तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रधानमन्त्री बालेन शाहको राजकीय भ्रमणको घोषणा, नेपाल र भारतले के भने?
नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा आगामी आइतवारबाट दुई दिने भारतको राजकीय भ्रमण गर्ने बताएको छ।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले उक्त दुई दिने भ्रमण राजकीय हुने बताए।
उनले आइतवार अपरान्ह १:४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानबाट भारत जाने भन्दै भ्रमण दलमा अर्थमन्त्री र परराष्ट्र मन्त्रीसहित उच्च पदस्थ अधिकारीहरू हुने जानकारी दिए।
नेपालबाट भारत जाने सरकारी भ्रमण दलमा ३४ सदस्य रहेको उल्लेख गर्दै भारतबाट नेपाली राजदूतावासका अधिकारीहरू पनि सहभागी हुने अधिकारीहरूले बताएका छन्।
भारतले छिमेक पहिलो नीति अन्तर्गत नेपाललाई दिइरहेको प्राथमिकतालाई यस भ्रमणले प्रतिविम्वित गरेको जनाएको छ।
भ्रमणका कार्यसूची के के छन्?
प्रधानमन्त्री वालेन्द्र शाहले सोमवार भारतीय प्रधानमन्त्री मोदीको प्रतिनिधिमण्डलसँग वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
पूर्वाधार र सम्पर्कसञ्जालसहित सहकार्यका विभिन्न क्षेत्रमा भ्रमणका क्रममा छलफल हुने उल्लेख गर्दै उनले विभिन्न क्षेत्रमा समझदारी पत्रहरूमा हस्ताक्षर गरिने जानकारी दिए।
उनले भने, "यस भ्रमणबाट प्राप्त हुने उपलब्धिहरूले हाम्रा दुई पक्षीय साझेदारीहरूलाई थप गति प्रदान गर्नुका साथै नागरिकले प्रत्यक्ष महसुस गर्नसक्ने ठोस उपलब्धि ठोस लाभ प्राप्त गर्न महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ। दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्चस्तरीय भ्रमणहरू अपरिहार्य हुन्छन्।"
"आसन्न भ्रमणले नेपाल र भारतबीच रहँदै आएको मैत्रीपूर्ण एवं सहयोगात्मक सम्बन्धलाई थप उचाइ प्रदान गर्न महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।"
दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतका लागि महत्त्वपूर्ण रहेका समग्र विषयहरूमा छलफल गर्ने पनि उनले बताए।
उनले भने, "नेपाल भारतबिच रहि आएको सदियौँ पुरानो सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्य र सहयोगात्मक साझेदारीको भावना अनुरूप दुवै देशका प्रधानमन्त्रीहरूले नेपाल र भारतका लागि महत्त्वपूर्ण रहेका सम्पूर्ण विषयहरूमा छलफल गर्नुहुनेछ।"
भ्रमणबारे भारतले के भन्यो?
भारतीय विदेश मन्त्रालयले दुवै प्रधानमन्त्रीले नेपाल भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्ने भन्दै उनीहरूबीच आपसी चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल हुने जनाएको छ।
गएको मार्चमा सत्ता सम्हालेयता पहिलो पटक दुई पक्षीय भ्रमणमा शाह दिल्ली आउन लागेको उल्लेख गर्दै भारतले यो भ्रमणलाई दुई देशीय उच्चस्तरीय आदानप्रदानको निरन्तरता भनेको छ।
यसले भारतले छिमेक पहिलो नीति अन्तर्गत नेपाललाई दिइरहेको प्राथमिकतालाई प्रकट गरेको भन्दै दिल्लीले भ्रमणले दुई पक्षीय साझेदारीलाई मजबुत बनाउने र आपसी लाभमा आधारित सहकार्यलाई अघि बढाउने अवसर प्रदान गर्ने उल्लेख गरेको छ।
भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग प्रधानमन्त्री वालेन्द्र शाहले शिष्टाचार भेट गर्नेछन्।
आइतवार भारतीय विदेशमन्त्री एस जयशङ्करले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
भारतीय व्यावसायिक समुदायलाई सम्बोधन गरिने र उनीहरूका व्यावसायिक सरोकारहरू सुन्ने उद्देश्यले एउटा अन्तरक्रिया कार्यक्रम पनि गर्न लागिएको अधिकारीहरूले जनाएका छन्।
"यस भ्रमणबाट प्राप्त हुने उपलब्धिले दुई पक्षीय उपलब्धिलाई ठोस गति प्रदान गर्नुका साथै नागरिकले प्रत्यक्ष महसुस गर्न सकिने लाभप्राप्त गर्नसक्ने अपेक्षा गरिएको छ"
नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइ प्रदान गरिने उनले जानकारी दिए।
उक्त पत्रकार सम्मेलनमा प्रश्नोत्तर भने समावेश गरिएको थिएन।
भ्रमणपश्चात परराष्ट्र मन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस ब्रिफिङ गर्ने जानकारी परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।