लिओनेल मेस्सीका बुवा होर्हे 'स्वास्थ्यसँग सम्बन्धित समस्यामा'

एल्जिरियाविरुद्ध गोल गरेपछि आँसु पुच्छै मेस्सी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विश्वकपमा पहिलो पटक आफूले ह्याट्रिक गरेपछि मेस्सी भावुक बनेका थिए र उनका आँखामा आँसु देखिएको थियो
    • Author, एलिजाबेथ कोन्वे
    • Role, स्पेनिश फुटबल संवाददाता
  • Published
  • पढ्ने समय: ३ मिनेट

आर्जेन्टिनाका ख्यातिप्राप्त फुटबल खेलाडी लिओनेल मेस्सीका बुवा अहिले "स्वास्थ्यसँग सम्बन्धित समस्या"मा रहेको मेस्सी परिवारले जनाएको छ।

"अहिले उहाँ चिकित्सकीय निगरानीमा हुनुहुन्छ र उहाँको स्वास्थ्यस्थितिमा राम्ररी सुधार हुँदै छ," बिहीवार जारी विज्ञप्तिमा भनिएको छ।

जारी फिफा विश्वकप २०२६ मा बुधवार एल्जिरियासँग समूहचरणको खेलमा पहिलो गोल गरेपछि मेस्सी रोएको देखिएको थियो।

उक्त खेलमा मेस्सीले ह्याट्रिक गरेर आर्जेन्टिनालाई ३-० ले जिताएका थिए। उनी आफ्नो राष्ट्रिय टोलीका क्याप्टेन पनि हुन्।

एकैदिन तीन गोल गरेर ३८ वर्षीय मेस्सी विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोजको बराबारीमा उभिन सफल भए।

मेस्सी किन रोए

"म किन रोएँ? यो पूर्ण रूपमा फुटबलसँग असम्बन्धित कुरा थियो," खेलपछि मेस्सीले भने।

"मैले केही कठिन दिनहरू भोगेँ, तर म पूरै टोली र सहकर्मी खेलाडीहरूप्रति आभारी छु किनभने उनीहरू सधैँ मेरो साथमा रहे अनि मलाई यो परिस्थितिबाट बाहिर निस्कन ठूलो शक्ति दिए।"

आर्जेन्टिनाको पहिलो खेलपछि परिवारले होर्हे मेस्सीको स्वास्थ्यबारे हुँदै गरेका विभिन्न टिप्पणीहरूका बारे स्पष्टीकरण दिएको छ।

"विगत केही घण्टायता अड्कलबाजी फैलिएको सन्दर्भमा हाम्रो परिवार नितान्त पारिवारिक गोपनीयताको विषयलाई केही मानिसहरूले जसरी असंवेदनशील भएर असम्मानित र विवेकहीन ढङ्गले प्रस्तुत गरेका छन् त्यसप्रति आफूलाई असहज अनुभूति भएको बताउन चाहन्छ।"

यद्यपि परिवारले होर्हे मेस्सीलाई के भएको हो भनेर चाहिँ खुलाएको छैन।

समूहचरणमा आर्जेन्टिनाको अर्को खेल आगामी सोमवार २२ जुनमा १८ बीएसटी (नेपाली समयानुसार राति ११ः४५ बजे) अस्ट्रियासँग हुने छ।

त्यसै गरी अन्तिम खेल आइतवार २८ जुन ३ः०० बीएसटी (नेपाली समयानुसार बिहान ८:४५ बजे) जोर्डनसँग हुने छ।

मेस्सी परिवार के भन्छ

सन् २०१६ मा करछलीको मुद्दाको सुनुवाइको क्रममा स्पेनस्थित अदालतमा लिओनेल मेस्सी र उनका बुवा होर्हे मेस्सी

तस्बिर स्रोत, Reuters

होर्हे मेस्सीको अवस्थाबारे केवल निकट नातेदारहरूसँग वास्तविक र यथार्थपरक जानकारी हुने भन्दै परिवारले भनेको छ, "तसर्थ सोझै परिवार र यसका आधिकारिक च्यानलहरूबाट बाहेक अन्यत्रबाट आउने कुरा, भनाइ वा सूचनालाई सही वा सत्य मान्नु हुँदैन।"

"यस्तो परिस्थितिमा हामी जिम्मेवारी, विवेक र मानवीयता अपेक्षा गर्छौँ। कुनै पनि व्यक्तिको स्वास्थ्य र निजसँग निकट व्यक्तिहरूको मानसिक शान्तिलाई अड्कलबाजी वा सञ्चारमाध्यमको गैरजिम्मेवारीपूर्ण चासोको विषय बनाइनु हुँदैन," विज्ञप्तिमा भनिएको छ।

"प्राप्त स्नेह, सम्मान र सरोकारका अभिव्यक्तिहरूका प्रति हाम्रो हार्दिक सम्मान छ। हामी यो प्रक्रियाभरि होर्हेका साथै उहाँको सम्पूर्ण परिवारको गोपनीयता र निजी जीवनप्रति सम्मान गरियोस् भन्ने आग्रह गर्छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।