नेपाली क्रिकेट टोली समूह विजेता बन्दै एशिअन गेम्सको क्वार्टरफाइनलमा

नेपालको खेल हेर्न थुप्रै नेपाली प्रशंसकहरू रङ्गशाला पुगेका थिए
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

नेपाली राष्ट्रिय क्रिकेट टोली २०औँ एशियाली खेलकुदको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

जापानको आइची नागोयामा शनिवार बिहान भएको नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भई १/१ अङ्क बाँडिएपछि नेपाल समूह विजेता पनि बनेको छ।

समूह 'ए' मा रहेका तीन टोलीमा आयोजक जापान भने प्रतियोगिताबाट बाहिरिएको छ भने अफगानिस्तान समूह उपविजेता बनेको छ।

समूह विजेता बनेसँगै नेपालको क्वार्टरफाइनलमा श्रीलङ्कासँग भेट हुने छ। नेपालसँग लीग चरणमा पराजित भएको अफगानिस्तानले भने भारतसँग खेल्ने छ।

लगातार चौथो पटक

यसअघि वर्षाले प्रभावित खेल १५ ओभरमा घटाइएको थियो। टस जितेर जापानले फिल्डिङ रोजेपछि नेपालले ४ विकेटको क्षतिमा १४९ रन बनाएको थियो।

नेपालको रन बढाउनमा लोकेश बम ५७ रन र सन्दीप जोराले अविजित ५२ रन बनाएका थिए।

ओपनर कुशल भुर्तेल ४ रन, आशिफ शेख २१ रन, कुशल मल्ल २ रन र गुलशन झा २ रनमा आउट भएका थिए।

वर्षाले खेल अगाडि बढ्न नसकेपछि जापानले जबाफी ब्याटिङ गर्न पाएन र खेल अवरुद्ध गर्दै दुवै टोलीलाई १/१ अङ्क बाँडिएको थियो।

नेपालको खेल हेर्न जापानमा रहेका नेपाली समर्थकहरू नागोयाको कोरोगी एथ्लेटिक पार्क पुगेका थिए।

नेपाल क्वार्टरफाइनलमा पुगेको यो चौथो पटक हो

हुन त पानी पर्ने पूर्वानुमान गरिएको थियो र खेल अवरुद्ध हुने पक्कापक्की जस्तै थियो। यद्यपि उल्लेख्य सङ्ख्यामा नेपाली दर्शकहरू रङ्गशाला पुगेका थिए।

नेपाली टोली एशियाली खेलकुदको क्वार्टरफाइनलमा पुगेको यो लगातार चौथो पटक हो। तर टोली भने अहिलेसम्म क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन।

यसअघि सन् २०१० को ग्वाङजाङ (चीन) एशियाडमा नेपाल श्रीलङ्कासँग, सन् २०१४ को इन्चोन (दक्षिण कोरिया) एशियाडमा अफगानिस्तानसँग र सन् २०२३ को हान्चाउ (चीन) एशियाडमा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित भएको थियो।

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको नेपालले यसपालि कम्तीमा पदक जित्ने लक्ष्य राखेको छ।

भारतलाई पन्छाउन सफल

श्रीलङ्कालाई पराजित गर्न सके त्यो सन् २०१० को हारको बदला हुने छ

लीग चरणको पहिलो खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्न सक्नु नै नेपालको समूह विजेता बन्ने आधार बन्यो।

यसअघि सन् २०१४ को इन्चोन एशियाडको क्वार्टरफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो। त्यति बेला जितको निकै नजिक पुगेर पनि नेपालले हार बेहोरेको थियो।

नेपालले पहिलो फिल्डिङ गर्दै अफगानिस्तानलाई ११९ रनमा रोकेको थियो। तर जिततिर अग्रसर रहे पनि नेपाली टोली १११ रनमा रोकिँदा ८ रनको हार बेहोर्नुपर्‍यो।

त्यो पराजयपछि नेपाल र अफगानिस्तानबीचको भेट यसपालि मात्र भएको हो।

समूह विजेता बनेपछि नेपालले क्वार्टरफाइनलमा भारतसँगको हार पन्छाएको छ। गत एशियाडमा नेपाल क्वार्टरफाइनलमा भारतसँग पराजित भएको थियो।

यद्यपि श्रीलङ्काले पनि एशियाडमा बलियो टोली पठाएको छ। श्रीलङ्कालाई पराजित गर्न सके त्यो सन् २०१० को हारको बदला हुने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।