क्रिप्टो क्षेत्रको हालसम्मकै ठूलो 'ह्याकिङ'पछि बाइनान्सका प्रयोगकर्ताहरूले निकाले ३.६ अर्ब डलर

बाइनान्स
    • Author, अजमन्ड चिया
    • Role, बिजनेस रिपोर्टर
  • Published
  • पढ्ने समय: ३ मिनेट

गत साता भएको रेकर्ड ह्याकपछि आइतवार पुनः सञ्चालनमा आएको विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज 'बाइनान्स'बाट ग्राहकहरूले खुद ३.६४ अर्ब डलर बराबरको सम्पत्ति निकालेका छन्।

सो कम्पनीले उक्त घटनापछि सबै कारोबारहरू स्थगित गरेको थियो।

उक्त घटनाले ६.३ अर्ब डलर बराबरको डिजिटल सम्पत्तिलाई प्रभावित पारेको बताइएको थियो।

अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो (एफबीआई) लगायतका प्रमुख संस्थाहरूले उक्त साइबर हमलाका लागि उत्तर कोरियालाई जिम्मेवार ठहराएका छन्।

यस हमलालाई इतिहासकै सबैभन्दा ठूलो ह्याक मानिएको छ।

बाइनान्स के भन्छ?

बाइनान्स कम्पनीले जनाए अनुसार ह्याकका क्रममा चोरी भएका सम्पत्तिमध्ये करिब ९५ प्रतिशत हिस्सा उसले व्यवस्थापन गरिसकेको छ। तर बाँकी रकम जुटाउन अझै केही समय लाग्न सक्छ।

बाइनान्सले यस ह्याकिङसँग जोडिएका सम्पूर्ण नोक्सानीहरू आफूले बेहोर्ने कुरा बारम्बार दोहोर्‍याउँदै आएको छ।

बाइनान्सले 'एक्स'मा पोस्ट गर्दै भनेको छ: "नोभेम्बर १ को बिहान ६:०० बजेदेखि दिउँसो ३:३० बजे [जीएमटी] बीचमा हामीले ४.६४९ अर्ब डलर बराबरको रकम निकासा र १.०१ अर्ब डलर बराबरको रकम जम्मा प्रक्रिया पूरा गर्‍यौँ, जसको फलस्वरूप करिब ३.६४ अर्ब डलर बाहिरियो।"

बाइनान्स

कम्पनीका अनुसार सुरुमा रकम निकाल्ने क्रममा "अचानक उच्च वृद्धि" देखिएको थियो। तर पछि यो घट्दै गयो र "अपेक्षा गरिए अनुसार नै स्थिति सामान्य बन्दै गएको छ।"

त्यसैगरी कम्पनीले बिटकोइन र इथरियमजस्ता दुई दर्जनभन्दा बढी प्रमुख क्रिप्टोकरेन्सीहरूका लागि रकम निकाल्ने सुविधा पुनः सुरु भइसकेको र सुरक्षा जाँच पूरा भएपछि अन्य सेवाहरू पनि चरणबद्ध रूपमा पुनसञ्चालन गरिने जानकारी दिएको छ।

साइबर हमलामा 'उत्तर कोरियाली समूह'

बाइनान्समा भएको आक्रमणको पछाडि 'जलारस ग्रुप' समेत भनेर चिनिने 'ट्रेडरट्रेटर' नामक उत्तर कोरियाली साइबर अपराध समूहको हात रहेको बताइएको छ।

यही समूहले सन् २०२५ मा क्रिप्टो एक्सचेन्ज 'बाईबीट' बाट तत्कालीन रूपमा कीर्तिमानी रकम १.५ अर्ब डलर चोरी गरेको थियो।

शनिवार एफबीआईले यस समूहसँग जोडिएका क्रिप्टोकरेन्सी वालेट ठेगानाहरूको सूची सार्वजनिक गर्‍यो। र यस क्षेत्रका साझेदारहरूलाई ती ठेगानाहरूसँग सम्बन्धित कारोबारहरू रोकेर सहयोग गर्न आग्रह गर्‍यो।

यो ह्याकिङ बाइनान्सको विश्वव्यापी केन्द्रीकृत एक्सचेन्ज बाइनान्स डट कममा भएको हो।

यद्यपि, यसको अमेरिकी प्लेटफर्ममा भने कुनै असर नपरेको बताइएको छ।

बाइनान्स

सो एक्सचेन्जले क्रिप्टोकरेन्सी जारीकर्ताहरूलाई प्रभावित सम्पत्तिहरू रोक्का गर्न तत्काल आग्रह गरेको थियो।

बाइनान्सले गत साता जानकारी दिए अनुसार प्रारम्भिक अनुसन्धानले यो घटना एक इन्जिनियरको ल्यापटप ह्याक भएपछि सुरु भएको हुनसक्ने देखाएको छ।

सोही ल्यापटपको पहुँचमार्फत् ह्याकरहरूले अनधिकृत कारोबार गर्ने बाटो फेला पारेका थिए।

निकालिएको रकम 'सानो अंश मात्र'

निकालिएको क्रिप्टो रकम बाइनान्ससँग रहेको कुल सम्पत्ति मूल्यको सानो अंश मात्र हो। बाइनान्स एक निजी स्वामित्वको कम्पनी भएकाले यसको यकिन मूल्य स्पष्ट छैन।

यद्यपि सन् २०२४ मा सो कम्पनीले आफ्नो जिम्मामा १६० अर्ब डलरभन्दा बढी सम्पत्ति रहेको जनाएको थियो।

उक्त कम्पनीले गत साता बताए अनुसार यस आक्रमणबाट उत्पन्न असरलाई सम्बोधन गर्न उसले ६.३४ अर्ब डलरभन्दा बढी रकम रिजर्भ राखेको छ।

बाइनान्सका अनुसार उसले आफ्ना ग्राहकहरूको सम्पत्ति फिर्ता गर्न विभिन्न स्रोतहरूको संयोजन प्रयोग गरेको छ।

त्यसमा कम्पनीको आफ्नै कोष, 'फ्युचर्स इन्स्योरेन्स' र आपत्कालीन कोष समावेश छन्।

उसले भनेको छ: "हाम्रो प्रतिबद्धता यथावत् छ: यस घटनामा चोरी भएका रकमका कारण परेको आर्थिक भार बाइनान्सले पूर्ण रूपमा बेहोर्ने छ।"

डिजिटल सम्पत्तिका रूपमा रहने क्रिप्टोकरेन्सीहरूको कारोबार बाइनान्स जस्ता एक्सचेन्जहरूमा गरिन्छ।

नगदजस्तो भौतिक अस्तित्व नहुने यी कम्प्युटर, स्मार्टफोन तथा अन्य डिजिटल उपकरणहरूमार्फत् व्यवस्थापन गरिन्छन्।

चीनमा स्थापना भएको बाइनान्सका यतिखेर विश्वभर करोडौँ दर्ता भएका प्रयोगकर्ताहरू छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।