स्याटलाइट तस्बिरहरूमा हेर्नुहोस् युक्रेनमा बाँध भत्किएपछि यस्तो क्षति

बाढीले बगाएको अन्नका भाँडा

तस्बिर स्रोत, Planet Labs PBC

Published

दक्षिणी युक्रेनको रुस नियन्त्रित क्षेत्रमा रहेको एउटा प्रमुख बाँध भत्किएपछि त्यहाँ बाढी आएको छ। 'काखोभ्का हाइड्रोइलेक्ट्रिक पावर प्लान्ट' को बाँध रुसले कब्जा गरेको क्षेत्रमा रहेको छ। सोभियत कालमा निर्मित यो ड्निप्रो नदीमा रहेका ६ बाँधहरू मध्येको एक हो।

युक्रेनी सेना र नेटोले उक्त विशाल बाँधमा रुसले बम विस्फोट गराएको आरोप लगाएका छन्। रुसले भने वरपरका समुदायमा बस्ने हजारौँ मानिसहरूलाई विस्थापित गर्ने गरी भएको विपत्तिको लागि युक्रेनलाई दोष दिएको छ।

केही तस्बिरहरू, स्याटलाइटबाट कैद दृश्य र भिडिओहरूमा बाँधमा ठूलो क्षति पुगेको देख्न सकिन्छ र त्यहाँबाट पानी वेगले निस्केर खेअर्सन सहरतर्फ बगिरहेको देखिन्छ।

सडकमा क्षति

बाँधको माथिल्लो भागमा रहेको सडक जुन २ देखि नै बिग्रिएको देखिन्छ। तर पर्खाल तथा वरपरका भवनहरू भत्किएको जुन ६ तारिखसम्म भने पानीको बहावमा परिवर्तन देखिँदैन। सडकमा भएको क्षति जुन ६ जुनमा बाँध भत्किनुसँग सम्बन्धित छ वा छैन भन्ने कुरा चाहिँ अहिलेसम्म अस्पष्ट छ।

स्याटलाइटबाट कैद तस्बिरले बाँधमा जुन ६ अघि नै क्षति देखाउँछ

भू-उपग्रहबाट लिइएका तस्बिरहरूले पनि ड्निप्रो नदीमा बाढीको स्तर देखाउँछ। जुन ७ मा खिचिएको एक तस्बिरमा थिग्रिएका बालुवाको थुप्रो देखिन्छ।

बाढीको स्तर देखाउने स्याटलाइट तस्बिर

कोर्सुन्का गाउँ

बाँध नजिक नोभा काखोभ्का सहरका रुसले नियुक्त गरेका मेयर भोलोदिमिर लिओनटिएभले कोर्सुन्का गाउँ पूर्ण रूपमा डुबेको बताए। त्यस्तै अन्य तीन गाउँहरू कोजाची लाहेरी, क्रिन्कि र ड्निप्रानीका भवनहरू छानासम्म डुबेको बताए।

कोर्सुन्का गाउँमा भएको क्षतिको दृश्य

ड्निप्रो नदी किनारमा राखिएका अन्न भण्डार पनि बाढीबाट प्रभावित देखिन्छन्।

“ तत्कालको प्रभाव भनेको नदीको होचो किनारमा रहेका अन्न भण्डार र अन्य सामग्रीहरूमा असर परेको देखिन्छ,” युकेआरएग्रोकन्सल्टका प्रमुख सेर्गेई फिओफिलोभले ब्लूमबर्गसँगको अन्तर्वार्तामा भनेका छन्।

"कुन भण्डारमा अन्न छन् र कति परिमाणका अन्न छिटै कुहिन सक्छ भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन। तर यसको दीर्घकालीन असर थप नाटकीय हुनेछ।"

स्याटलाइटबाट कैद दृश्यमा अन्नको भण्डार डुबेको देखिन्छ

नोभा काखोभ्काबाट ८० किलोमिटर तल खेअर्सन सहरको तल्लो भूभागमा बसोबास गर्ने सयौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको क्षेत्रीय गभर्नर ओलेक्सान्डर प्रोकुडिनले बताए।

उनले युक्रेनको नियन्त्रणमा रहेको नदी किनारस्थित करिब २००० घर डुबानमा परेको जानकारी दिए।

बाढी अघि र पछि खेअर्सन सहरको अवस्था

नोभा काखोभ्कामा अवस्थित नाचघर बाँध ध्वस्त भएपछि प्रभावित हुने थुप्रै ऐतिहासिक भवनहरूमध्येको एक हो।

बाढी अघि र पछि नोभा कखोभ्कामा अवस्थित कन्सर्ट हलको तस्बिर

क्रिन्कि पूर्ण रूपमा डुबानमा परेको बस्तीहरूमध्ये एक हो।

बाढीले डुबेको क्रिन्कि गाउँ

युक्रेनी हाइड्रो पावर बाँध सञ्चालक युकेआरहाइड्रोएनेरहोले नोभा काखोभ्का स्टेसन “पूर्ण रूपमा ध्वस्त” भएको र त्यसलाई पुनर्स्थापित गर्न नसकिने बताए।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नदीको पानी १५० टन औद्योगिक तैलिय पदार्थ मिसिएर पनि दुषित बनेको बताएका छन्। त्यस्तै थप ३०० टन त्यस्ता तरल रसायन चुहिने जोखिममा रहेको पनि उनले बताए।

स्याटलाइटबाट खिचिएको बाँध र पावर प्लान्टको तस्बिर