मेलोनी र ट्रम्प : छताछुल्ल मतभेद सुल्झाउन कठिन साबित हुँदै

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
- Author, डाबिडे गिलवुने
- Role, रोम
- Published
- पढ्ने समय: ५ मिनेट
इटलीमा एआईले बनाएको एउटा मिम सामाजिक सञ्जालमा फैलिरहेको छ। त्यसमा प्रधानमन्त्री जोर्जा मेलोनीले त्यस्तो सबै गरिरहेको देखाउँछ जुन नराम्ररी ब्रेकअपपछि बाहिरिएको मानिसले गर्ने अपेक्षा गरिन्छ।
एउटा नक्कली तस्बिरमा नयाँ शैलीमा कपाल काटेको देखिन्छ भने अन्यमा उनले एकलहरूले मनाउने बिदाका लागि बुकिङ गरेको, दौडका लागि तालिम गरेको वा डेटिङ एपमा प्रोफाइल बनाएको देखिन्छ।
पक्कै पनि यी कुनै पनि तस्बिरहरू वास्तविक होइनन्। यी त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनीबीच सार्वजनिक रूपमा छताछुल्ल भएको राजनीतिक सम्बन्धलाई लिएर गरिएका ठट्टा हुन्।
उनीहरूको सम्बन्ध पछिल्ला महिनाहरूमा सार्वजनिक हमलादेखि व्यक्तिगत अपमानसम्ममा परिणत भएको छ जुन युरोपेली राजनीतिमा सबैभन्दा धेरै चासो दिइएमध्येको एक थियो।
यो धेरै समयअगाडिको कुरा होइन जब मेलोनीलाई "ट्रम्पसँग कानेखुसी गर्ने" व्यक्ति भनिन्थ्यो। उनी मात्रै त्यस्ती एक युरोपेली नेता थिइन् जो सन् २०२५ को ट्रम्पको शपथ कार्यक्रममा अग्रपङ्क्तिको सिटमा थिइन्।

तस्बिर स्रोत, Reuters
गत एप्रिलमा उनी युरोपेली सामानहरूमा अमेरिकी ट्यारिफ बारेमा तनाव कम गर्ने उद्देश्यका साथ ह्वाइट हाउसमा बैठक गर्न जाने ईयू नेता पनि थिइन्।
इटलीको राजनीतिक किनाराबाट सुरु गरेकी 'पोस्ट फासिस्ट' परम्परामा जरा गाडेकी र आफूलाई युरोपेली दक्षिणपन्थीहरूको उदारवादी, विश्वसनीय अनुहारका रूपमा पुनः देखाउने कोसिसमा वर्षौँ बिताएकी व्यक्तिका लागि ट्रम्पसँगको त्यो निकटतालाई पर्यवेक्षकहरूले कहिल्यै पनि उचित कूटनीतिक सम्बन्धका रूपमा हेरेनन्।
उनी हुनसक्ने सबैभन्दा ठूलो मञ्चमा जाँचिएको थिइन्। त्यहाँ त्यो प्रमाणका रूपमा थियो।
तर ट्रम्पको अप्रत्याशिततालाई सम्हाल्न मेलोनीका लागि गाह्रो साबित भएको छ जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उनको विश्वसनीयतामा चोट पुर्याएको छ।
पहिलो वास्तविक दरार मार्चको अन्त्यमा देखापर्यो जब इटलीको रक्षा मन्त्रालयले मध्यपूर्वका लागि जाने अमेरिकी सैन्य विमानहरूलाई संसदीय स्वीकृतिबिना सिसिलीको सिगोनामा नेटोको हवाई अखडा प्रयोग गर्न दिन अस्वीकार गर्यो।
यो निर्णय इटलीको संविधान र युद्धप्रति जनताको गहिरो विरोधमा आधारित थियो।
त्यसको केही सातामा विवाद गहिरियो।
ट्रम्पले एप्रिलमा ट्रुथ सोशलमा पोप लिओ चौधौँमाथि आक्रमण गरे र पोपले युद्धको आलोचना गरे। ट्रम्पले पोपलाई "अपराध (नियन्त्रण) मा कमजोर" भने।
कट्टर क्याथोलिक देशमा शासन गरिरहेकी मेलोनीले उक्त आक्रमणलाई "अस्वीकार्य" भनेकी छन्।
ट्रम्पले यसलाई राम्रोसँग लिएनन्। "म उनीसँग स्तब्ध छु," उनले इटलीको एउटा दैनिक पत्रिकालाई भने। "मलाई लाग्थ्यो उनीमा साहस छ, तर म गलत रहेछु।" उनले थपे: "उनी अस्वीकार्य छिन्... उनी त्यही व्यक्ति होइनन्, इटली त्यही देश होइन।"
जुनसम्म आइपुग्दा कुराहरू राम्रो हुँदै गएको जस्तो देखिन्थ्यो। फ्रान्समा भएको जी सेभेन सम्मेलनमा ट्रम्प र मेलोनीको सोफामा गहिरो संवाद गरिरहेको तस्बिर खिचिएको थियो। इटलीका अधिकारीहरूले "स्पष्टीकरणको छलफल" भने।
मेलोनीले पत्रकारहरूसँग वातावरण "धेरै सकारात्मक" भएको र त्यसमा "कुनै तनाव नभएको" बताएकी थिइन्।

तस्बिर स्रोत, Handout via REUTERS
पत्रकारहरूले यसबारे समाचार लेख्ने मौका नै नपाइ फेरि परिवेश बदलियो।
केही दिनपछि ट्रम्पले इटलीको एउटा प्रसारकलाई फोनमा दिएको अन्तर्वार्तामा मेलोनीले सम्मेलनका बेला आफूसँग फोटो खिचाउन "बिन्ती" गरेको बताएका थिए।
इटलिअनमा डब गरिएको उक्त अन्तर्वार्ता अङ्ग्रेजीमा कहिल्यै प्रसारण भएन।
"उनले मसँग तस्बिर खिचाउन मरिहत्ते गरिन्," ट्रम्पको कुरालाई अर्कोले अनुवाद गरिएको आवाजमा भनिएको थियो। "मैले नखिचेको भए पनि हुन्थ्यो तर मलाई उनीमाथि दया लाग्योI"
मेलोनीले तत्कालै त्यसको प्रतिक्रिया दिइन्। उनले इटलीमा बोलेको भिडिओमा ट्रम्पको भनाइ "पूर्णतया बनावटी" भएको भनिएको छ।
"मलाई थाहा छैन अमेरिकी राष्ट्रपतिले आफ्नै साझेदारहरूप्रति किन यस्तो व्यवहार गर्छन्," उनले भनिन्। "म केवल यत्ति भन्न सक्छु कि उनले पश्चिमका शत्रुहरूप्रति समान सङ्कल्प नदेखाउनु दुःखको कुरा हो... तर उनले सम्झिनुपर्ने एउटा कुरा छ: न म कहिल्यै बिन्ती गर्छु न नै इटलीले नै।"
इटलीका विदेशमन्त्री एन्टोनियो टायानीले वासिङ्टन भ्रमण रद्द गरेका छन्।
राष्ट्रपति सेर्जो म्याटरेलाले उनलाई फोन गरेर ऐक्यबद्धता जनाएका छन्।
मेलोनीका सरकारका सहकर्मी र सांसदहरूले टिप्पणीलाई आपत्तिजनक भएको र देशको गरिमामा चोट पुर्याएका कारण माफी माग्नुपर्ने भनेका छन्। विपक्षी सदस्यहरूले टिप्पणीलाई समग्र देशको लागि अस्वीकार्य अपमान भनेर निन्दा गरेका छन्।
ट्रम्पले क्याम्प डेभिडबाट ट्रुथ सोशलमा अझ जोड दिएर मेलोनीले फोटो खिचाउन "बारम्बार भनेको" र अमेरिकाले "इरानलाई सैन्य रूपमा पराजित गरेको" बेला उनलाई "फेरि साथी" बन्न खोजेको आरोप लगाए।
त्यो विवाद साम्य हुँदै गएपछि सैन्य अखडालाई लिएर छुट्टै विवाद सुरु भयो।
गत बुधवार नेटोका महासचिव मार्क रुट्टले फक्स न्यूजलाई बताएअनुसार "अपरेशन एपिक फ्युरी" नामक इरानविरुद्ध अमेरिका-इजरेल अभियानको समर्थनमा करिब ५०० अमेरिकी विमानले इटलीस्थित अमेरिकी आधार शिविरबाट उडान भरेका थिए।
यो महाद्वीपमा हजारौँ उडानहरूमा चल्ने व्यापक युरोपेली समर्थनको एउटा हिस्साको रूपमा उनले यसलाई व्याख्या गरेका थिए।
रोमले यसलाई राम्ररी लिएन। इटलीका रक्षा मन्त्रालयले रुट्टको भनाइलाई "भ्रामक" र "पूर्ण रूपमा भ्रामक" भनेको छ।
उसले केवल प्राविधिक र बन्दोबस्तका उडानहरू मात्रै अनुमति दिएको र युद्ध कारबाहीहरूका लागि नदिएको तथा त्यो सीमा पार गर्ने कुनै पनि अनुरोधलाई अस्वीकार गरेकोमा जोड दिएको छ।
नेटोका एकजना प्रवक्ताले पछि स्पष्ट पार्दै रुट्टले केवल इटलीसहित सहयोगीहरूले विद्यमान द्विपक्षीय आधार सम्झौताहरूको सम्मान कसरी गरे भनेर प्रकाश पार्न खोजेको बताएका थिए।
यी टिप्पणीहरूले इटलीमा राजनीतिक विवाद निम्त्याएको छ र मेलोनीको सरकारले बारम्बार इरानविरुद्ध प्रत्यक्ष सैन्य कारबाहीको लागि इटलीको भूमि प्रयोग गर्न अनुमति नदिएको बताएको छ।
उनले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा कसरी पुन: आफूलाई राख्नेछिन्? फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँसँगको उनको असहज गठबन्धनको लागि अब के हुनेछ किनभने उनी यति लामो समयसम्म उनको राजनीतिक "शत्रु" रहे। तर अब उनको अडानका लागि महत्त्वपूर्ण बन्दै छन्।
र सबैभन्दा मुख्य कुरा के मेलोनी र ट्रम्पको सम्बन्ध फेरि सुध्रिन्छ?
"यो एउटा कठिन परिस्थिति हुनसक्छ," काउन्सिल फर द युनाइटेड टेक्स्ट एन्ड इटलीकी उपाध्यक्ष जनी रियोटाले भने।
"मेलोनीको मिलाउने क्षमता अब भ्रमपूर्ण जस्तो देखिन्छ, उनी युरोप र अमेरिकाबीचमा उभिन सक्दिनन्," उनले बीबीसीलाई भने।
"उनले युक्रेनमा अनि ट्यारिफमा दुवै पक्षलाई खुसी बनाउने प्रयास गरिन्। त्यसपछि पोपले बोले: उनले आफूलाई समर्थन गर्नुपर्यो र ट्रम्पले त्यो स्वीकार गर्दैनन्। न्यूयोर्कका धनी व्यक्ति हुनुकै दिनदेखि ट्रम्पको कि मित्र कि शत्रु हुने दृष्टिकोण छ। तपाईँ कि मसँग हुनुहुन्छ कि मविरुद्ध हुनुहुन्छ। एक पटक त्यो बुझाइ तोडिएपछि उनी अझ कडा हुन्छन् र मेलोनीले पनि आफ्नो कडा महिला छवि देखाउनुपर्यो।"
रोमको कूटनीतिक वृत्तमा कसैले पनि पूर्ण विच्छेद चाहँदैनन्।
यो साताको सुरुमा पत्रकारहरूले धेरै सरकारी मन्त्रीहरूले मेलोनीसँग ऐक्यवद्धता जनाउन यो वर्ष जुलाई २ मा मनाउन लागिएको अमेरिकी दूतावासको इन्डिपेन्डेन्स डे कार्यक्रममा सहभागी नहुने ठानिएको बताएका थिए।
त्यो मनसायमा अहिले केही लचिलोपन आएको छ। टायानीले "शिर उच्च राखेर" जाने बताएका छन् र प्रधानमन्त्रीका सहयोगीहरूले बहिष्कार गर्ने भन्ने कुरा सेलाएको र "सबैजना आफ्नो इच्छा अनुसार गर्न स्वतन्त्र" रहेको बताएका छन्।
तर अर्को महिनाको सुरुमा अन्करामा हुने नेटो सम्मेलनमा वास्तविक परीक्षा हुनेछ जब ट्रम्प र मेलोनी जीसेभेन भएयता पहिलो पटक एउटै कोठामा हुनेछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















