नेपालप्रति 'आशावादी' भगत सिंह कोश्यारी: 'ईपीजी प्रतिवेदन बनेयता कालिगंगामा धेरै पानी बगिसक्यो'

    • Author, फणीन्द्र दाहाल
    • Reporting from, दिल्ली, भारत
  • Published
  • पढ्ने समय: ४ मिनेट

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने भ्रमणका लागि आइतवार दिल्ली आइपुग्दै गर्दा दुई देशका 'प्रबुद्ध समूह'ले आठ वर्ष अघि तयार पारको प्रतिवेदन दुई देशका सरकारहरूलाई हस्तान्तरण हुन नसकेको विषयले पनि कुटनीतिक वृत्तमा चर्चा पाइरहेको छ।

सन् २०१६ मा नेपाल र भारत सम्बन्धका महत्त्वपूर्ण पक्षहरूबारे दुवै देशलाई सुझाव दिन त्यस्तो प्रबुद्ध समूहको गठन भएको थियो।

सन् १९५० को नेपाल भारत सन्धिसहित कैयौँ दुईपक्षीय विवादका विषयमा सहमति कायम गर्न कार्यरत उक्‍त समूहले आफ्नो प्रतिवेदन सन् २०१८ मा तयार गरेको थियो।

सुरुमा प्रतिवेदन भारतीय प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति सो समूहमा भएको थियो।

तर अझै उक्त प्रतिवेदन दुवै सरकारको हातमा पुग्न सकेको छैन।

ईपीजीको प्रतिवेदनमा सीमा व्यवस्थापन, सन् १९५० को नेपाल-भारत मैत्री सन्धिको पुनरवलोकनसहित नेपाल-भारत सम्बन्धमा देखा परेका विभिन्न विषयबारे सुझावहरू समेटिएको बताइन्छ।

उक्त समूहका भारततर्फका नेतृत्वकर्ता र भारतीय जनता पार्टीका एक नेता भगत सिंह कोश्यारीसँग नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसहितका विषयमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ।

नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई तपाईँले कसरी हेर्नुभएको छ?

तपाईँलाई थाहा छ, बालेन शाह वा नेपालका "ए" "बी" "सी" जो कोहीलाई भारतले उनीहरूलाई आफ्नै दाजुभाई जसरी हेर्छ। आफ्नै रगतको (नाता) जस्तो सम्झन्छ। हाम्रो परम्परागत सम्बन्ध छ। ऐतिहासिक सम्बन्ध छ। र हाम्रा भगवान उस्तै हुनुहुन्छ। हाम्रा रीतिरिवाजहरू उस्तै छन्। को प्रधानमन्त्री हो वा को मुख्य मन्त्री हो त्यसले खासै अर्थ राख्दैन। अन्तत: हामी उस्तै र एकै खालका हौँ। बालेन शाहलाई एकदमै धेरै स्वागत छ। उहाँ आउनुहुँदैछ। म उहाँको यो भ्रमण धेरै सफल होस् भन्ने कामना गर्छु।

उनी एक युवा नेता हुन्। नयाँ खालको राजनीति पृष्ठभूमि र परिस्थितिबाट आएका छन्। भारतले उनीसँग कस्तो सम्बन्ध राख्नुपर्ला?

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको निश्चित गुणहरू छ। एउटा पाको व्यक्ति भएकाले म सधैँ चाहन्छु कि युवा पुस्ताहरू अघि आउनुपर्छ। उनीहरूले अघि आउने सोच राख्नुपर्छ। स्वाभाविक रूपमा युवा भएपनि काठमाण्डूको मेअरका रूपमा उनले अनुभव हासिल गरेका छन्। मेअर रहनु पनि ठूलो कुरा हो। विगतमा पनि प्रशासन चलाएको अनुभव उनीसँग छ। देश चलाउने कुरा गर्दा पनि प्रधानमन्त्रीले मात्रै सत्ता चलाउँदैनन्। उनको सल्लाहकार, उनको मन्त्रिमण्डलका साथीहरू सबैको भूमिका रहन्छ। राम्रा सल्लाहकार र मन्त्रिमण्डलका साथीहरू भए मलाई लाग्छ उनी सफल नेता हुनेछन्।

भारतले कस्तो खालको सम्बन्ध राख्नुपर्ला उनीसँग?

भारतले कस्तो गर्नुपर्छ म भन्दिन। हाम्रा वरिष्ठ नेताहरू अनुभवी र परिपक्व छन्। म भन्दा धेरै उनीहरूलाई थाहा छ। एउटै फरक भनेको हामी नेपालको नजिक छौँ र म नेपाली साथीभाइहरू र दाजु बहिनीहरूसँग नजिक छु। हाम्रो धेरै पुरानो सम्बन्ध हो त्यही भएर म अझ नजिक महसुस गर्छु।

जम्मा २५ घण्टाका लागि नेपालका प्रधानमन्त्री राजकीय भ्रमणमा आइरहेका छन्। विगतका नेताहरूजस्तो दिल्ली बाहिर पनि गइरहेका छैनन्। कसरी हेर्नुहुन्छ?

नेपाल र भारतबीच विकासमा सहकार्य गर्नका लागि प्रचुर सम्भावना छ। मलाई लाग्छ, भारतले अहिले नै धेरै योगदान गरिरहेको छ। म अपेक्षा गर्छु की यदि नेपालले आफ्नो विकासका लागि केही थप माग्छ भने उसको समृद्धिका लागि भारतले अझ सघाउनेछ।

अब नेपाल भारत सम्बन्ध कस्तो बन्नुपर्छ?

म सधैँ आशावादी छु। राजतन्त्र अन्त्य भइरहँदा मानिसहरूले के होला कसो होला भनेर अति धेरै संशय गर्थे। उनीहरू त्यो सफल हुन्छ हुँदैन भनेर पनि प्रश्न गर्थे। मैले सफल हुन्छ भन्ने गर्थेँ। त्यो बेला सबै जना मानिसहरूले संविधान लेखन सफल हुँदैन भन्ने गर्थे। अति सन्देह गर्थे र संविधान बन्दैन भन्थे। मैले संविधान बन्छ भन्थेँ। अहिले त्यहाँ सबै कुरा छ। जुन अङ्कगणितमा परिवर्तन देखिएको छ धेरै पटक यस्तो हुने गर्छ। प्रजातन्त्रमा मात्रै नभएर राजतन्त्र वा निरकुंशतन्त्रमा पनि यस्तो हुनसक्छ।

तर नेपाल भारत सम्बन्धमा सीमा विवाद, सन्धि सम्झौताका विवाद छन्। तपाईँ नेतृत्वकै प्रबुद्ध वर्गको समूहले पनि त्यसबारे प्रतिवेदन बनाएको थियो।

यी सबै कुराहरू अप्रासङ्गिक छन्। सीमाकै कुरा गर्दा मलाई लाग्छ नेपाल र भारत संयुक्त रूपमा बसेर कुरा गरे भने यो समाधान हुनेछ। सन्धिहरूका बारेमा हाम्रो प्रधानमन्त्रीले सन् २०१४ मा यदि तपाईँले (नेपालीहरूले) सन् १९५० को सन्धिमा परिमार्जन चाहनुहुन्छ भने हामी परिवर्तन गर्छौँ। तपाईँ यो सन्धि खारेज गरेर नयाँ चाहनुहुन्छ भन्ने भन्नुस् भन्नुभएको छ। प्रधानमन्त्रीले नै बारम्बार बोलेकाले अहिले यसबारे प्रश्न किन उठाउनु।

के प्रधानमन्त्री मोदीले प्रबुद्ध समूहको प्रतिवेदन ग्रहण गर्नुपर्छ भन्ने तपाईँलाई लाग्छ?

दुई देशबीचको सम्बन्ध राम्रो थिएन। मलाई लाग्छ, त्यही भएर हाम्रो सरकारले अहिले उपयुक्त समय होइन भन्ने ठान्यो। तर अहिले धेरै समय बितिसकेको छ। त्यसयता कालिगंगामा धेरै पानी बगिसकेको छ। मलाई लाग्छ अधिकारीहरू र कूटनीतिज्ञहरू बसेर आपसी सम्बन्धबारे छलफल गर्नुपर्छ।

अनि प्रतिवेदन चाहिँ?

मैले तपाईँलाई अघि नै भनिसकेँ, त्यसयता कालीमा धेरै पानी बगिसक्यो। यदि दुवैपक्ष छलफल गर्न चाहन्छन् भने उनीहरूले त्यसो गर्न सक्छन्। त्यो त्यहीँ छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।