई सम्पर्क गरेको छ।

खान ज्यानुअरी २०११ मा भारतको हैदराबाद सहर पुगे।

खान र बी
तस्बिरको क्याप्शन, खान र बीका चार सन्तान छन्

बिहे गरेर ससुराली गाउँमा आठ वर्ष

भारत आएको केही सातामै उनले बीसँग बिहे गरे।

त्यसपछि खान बीसहित आन्ध्र प्रदेशको नन्द्याल जिल्लास्थित ससुराली गाउँ गए। त्यहाँ स्थानीय प्रहरीले उनीसँग सोधपुछ गरेको थियो। तर कुनै मुद्दा भने परेको थिएन।

खान आठ वर्ष बीसँग त्यही बसे। उनीहरूका चार सन्तान छन्। खान त्यहाँ पनि रङ्ग लगाउने काम गर्थे।

उनले ‘आधार कार्ड’ र परिचय खुल्ने अरू सरकारी कागजपत्र बनाए।

भारत आएपछि उनी आफूले पाकिस्तानस्थित परिवारसँग सम्पर्क नगरेको बताउँछन्। उनी सम्पर्कविहीन भएपछि सोधखोज गर्न उनका एक आफन्त साउदी अरब पनि गएका थिए।

“हामीलाई उनी दुर्घटनामा पो परे कि भन्ने लागेको थियो,” पाकिस्तानको रावलपिन्डीबाट उनकी बहिनी शीला लालले बीबीसी उर्दूलाई बताइन्।

“नयाँ परिवारमा बस्दा मैले आफूलाई भारतीय नागरिक नै ठान्न थालेँ,” खान भन्छन्।

घरको न्यास्रो र गुप्तचर निकायको निगरानी

तर उनलाई चाँडै घरको न्यास्रो लाग्न थाल्यो र उनले पाकिस्तान जाने निर्णय गरे।

सन् २०१९ मा पाकिस्तान फर्किने विचारले सपरिवार ससुराली गाउँ छोडेका उनी छिमेकी राज्य तेलङ्गानास्थित एउटा रेल्वे स्टेशनमा पक्राउ परे। खानलाई अवैध रूपमा भारत प्रवेश गरेको र जाली कागजपत्र बनाएको अभियोगमा मुद्दा लगाइयो।

सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार खानले पाकिस्तान फोन गरेको कुरा भारतीय गुप्तचर निकायहरूले पत्ता लगाएका थिए।

हैदराबाद प्रहरीको एउटा विशेष अनुसन्धान टोलीले खानको मुद्दा हेरिरहेको छ। बीबीसीले सम्पर्क गरेको भए पनि प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन।

पक्राउ परेपछि पत्नीले थाहा पाइन् वास्तविक परिचय

पक्राउ परेपछि बल्ल बीले आफ्ना पति पाकिस्तानका हुन् र इसाई हुन् भन्ने भेउ पाइन्।

“मैले उनी पन्जाबका हुन् भन्दै प्रहरीसँग झगडा गरेँ। त्यसपछि उनीहरूले मलाई पाकिस्तानमा पनि पन्जाब छ र उनी त्यहाँका हुन् भन्ने कुरा बताए," बी भन्छिन्।

सुरुमा उक्त कुरा सुनेर आफू तीनछक्क परेको तर अब त्यो सत्यलाई स्वीकार गरेको उनी बताउँछिन्।

"त्यसले के फरक पर्छ र?” उनी सोध्छिन्।

खानलाई प्रहरीले समातेपछि बीले गाउँलेहरूसँग सहयोग मागिन् र मुद्दाका लागि हुने खर्चको जोहो गरिन्।

स्थानीय अदालतले खानलाई सन् २०२० मा जमानत दियो। उनलाई देशनिकाला गर्ने कि नगर्ने भन्ने मुद्दामा सुनुवाइ भइरहेको छ।

फैसलाको प्रतीक्षा

गत वर्ष फेब्रुअरीमा तेलङ्गाना सरकारले राज्यमा "अवैध आप्रवासी" भनिएका मानिसहरूलाई हिरासतमा राख्ने निर्णय गरेपछि खान फेरि पक्राउ परे।

तर राज्यको उच्च अदालतले खानविरुद्ध चलिरहेको मुद्दाको अन्तिम फैसला नभएसम्म उनलाई रिहा गर्न आदेश दियो।

खानले आफू पाकिस्तानी भएको तर भारतीय नागरिकको छद्मभेषमा बसेको अभियोग अस्वीकार गरेका छैनन्।

"मसँग जे हुनुपर्थ्यो त्यही भयो, कुनै गुनासो छैन," उनले बीबीसीसँग भने।

खान र बी दम्पती अहिले अदालतको फैसलाको प्रतीक्षामा छन्। अदालतको निर्णयले उनीहरू सँगसँगै भारतमा बस्न पाउँछन् कि खान पाकिस्तान फर्किनुपर्छ भन्ने निर्दिष्ट गर्ने छ।

"सबै कुरा ठिक हुन्छ भन्ने मेरो आशा छ,” बी भन्छिन्।