विश्वकप जर्सी व्यापार : अभाव र फेरिएको 'ट्रेन्ड'

तस्बिर स्रोत, Nepal Photo Library
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्युज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
लिओनेल मेस्सीले अल्जेरिया विरुद्धको खेलमा ह्याट्रिक गरेपछि ३ दशकदेखि नेपालमा जर्सीको व्यापार गरिरहेको एक कम्पनीका व्यवस्थापक जनक न्यौपानेले भने, "अब झन् मेस्सीको जर्सीको माग कति बढ्ने होला!"
आफ्नो मन पर्ने खेलाडी अनि टोलीको नाम अङ्कित जर्सीको व्यापार ह्वात्तै बढ्ने अनि महिना दिन अगाडिदेखि रेस्टुरेन्ट/सहर/गल्लीमा विश्वकपको चहल पहल सुरु हुनु नेपालमा हरेक विश्वकपका बेला देखिने दृश्य हुन्।
तर यसपालि दृश्य फेरिएको देखिएको छ।
महिना दिन अघिसम्म शान्त देखिएका समर्थकहरू अन्तिम समयमा ह्वात्तै जागेको जर्सी विक्रेताहरूले बताएका छन्।
बजारमा जर्सीको अभाव देखिएको छ भने समर्थकहरूको विश्वकपको उत्सव मनाउने शैली पनि फरक देखिएको छ।
जर्सीको माग
१९ वर्षे अन्जु गुरुङ पोर्चुगलका खेलाडी रोनाल्डोकी फ्यान हुन्। उनले पोर्चुगलको नियमित रातो रङ्गको जर्सी किन्न पाइन्। तर सेतो रङ्गको 'अवे' जर्सी भने बजारमा भेट्टाउन सकेकी छैनन्।
भन्छिन्, "पाएसम्म खोज्छु। पाइन भने यसपालि रातो जर्सीमै चित्त बुझाउनु पर्ला।"
नेपाली बजारमा अहिले जर्सीको माग अन्तिम समयमा आएर व्यापक रूपमा बढेको व्यापारीहरू बताउँछन्। जसका कारण माग धान्न नसकिएको उनीहरूको भनाइ छ।
पछिल्लो समय स्कुले विद्यार्थीहरूलाई विश्वकपको जर्सी लगाएर विद्यालयमा आउन भनिएपछि पनि यसको माग बढेको देखिन्छ। राजधानी काठमाण्डूका अधिकांश विद्यालयले यस्तो सूचना जारी गरेको भेटिन्छ।
जसमा सूचनाको अन्तिममा 'यो अनिवार्य होइन' भनी लेखिएको छ।
एक अभिभावक भन्छन्, "अरू सबै बच्चाहरूले जर्सी लगाएर आएपछि आफ्नो बच्चालाई नकिन्ने भन्ने प्रश्नै उठ्दैन नि। अनि पसलमा गयो, चाहेको जर्सी पाइन्न।"
त्यसबाहेक अधिकांश रेस्टुरेन्ट र थुप्रै कार्यालयका कर्मचारीहरूले पनि कुनै न कुनै देशको जर्सी लगाएर सेवा दिइरहेको देखिएको छ। जसले गर्दा अन्तिम समयमा माग बढ्न पुगेको व्यापारीहरू बताउँछन्।
अर्जेन्टिना, पोर्चुगल र ब्रजिलकै जर्सीको बढी माग

तस्बिर स्रोत, Nepal photo library
नेपालमा प्राय: अर्जेन्टिना, पोर्चुगल र ब्रजिलकै जर्सीको माग बढी हुने गर्छ। यसपालि पनि लगभग त्यही परम्परा दोहोरिएको देखिन्छ।
कुलेश्वरमा जर्सी पसल चलाउने सुमिना पौडेल भन्छिन्, "धेरै माग अर्जेन्टिनाकै भएको छ। त्यसपछि पोर्चुगलको जर्सी खोज्न आउनेहरू धेरै छन्। तर हामीले माग अनुसार सामान अभाव भएकोले दिन सकिरहेका छैनौँ।"
जर्सी अभाव हुनुको मुख्य कारण विदेशबाट सामान आयातमा भएको कमी रहेको उनीहरूको भनाइ छ।
नेपाल सरकारले गत वैशाख १५ गतेदेखि विदेशबाट आयात हुने मालसामानहरूमा भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) र आवश्यक लेबल अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरेको थियो।
तर व्यवसायीहरूले विदेशी कम्पनीहरूले नेपालका लागि मात्रै छुट्टै एमआरपी नतोक्ने र भन्सार नाकामा ल्याएर हजारौँ सामानमा स्टिकर टाँस्न व्यावहारिक रूपमा असम्भव भएको भन्दै विरोध गरेका थिए।

समस्या बढेपछि सरकारले आयातकर्ताले भन्सार विन्दुमा वस्तुको एमआरपी आफैँ घोषणा गरेर सामान छुटाउन पाउने व्यवस्था गर्दै लचकता अपनाएका थियो। तर विश्वकपको वातावरण सुरु भइसकेकोले अन्योल अझै बाँकी हुँदा माग अनुसारको सामान नआएको देखिन्छ।
सुमिना भन्छिन् , "हामीले होलसेलमा सामान लिन जाँदा एमआरपी समस्याले गर्दा सामान कम आएको भन्छन्। माग जतिको सामान पाइँदैन।"
केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले एमआरपी विवादले बजारमा सामग्रीको अभाव भएको हुन सक्ने बताउँछन्।
उनले भने, "हाम्रो ब्रान्डको जर्सी जोर्डन र बोस्निया हर्जगोभिनाको राष्ट्रिय टोलीले लगाएको छ। त्यसको माग त उच्च छैन। अरू ब्रान्ड हामी बेच्दैनौँ। जर्सी अभाव भएको चाहिँ सुनेको छु। "
यद्यपि बजारमा अभाव देखिएको जर्सी भनेको सामान्य स्तरको जर्सी नभई 'प्लेयर क्वालिटी' को जर्सीको रहेको देखिएको छ।
जनक न्यौपानेका अनुसार माग धेरै तर आयात नभएपछि व्यापारीहरूले नेपालमै लेभलिङ गरेर जर्सी बेच्न थाले। प्लेयर्स क्वालिटीको सामानको भने अभाव देखियो।
उनी भन्छन् , "विगतमा जस्तो पान पसलहरूमा जर्सी झुन्ड्याएको यसपालि देखिएको छैन। कपडा पसलहरूमा पनि जर्सी चाहिँ भेटिन्छ। तर 'प्लेयर्स क्वालिटी' पाउनु भनेको चाहिँ सुन खोजे जस्तै भएको छ।"
त्यसैले समर्थकहरूले बजारमा जे भेटिन्छ, त्यही जर्सी लगाएर चित्त बुझाइरहेको देखिन्छ।
फेरिएको 'ट्रेन्ड'

तस्बिर स्रोत, Nepal Photo Library
विगतमा जस्तै ब्रजिलको पहेँलो जर्सी लगाएर बजारमा छ्यापछ्याप्ती समर्थकहरू यसपालि देखिएका छैनन्।
न त चोक गल्ली नै रङ्गिने खालको विगतको झल्को जताततै देख्न सकिन्छ।
समर्थकहरूको विश्वकप हेर्ने र समर्थन गर्ने शैली भने बदलिँदै गएको देखिएको छ।
सामाजिक सञ्जालको प्रभाव बढिरहेको वर्तमान समयमा समर्थकहरूले विश्वका कुना कुनाका खेलाडीहरू चिन्ने र त्यही ढङ्गले समर्थन गर्ने शैली बदलिएको देखिन्छ।
पहिले एउटै परिवारले अर्जेन्टिना वा ब्रजिलको जर्सी लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने फेशन चलेको थियो। तर अहिले ट्रेन्ड फेरिँदै गएको छ। जनक न्यौपाने भन्छन् , "अहिले एउटै परिवारमा बाउ र छोराको रोजाइ फरक देखिन थालेको छ। एउटै परिवारका चार जना चार थरी जर्सी किनेर लैजान्छन्। "
उनका अनुसार एसियाली राष्ट्रको जर्सी खोज्न आउनेहरू विगतमाभन्दा धेरै छन्।
अर्कोतर्फ उत्तर अमेरिकामा खेल भएकोले पनि त्यसको प्रभाव नेपाली समर्थकमा फरक तरिकाले परेको देखिन्छ।
विश्वकपका बेलाको रेस्टुरेन्टको व्यापार विगतमा मज्जाले चल्थ्यो, तर अहिले रातिको खेल र अमिल्दो समयका कारण व्यवसायीहरूको व्यापारमा असर परेको छ।
अधिकांश समर्थकहरू घरमै बसेर विश्वकपको आनन्द लिइरहेको देखिन्छ।
यद्यपि जर्सीको माग भने नेपालमा विगतको भन्दा कम छैन। मेस्सीको प्रभाव कायम रहँदा अर्जेन्टिनाको प्रभाव नेपाली समर्थकमा अहिले पनि बढी नै देखिएको छ। तर अरू राष्ट्रको हकमा फरक फरक देशको जर्सी खोज्न आउनेहरूको सङ्ख्या निकै बढेको छ।
जसले नेपालीहरूको बदलिएको शैलीको प्रतिनिधित्व गरेको देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















