तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शताब्दी पुरानो समस्या हल गर्दै विश्वको सर्वोच्च गणित पुरस्कार जितेका दुई चिनियाँको देशभरि व्यापक चर्चा
- Author, जोल किन्तो र फ्यान वाङ
- Published
- पढ्ने समय: ३ मिनेट
चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार दुई जना चिनियाँ प्राज्ञहरूले पहिलो पटक गणिततर्फको विश्वको सर्वोच्च पुरस्कार जितेका छन्।
चिनियाँ गणितज्ञ होङ वाङ र यु दङले अमेरिकाका जोन पार्डन र क्यानडाका जेकब जिमरमनसँगै जितेका छन्। उनीहरूले प्रत्येकले १५,००० क्यानेडिअन डलर अर्थात् करिब १०,५०० अमेरिकी डलरको पुरस्कार जितेका हुन्।
उनीहरूले एक शताब्दीभन्दा बढी समयदेखि गणितज्ञहरूलाई चकित पारेका समस्याहरू हल गरेका हुन्। अमेरिका र फ्रान्समा पढाउने ३५ वर्षीय वाङ यो सम्मान पाउने हालसम्मकै तेस्रो महिला समेत हुन्।
मानव गणनालाई एआईले बढ्दो रूपमा चुनौती दिइरहेका बेला गणितका लागि नोबेल पुरस्कार बराबर मानिने फिल्ड्स मेडल गत बिहीवार अमेरिकामा हस्तान्तरण गरिएको थियो।
यो उपलब्धिले चिनियाँ सामाजिक सञ्जालमा तरङ्ग ल्याएको छ। "फिल्ड्स मेडल" र "फिल्ड्स मेडल जित्ने पहिलो चिनियाँ गणितज्ञ" ह्यासट्यागहरूले वेइबोदेखि रेडनोटसम्मका विभिन्न सामाजिक सञ्जाल प्ल्याटफर्महरूमा लाखौँ भ्यूहरू सिर्जना गरेका छन्।
"सम्पूर्ण चिनियाँ नागरिकको गौरव," वेइबोमा एक जना प्रयोगकर्ताले गरेको टिप्पणीमा लेखिएको छ। "हामी इतिहासको साक्षी बनेका छौँ," अर्काले त्यहाँ भनेका छन्।
सञ्चारमाध्यममा व्यापक स्थान
चिनियाँ सञ्चारमाध्यमहरूमा ती दुई शिक्षाविद्हरूलाई व्यापक रूपमा स्थान दिइएको छ।
ती सामग्रीहरूमा उनीहरूका शैक्षिक पृष्ठभूमि एवं व्यक्तिगत रुचिदेखि लिएर देशका लागि उनीहरूको उपलब्धिको अर्थ के हो भन्नेजस्ता कुराहरू उल्लेख गरिएका छन्।
"चिनियाँ गणित समुदायका लागि यो हामीले दशकौँदेखि साकार पार्ने आशा गरेको सपना हो," पहिलो जातीय चिनियाँ फिल्ड्स पदक विजेता शिङ्ग-तङ याउले भने।
आफ्ना सहकर्मी जोश सालसँग मिलेर वाङले सन् १९१७ मा जापानी गणितिज्ञ सोइची काकेयाले सोधेको प्रश्नको जबाफ दिएका थिए: यदि तपाईँले एउटा पेन्सिललाई पूरा एक फन्को घुमाउनुभयो भने त्यसले ओगट्ने सबैभन्दा सानो क्षेत्रफल कति हुन्छ?
वाङ र सालले उक्त समस्याको अध्ययन गर्दा पेन्सिललाई समथर भुइँमा नभई 'थ्री डाइमेन्सनल स्पेस'मा तैरिरहेको अवस्थामा रहेको मानेका थिए। उनीहरूले आफ्नो अध्ययन गत वर्ष प्रकाशित गरे।
"यस परिकल्पनाले मानिसहरूलाई यति धेरै आकर्षित गर्नुको कारण के हो भने यस प्रकारका घटना धेरै फरकफरक क्षेत्रका समस्याहरूमा स्वाभाविक रूपमा देखिन्छन्," वाङले एएफपी समाचार संस्थालाई भने।
शिकागो विश्वविद्यालयका ३७ वर्षीय गणित प्राध्यापक दङलाई शताब्दी पुरानो उक्त समस्या समाधान गर्ने कामको लागि सम्मानित गरिएको थियो।
सन् १९०० मा जर्मन गणितज्ञ डेभिड हिल्बर्टले एउटा प्रश्न उठाएका थिए जुन पछि 'हिल्बर्टको छैटौँ समस्या' भनेर चिनिन थाल्यो। त्यसको प्रश्न थियो: छुट्टाछुट्टै कणहरूको चालका आधारमा कुनै सम्पूर्ण वस्तु वा प्रणालीको व्यवहार कसरी गणना गर्न सकिन्छ?
दङले ग्यासहरूको व्यवहार हेरेर उक्त समस्या समाधान गरे। उनले भने, "मैले सधैँ प्रशंसा गर्ने ती सबै महान् गणितज्ञहरूको पछाडि मेरो नाम सूचीकृत हुनु साँच्चै ठूलो सम्मान हो।"
वाङले हार्मोनिक विश्लेषणमा काम गरेका छन् जसले तरङ्गहरूको गतिलाई हेर्छ। फिल्ड्स पदक ४० वर्षमुनिका उत्कृष्ट गणितीज्ञहरूलाई प्रत्येक चार वर्षमा दिइन्छ।
चीनमा जन्म, विदेशमा उच्चशिक्षा
सन् १९९१ मा दक्षिणी चीनको ग्वाङ्सी क्षेत्रको पर्यटकीय सहर ग्वेलिनमा जन्मिएकी वाङले प्राथमिक तहमै दुई कक्षा फड्काएकी थिइन्।
सन् २००७ मा १६ वर्षको उमेरमै उनी चीनको प्रतिष्ठित पेकिङ विश्वविद्यालयमा भर्ना भएकी थिइन्। सुरुमा उनले पृथ्वी विज्ञान विषय लिए तापनि एक वर्षपछि गणित विभागमा सरेकी थिइन्।
स्नातकपछि उनी उच्च अध्ययनका लागि विदेश गइन्। उनले फ्रान्सको प्यारिस–सुद विश्वविद्यालय र एकोल पोलिटेक्निकमा अध्ययन गरिन् र अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)बाट विद्यावारिधि हासिल गरिन्।
हाल उनी अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा प्राध्यापक तथा फ्रान्सको इन्स्टिच्युट दे ओत एतुद साइन्टिफिक (आईएचईएस) मा स्थायी प्राध्यापकका रूपमा कार्यरत छिन्।
बिहीवार राति फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले वाङलाई फोन गरेर उक्त पदक प्राप्त गरेकोमा बधाई दिएका थिए।
"उनी हाम्रो अनुसन्धान र शिक्षाको उत्कृष्टताको प्रतीक हुन्," माक्रोँले एक्समा लेखेका छन्। "विज्ञानका लागि फ्रान्स रोज्नुहोस्," उनले थपेका छन्।
प्राथमिक विद्यालयदेखि नै गणित प्रतियोगितामा सहभागी हुन थालेका दङ पनि वाङकै वर्ष अर्थात् सन् २००७ मा पेकिङ विश्वविद्यालयमा भर्ना भएका थिए। तर सन् २००९ मा उनी एमआईटीमा गएका थिए।
उनले प्रिन्सटन विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका हुन्। सन् २०२४ देखि उनी अमेरिकाको शिकागो विश्वविद्यालयमा अध्यापन गरिरहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।