प्राकृतिक विपद्‌का बेला चीनले 'एआई'बाट भोग्न थालेको नयाँ चुनौती

चिनियाँ सरकारी मिडियाले एआईबाट निर्मित सामाग्रीको खण्डन गरेको देखिने 'स्क्रीनशट'

तस्बिर स्रोत, Chinese state media

तस्बिरको क्याप्शन, चिनियाँ सरकारी मिडियाले एआईबाट निर्मित सामाग्रीको खण्डन गरेको देखिने 'स्क्रीनशट'
    • Author, स्टेफन मक्डोनल
    • Role, चीन संवाददाता
  • Published
  • पढ्ने समय: ६ मिनेट

टाइफून नोलको असरसँग चीन जुधिरहेका बेला अधिकारीहरूलाई अर्को गम्भीर चुनौतीको पनि सामना गर्नुपर्ने सम्भावना रहेको कुरा राम्ररी थाहा छ : आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रयोग गरेर बनाइएका अत्यन्तै भ्रामक र खतरनाक भिडिओहरू।

पछिल्ला केही महिनाहरूमा शक्तिशाली आँधीबेहरी र बाढीका घटनाहरू बढ्दै जाँदा सामाजिक सञ्जालमा डुबानमा परेका नक्कली भिडिओहरू देखिएका छन् - जसमा बाढीको पानीमा तैरिरहेका शव, प्रभावित नभएका क्षेत्रहरूमा गम्भीर बाढीको गलत चित्रण र आपत्कालीन उद्धार तथा राहतका प्रयासहरूको नक्कली विवरणहरू रहेका छन्।

केही क्षेत्रहरूमा, बिजुली जानेबारेका गलत जानकारी भएका भिडिओहरूले मानिसहरूलाई आपत्कालीन अवस्थामा चाहिने सामानहरू किन्न आतुर गरायो। अन्य भिडिओहरूले पनि वास्तविक जीवनका जोखिमलाई आधार बनाएर भ्रम फैलाए।

गत जुलाईको सुरुमा क्वाङ्सीको जेङजोउ सहरमा आएको बाढीका कारण सयौँ सर्प प्रजनन हुने क्षेत्रबाट भागेका थिए । त्यसपछि गोहीलाई नदीमा छोडिएको नक्कली तस्बिर पनि प्रकाशित गरिएको थियो ।

सामूहिक रूपमा अन्यत्र सार्ने र जटिल उद्धार कार्यहरू हुनेजस्ता तनावपूर्ण र खतरनाक अवस्थामा अधिकारीहरू आत्तिनबाट बच्न चाहन्छन्। तर अहिले चीनले अर्बौँ डलर लगानी गरिरहेको एआई प्रविधिले सर्वसाधारणलाई छल्न प्रयोग गर्न सकिने सरल, पहुँचयोग्य उपकरणहरू उपलब्ध गराउँदै छ भन्ने डर उनीहरूमा छ।

"यी धेरै कन्टेन्ट क्रिएटरले धेरै फलोअरहरू बढाउन विपद्का समाचारहरू प्रयोग गर्छन् किनभने उनीहरूलाई थाहा छ कि यस्ता खालका सनसनीपूर्ण सामाग्रीले धेरै लाइक र भ्यू ल्याउने छन्। उनीहरू जानाजान सूचनालाई बढाइचढाइ गर्छन् ताकि मानिसहरूको ध्यान तान्न सकियोस्," चीनको सरकारी सञ्चारमाध्यमसँग बोल्दै जेजियाङ प्रहरी विभागस्थित अनलाइन सार्वजनिक सुरक्षासम्बन्धी उपप्रमुख खुवाङ झिखुवाले भने।

हालैका साताहरूमा झुटा रिपोर्ट र भिडिओ सामग्री बनाउनेहरू पक्राउ परेका छन् र उनीहरूलाई सजायस्वरूप थुनामा राख्नेदेखि जरिवाना तिराउनेसम्म गरिएको छ।

तर विज्ञहरूले भने गलत सूचनाको कहिल्यै देखा नपरेको सङ्कट अब छिट्टै देखा पर्न सक्ने चेतावनी दिएका छन्।

कोही किन त्यसो गर्छ

एआईद्वारा निर्मित भ्रामक भिडिओको एक दृश्य

तस्बिर स्रोत, Social media

तस्बिरको क्याप्शन, मिथ्या सामग्रीमा गोहीलाई नदीमा पठाइँदै गरेको देखिन्छ

चिनियाँ कम्युनिस्ट पार्टीको सेन्ट्रल पार्टी स्कूलको पत्रिकामा प्रकाशित एउटा लेखमा प्राध्यापक चेन बिनले भनेका छन्, "एआईले झुटा सूचना बनाउने प्राविधिक अवरोधलाई नाटकीय रूपमा घटाइदिएको छ। अब मानिसहरूलाई जटिल खालको प्राविधिक सीप आवश्यक पर्दैन। एआईका उपकरणलाई केवल निर्देशन दिएर उनीहरूले विश्वसनीय देखिने शब्द, तस्बिर, अडिओ र भिडिओ छिट्टै तयार गर्न सक्छन्… जुन अत्यन्तै यथार्थपरक देखिए पनि पूर्ण रूपमा बनावटी सामग्री हो र ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ।"

ईस्ट चाइना यूनिभर्सिटी अफ पलिटिकल साइन्स एन्ड लका प्राध्यापक जाओ फुपिङले बीबीसीसँग कुरा गर्दै यस्ता झुटो सामग्री प्रकाशित गर्नाको उद्देश्य विभिन्न हुने बताए। उनका अनुसार केहीले "परिणामबारे नसोची मनोरञ्जनका लागि केही बनाउन" यस्तो गर्छन्, केहीले "व्यक्तिगत फाइदाका लागि धेरै (दर्शक वा क्लिक) पाउन " यस्तो सामग्री बनाउँछन् भने अरूले जानाजानी "आतङ्क वा सामाजिक अशान्ति फैलाउने" उद्देश्यले यस्तो सामग्री प्रकाशित गर्छन्।

"केही प्रयोगकर्ताहरूलाई अनलाइन संसारबारे कसैलाई थाहा हुँदैन र नियमन हुँदैन वा उनीहरूलाई पहिचान गर्न सकिँदैन भन्ने लाग्छ," उनले भने।

'मुसाबिरालाको खेल'

एआईद्वारा बनाइएका सबै सामग्री चिनिने गरी स्पष्ट रूपमा सङ्केत राख्नुपर्ने माग पनि उठेको छ। तर अन्य प्रयोगकर्ताहरूले ती सङ्केत हटाएर सामग्रीलाई पुनः सम्पादन गर्न सक्ने भएकाले यो उपाय पनि पूर्ण रूपमा प्रभावकारी नहुन सक्छ।

बेइजिङ नर्मल यूनिभर्सिटीका प्राध्यापक सु सियाओकेले बीबीसीसँग कुरा गर्दै भौगोलिक स्थान खुलाएर प्रमाणीकरण गर्ने र तस्बिरहरूको मूल स्रोत जाँच्ने प्रयासलाई पनि थप सुदृढ बनाउनुपर्ने बताए।

उनले चेतावनी दिँदै भने, "यद्यपि, म यो पनि जोड दिएर भन्न चाहन्छु कि एआई सामग्री पहिचान गर्ने प्रविधि अझै पनि सामग्री बनाउने प्रविधिभन्दा पछाडि छ। हामी निरन्तर 'मुसाबिरालाको खेल' जस्तै प्रतिस्पर्धामा छौँ। त्यसैले केवल एउटा बटन थिचेर प्रविधिले मात्र एआईद्वारा सिर्जित सामग्री सजिलै पहिचान गर्न सक्छ भन्ने मान्नुहुँदैन।"

एआईद्वारा बनाइएको सामग्रीले मानिसहरूभन्दा सुँगुरहरूको उद्धारलाई प्राथमिकता दिइएको देखाएको छ

तस्बिर स्रोत, Social Media

तस्बिरको क्याप्शन, एआईद्वारा बनाइएको सामग्रीले मानिसहरूभन्दा सुँगुरहरूको उद्धारलाई प्राथमिकता दिइएको देखाएको छ

चीन सरकारले आफूलाई विश्वको अग्रणी प्रविधि महाशक्ति बनाउने लक्ष्यसहित एआईलाई तीव्र रूपमा प्रयोग गरिरहेको छ।

सन् २०१७ मा चीनले एआईलाई "देशको प्रगतिको मुख्य प्रेरक शक्ति" हुने घोषणा गरेको थियो।

थप लगानी आकर्षित गर्न खोजिरहेका एआई कम्पनीहरूमा ठूलो मात्रामा पुँजी प्रवाह भइरहेको छ, जसले घरेलु प्रतिस्पर्धालाई अझ तीव्र बनाइरहेको छ। सरकारनियन्त्रित समाचार संस्था सिन्ह्वाका अनुसार चीनमा ६,००० भन्दा बढी एआई कम्पनीहरू रहेका छन्।

यस्तो परिस्थितिमा प्राध्यापक सु सियाओकेका अनुसार चीनले "विश्वसनीय सूचना पूर्वाधार" निर्माण गर्न आवश्यक छ। यसमा सरकारद्वारा सञ्चालित आधिकारिक प्रारम्भिक चेतावनी प्रणाली र विपद्सम्बन्धी सूचना प्रणाली समावेश हुन सक्छन्, जसलाई समाचार संस्थाहरूले पनि उपयोग गर्न सकून्।

सरकारमाथि नै अविश्वास हुने जोखिम

तर यसअघि सरकारद्वारा नियन्त्रित सञ्चारमाध्यमसहित आधिकारिक स्रोतहरूले जानाजानी विपद्को गम्भीरतालाई कम गरेर प्रस्तुत गरेका उदाहरणहरू पनि छन्। यसका कारण यस विषयमा सर्वसाधारणबीच केही अविश्वास उत्पन्न भएको छ।

जुलाईको सुरुमा स्थानीय पत्रकारहरूलाई नानिङ नजिकैको लिउलान बाँधको पर्खालमा भएको ठूलो क्षतिलाई "भत्किएको" भन्नुको सट्टा "खुलेको" वा "खाडल" जस्ता कम गम्भीर सुनिने शब्द प्रयोग गर्न निर्देशन दिइएको थियो।

अधिकारीहरूले बाँधको क्षति कम गम्भीर देखिने गरी प्रस्तुत गर्न खोजेको जस्तो देखिए पनि त्यसको परिणाम अत्यन्त घातक भयो। बाँध फुटेपछि बगेको पानीले तल्लो तटीय क्षेत्रमा कम्तीमा २६ जनाको ज्यान गएको थियो।

यो केवल यस्तो एउटा घटना मात्रै होइन।

सन् २०२१ मा स्थानीय अधिकारीहरूलाई हेनान प्रान्तमा १३९ जनाको मृत्यु लुकाएको वा वास्तविक सङ्ख्याभन्दा कम देखाएको आरोपमा पक्राउ गरिएको थियो।

यस्ता घटनाहरूले जनविश्वासमा ठूलो खाडल सिर्जना गरेका छन् र यसका कारण गलत उद्देश्य भएका व्यक्तिहरूलाई नक्कली तथा भ्रामक सामग्री फैलाउन अझ सजिलो भएको छ।

तर आपत्कालीन अवस्थाहरूमा प्रहरीले सर्वसाधारणलाई आधिकारिक र प्रमाणित स्रोतहरूमा मात्र विश्वास गर्न आग्रह गरिरहेको छ।

निङ्बो पब्लिक सेक्युरिटी ब्यूरोका जाओ काइले भने, "विपद्सम्बन्धी जानकारी कुनै अपरिचित स्रोतबाट प्राप्त भएमा त्यसलाई शङ्काको दृष्टिले हेर्नुहोस् र आधिकारिक सूचनामाथि मात्र भर गर्नुहोस्।"

उनले झुटा सूचना बनाउनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने विश्वास दिलाउँदै भने, "इन्टरनेट कानुनविहीन क्षेत्र होइन। सार्वजनिक सुरक्षा निकायहरूले गैरकानुनी अनलाइन गतिविधिविरुद्ध कारबाहीलाई अझ कडा बनाइरहनेछन्।"

उनले थपे, "हामीले सामाजिक सञ्जाल, विशेष गरी छोटो भिडिओ राख्ने प्ल्याट्फर्महरूलाई नजिकबाट निगरानी गर्न विशेष कार्यदल गठन गरेका छौँ। यो कार्यदलले यस्ता घटनाको छिटो अनुसन्धान गर्ने छ र अत्यन्त कडाइका साथ कारबाही गर्ने छ।"

समाधान के त?

जुलाई २३ मा चीनको साइबर एड्मिनिस्ट्रेशनले बाढी तथा अन्य विपद्सँग सम्बन्धित नक्कली इन्टरनेट सामग्रीविरुद्ध देशव्यापी अभियान घोषणा गर्‍यो। उसले आफ्ना स्थानीय कार्यालयहरूलाई बनावटी तथ्याङ्क, दुर्भावनापूर्ण सम्पादन, कृत्रिम रूपमा तयार गरिएका दृश्य, ऐतिहासिक घटनालाई गलत रूपमा प्रस्तुत गर्ने सामग्री तथा सरकारी अधिकारीका रूपमा आफूलाई प्रस्तुत गर्ने व्यक्तिहरू पहिचान गरी कारबाही गर्न निर्देशन दियो। साथै, सामाजिक सञ्जाल प्ल्याट्फर्महरूलाई आफूहरूले प्रकाशन गर्ने सामग्रीको पुनरवलोकन प्रक्रिया अझ कडा बनाउन पनि आग्रह गरेको थियो।

प्राध्यापक जाओ "यो समस्याको समाधान जनचेतना अभिवृद्धि र कानुनको प्रभावकारी कार्यान्वयनको संयोजनमा रहेको" ठान्छन्। उनका अनुसार, "कारबाहीमा परेका वास्तविक घटनाहरूलाई सार्वजनिक रूपमा प्रचारप्रसार गर्न आवश्यक छ।"

उनले थपे, "एआईद्वारा बनाइएका नक्कली सामग्रीबाट हुने हानि अन्ततः मानिसहरूले यो प्रविधिको प्रयोग कसरी गर्छन् भन्ने कुराको परिणाम हो, प्रविधि स्वयंको होइन।"

उनका अनुसार यी समस्यासँग जुध्न हालका कानुनहरू पर्याप्त छन्।

तर सबै यसमा सहमत छैनन्। प्राध्यापक चेनले भने, "एआई प्रविधि कानुनी संरचनाभन्दा धेरै तीव्र गतिमा विकसित भइरहेको छ। नयाँ कानुनी प्रश्नहरू देखा पर्दै जाँदा एआईद्वारा फैलाइने गलत सूचना अझै पनि ठूलो चुनौती बनेको छ।"

शाङ्घाई र वाशिङ्टनमा रहेर काम गर्ने वकिल पीटर पाङका अनुसार विश्वभरिका वकिलहरूले यस्ता मुद्दाहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको देखिरहेका छन्।

एआई एप विकास गर्ने कम्पनीहरू, साथै नक्कली भिडिओ र अन्य भ्रामक सामग्री प्रकाशन गर्न प्रयोग हुने प्ल्याट्टफर्महरू गलत सूचना सिर्जना गर्ने व्यक्तिहरूसँगै कानुनी रूपमा पनि उत्तरदायी हुनुपर्ने उनी विश्वास गर्छन्।

"पहिलो उत्तरदायित्व प्ल्याट्फर्महरूको हुनुपर्छ किनभने यिनैले यस्तो सामग्री सार्वजनिक रूपमा फैलिन दिने वातावरण बनाउँछन्। यिनैले त्यस्ता सामग्रीलाई बाहिर पुग्न सम्भव बनाउँछन्," बीबीसीसँग कुरा गर्दै उनले भने।

प्राध्यापक सुले चेतावनी दिँदै भने, "एआईद्वारा बनाइएका गलत सूचना केवल मात्रामा मात्र होइन, फैलिने गतिमा पनि बढ्ने सम्भावना छ।"

"भविष्यमा हेर्दा, राजनीतिक निर्वाचन, जनस्वास्थ्य सङ्कट, सशस्त्र द्वन्द्व, प्राकृतिक विपद् र मानिसहरूको जीवनयापनसँग सम्बन्धित विषयहरू एआईद्वारा सिर्जित गलत सूचनाका उच्च जोखिम भएका क्षेत्र बन्न सक्ने सम्भावना छ।

गलत सूचना भाइरल भएपछि मात्र नियन्त्रण गर्ने प्रयास गर्नुको सट्टा सरकार र प्ल्याट्फर्महरूले अहिले नै पूर्वतयारी गर्न थाल्नुपर्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।