क्युबाका पूर्वनेता क्यास्ट्रोविरुद्ध अमेरिकामा हत्या अभियोग

    • Author, केइला एप्स्टीन, सिसिलिआ बरिआ र पास्कल फ्लेचर
    • Role, बीबीसी न्यूज, बीबीसी मुन्डो र बीबीसी मनिटरिङ
  • Published
  • पढ्ने समय: ३ मिनेट

संयुक्त राज्य अमेरिकाले क्युबाका पूर्वनेता राउल क्यास्ट्रोमाथि अमेरिकी नागरिकको हत्या तथा सन् १९९६ मा क्युबा र फ्लोरिडाबीचमा दुईवटा विमान खसालिएका सम्बन्धमा अरू अभियोगहरू लगाएको छ।

बुधवार सार्वजनिक मुद्दामा 'ब्रदर्स' नामक क्युबाली अमेरिकी समूहसँग सम्बद्ध विमानहरू खसालिँदा तीन अमेरिकी नागरिकसहित चार जना व्यक्ति मारिएका घटनामा क्यास्ट्रो र अरू पाँच जनामाथि अभियोग लगाइएको छ।

हाल ९४ वर्ष पुगेका क्यास्ट्रो आफ्नो मुलुकको तात्कालिक सशस्त्र फौजका प्रमुख थिए र उक्त घटनालाई लिएर त्यस बेला अन्तर्राष्ट्रिय स्तरमा उनले निन्दाको सामना गर्नुपरेको थियो।

अमेरिकाले क्युबाको कम्युनिस्ट शासनमाथि दबाव बढाउने प्रयास गरिरहेका बेला त्यहाँका राष्ट्रपति मिगेल डिआस कानेलले अमेरिकी अभियोगहरूलाई "कुनै कानुनी आधार नभएका राजनीतिक चालबाजी," को सङ्ज्ञा दिएका छन्।

मायामीस्थित फ्रीडम टावरमा बोल्दै कार्यवाहक अमेरिकी महान्यायाधिवक्ता टड ब्लान्चले क्यास्ट्रोमाथि अमेरिकाले विमान ध्वस्त पारेको अभियोगका साथै नागरिकहरूको मृत्युको सम्बन्धमा हत्यासम्बन्धी चार छुट्टाछुट्टै अभियोग लगाउने घोषणा गरे।

अमेरिकी रणनीति

"संयुक्त राज्य अमेरिका र राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकहरूलाई बिर्सनुभएको छैन र बिर्सनु हुँदैन," ब्लान्चले भने।

ती अभियोगहरूमाथि अमेरिकी अदालतमा सुनुवाइ गर्नुपर्ने हुन्छ, जसमध्ये केही अभियोगको हकमा आजीवन कारावासको सजाय हुने व्यवस्था रहेको छ।

क्युबाले आफ्नो एकदलीय शासन व्यवस्थामा महत्त्वपूर्ण राजनीतिक तथा आर्थिक सुधारका निम्ति वाशिङ्टनको दबाव झेलिरहेका बेला कम्युनिस्ट शासनका एक प्रमुख व्यक्तिलाई लक्षित गरी अमेरिकी कानुन मन्त्रालयले अभियोगहरू लगाएको हो।

"मेरो विचारमा अमेरिकी रणनीति भनेको क्रमशः दबाव बढाउँदै जाने रहेको देखिन्छ जहाँ एउटा बिन्दुमा पुगेर मोलमोलाइको टेबुलमा क्युबाली सरकारले हार मान्ने छ र आत्मसमर्पण गर्ने छ," अमेरिकन विश्वविद्यालस्थित ल्याटिन अमेरिकी राजनीतिका विज्ञ विलिअम लीओग्र्यान्डले भने।

संयुक्त राज्य अमेरिकाले क्युबामाथि प्रतिबन्धहरू लगाउनुका साथै उसको तेलविरुद्ध नाकाबन्दी गरेको छ, जसका कारण त्यहाँ बिजुली कटौती एवं खाद्यान्न अभाव सिर्जना भएको छ।

'अमेरिकाले झूट बोल्यो'

यसअघि बुधवार अमेरिकी विदेशमन्त्री मार्को रुबिओले क्युबाको स्वतन्त्रता दिवसका अवसर पारेर त्यहाँका नागरिकहरूका लागि सन्देश जारी गरेका थिए।

"राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिका र नयाँ क्युबाबीच एउटा नयाँ मार्ग प्रस्ताव गर्दै हुनुहुन्छ," रुबिओले भने।

रुबिओले क्युबाली सेनाले गाएसाका नाममा व्यापार-व्यवसाय सञ्चालन गर्दै आएको र क्युबामा देखिएको विद्युत्‌ कटौती एवं खाद्यान्न अभावका निम्ति त्यही जिम्मेवार रहेको दाबी गरे।

बन्दगाहदेखि, पेट्रोल पम्प ताथ पाँचतारे होटलसहित क्युबाली अर्थतन्त्रका आकर्षक क्षेत्र गाएसाकै स्वामित्वमा रहेका अथवा उसैले सञ्चालन गर्ने गरेको छ।

अमेरिकी विदेशमन्त्रीको सन्देशको जबाफमा क्युबाली राष्ट्रपति डिआस कानेलले अमेरिकाले झूट बोलेको र क्युबाली जनतालाई सामूहिक रूपमा दण्डित गरिरेहको आरोप लगाएका छन्।

पूर्वनेता क्यास्ट्रोमाथिका अभियोग "क्युबाविरुद्धको सैन्य आक्रमणको मुर्ख्याइँलाई उचित ठहर्‍याउने कदम" भएको भन्दै राष्ट्रपति डिआस कानेलले विमान खसेकोसम्बन्धी तथ्यहरू तोडमोड गरेको अमेरिकामाथि आरोप लगाए।

"आफ्नो क्षेत्राधिकारभित्र पर्ने समुद्री क्षेत्रमा वैध आत्मरक्षाको अधिकार प्रयोग गर्दै" क्युबाले उक्त कदम चालेको उनले बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।