तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आफ्ना ३ लडाकु पाइलट कब्जा गरेको इरानको आरोप कतारद्वारा ठाडै अस्वीकार
- Author, म्याट स्पीभे
- Published
- पढ्ने समय: ३ मिनेट
इरानले उसका तीन जना लडाकु विमानचालकहरूलाई रिहा गर्न आह्वान गरेको छ।
अमेरिका-इरान युद्धको सुरुआतका बेला हवाई सुरक्षा प्रणालीले आफ्ना दुई लडाकु विमानलाई प्रहार गरिँदा ती पाइलटलाई कतारले कब्जामा लिएको उसले बताएको छ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)लाई लेखेको पत्रमा इरानका ब्रिगेडियर जेनरल मोहम्मद बागेरजादेहले ती पाइलटहरू – जावाद सलेही, अब्दुल मजिद दास्तियान र इमरान बेहरोसियान – छ महिनादेखि कब्जामा रहेको उल्लेख गरेका छन्।
युद्ध सुरु भएको तेस्रो दिन सन् २०२६ को मार्च २ मा भएको सोही घटनामा मारिएका चौथा पाइलट मजिद कजेमीको शव चाहिँ फिर्ता गरिएको पत्रमा भनिएको छ।
कतारद्वारा अस्वीकार
इरानको दाबीलाई कतारले "ठाडै अस्वीकार" गरेको छ। ती "गलत भनाइ"बाट आफू अचम्भित भएको कतारले बताएको छ।
जेनरल बागेरजादेहका अनुसार कतारमा रहेको सैन्य अखडामा हमला गर्ने सैन्य कारबाहीका क्रममा लडाकु विमानबाट उछिट्टिएका तीन पाइलटलाई कतारले कब्जामा लिएको थियो।
इरानी सञ्चारमाध्यमहरूमा प्रकाशित आईसीआरसीका प्रमुखलाई लेखिएको उक्त पत्रमा उनले कतारमाथि "सम्पूर्ण अन्तर्राष्ट्रिय नियमकानुन विपरीत ती बन्दीहरूको अक्षुण्ण अधिकार" हनन गरेको आरोप लगाएका छन्।
तीन जना पाइलटलाई तिनको परिवारसँग भेट्न वा सम्पर्क गर्न पनि नदिइएको पत्रमा भनिएको छ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता मजेद मोहम्मद अल अन्सारीले "कतारी हवाई क्षेत्रको उल्लङ्घन भएपश्चात्" पाइलटहरूसँग सम्पर्क गरिएको तर कुनै जबाफ नआएको बताए।
"अन्तर्राष्ट्रिय कानुनबमोजिम हाम्रो भूभाग रक्षा गर्न आवश्यक कदम चालिएका थिए," उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
अल अन्सारीले कतारी खोज तथा उद्धार टोलीले ती "पाइलटका 'अवशेष' खोज्नका निम्ति आफ्नो कर्तव्य पूर्ण पालना गरेको" बताए।
"अवशेष फेला परेका एक जना पाइलटलाई हस्तान्तरण गर्न" इरानसँग कतारले सम्पर्क गरेको उनले बताए। तर उक्त खोज तथा उद्धार कारबाहीका विवरण समीक्षा गर्न दिइएको निम्तोबारे तेहरानले अझसम्म कुनै जबाफ नदिएको उनले बताए।
यसबीच इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासमा व्यावसायिक उडानहरू फेरि सुरु भएका छन्। युद्धका दौरान त्यहाँ बारम्बार अमेरिकी आक्रमणका भएका थिए।
फेब्रुअरी २८ मा अमेरका र इजरेलद्वारा इरानमाथि आक्रमण गरिएपछि चलेको युद्ध अझै थामिएको छैन।
बीचमा भएको युद्धविराम सहमतिका बाबजुद आक्रमण-प्रत्याक्रमण चलिरहेका छन् भने होर्मुज जलमार्ग अझै प्रभावित छ।
अन्तर्राष्ट्रिय अर्थतन्त्रका निम्ति महत्त्वपूर्ण मानिएको उक्त जलमार्गको भावी सञ्चालनबारे इरान र ओमानबीच भइरहेका वार्तामा केही प्रगति भएका विवरण आएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।