प्रदर्शनकारीहरूलाई घर फर्कन कक्रोच जनता पार्टीको अपील

Published
पढ्ने समय: ४ मिनेट

भारतमा कक्रोच जनता पार्टी (सीजेपी)ले केन्द्र सरकारले उसका बाँकी मागहरू पनि स्वीकार गरेको जनाएको छ।

तेस्रो चरणको वार्तापछि सीजेपीका प्रवक्ताद्वय सौरभ दास र आशुतोष राङ्का तथा केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले एउटा संयुक्त पत्रकार सम्मेलनमार्फत् उक्त जानकारी गराएका हुन्।

यसअघि शनिवार दिउँसो सीजेपीको मागबमोजिम शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका थिए।

पत्रकार सम्मेलनमा सौरभ दासले आफूहरूका सबै माग केन्द्र सरकारले स्वीकार गरेको बताउँदै आन्दोलनकारीहरूलाई घर फर्कन आग्रह गरे। "सरकारले हाम्रा अन्य मागहरू पनि स्वीकार गरेको छ," सौरभ दासले भने।

"सरकारले दिल्लीमा मात्र नभई देशभरि दर्ता गरिएका एफआईआरहरू फिर्ता लिन सहमति जनाएको छ। भविष्यमा विरोध प्रदर्शनमा सहभागी हुँदा कोही पनि सीजेपी अभियानकर्मीविरुद्ध कारबाही नगरिने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ," उनले अगाडि थपे।

एक करोड भारु क्षतिपूर्ति दिने सम्बन्धमा पनि सहमति भएको आशुतोष राङ्काले बताए। केन्द्र सरकारले उक्त क्षतिपूर्ति कानुनबमोजिम उपलब्ध गराइने जनाएको छ।

सरकारी पक्षले के भन्यो?

कक्रोच जनता पार्टीको प्रतिनिधिमण्डलसँगको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डाले शनिवार दुई पक्षबीच लामो कुराकानी भएको जनाए।

"हामीले आज लामो छलफल गर्‍यौँ। उहाँहरूले आन्दोलनका क्रममा दर्ता भएका मुद्दाहरूबारे चारबुँदे लिखित मस्यौदा प्रस्तुत गर्नुभयो। हामीले उहाँहरूका अन्य दुई मागहरू (कुनै पनि प्रतिशोधात्मक कारबाही नगरियोस् र क्षतिपूर्ति प्रदान गरियोस्) तथा उहाँहरूको पाँचबुँदे मागपत्रबारे पनि छलफल गर्‍यौँ," उनले भने।

"हामी उहाँहरूलाई एफआईआरको प्रतिलिपि उपलब्ध गराउने छौँ र उहाँहरूविरुद्ध कुनै कारबाही गरिने छैन। दोस्रो कुरा क्षतिपूर्तिको सन्दर्भमा सरकारले स्पष्ट पारेको छ कि हामी उहाँहरूको भावनाको कदर गर्छौँ। हामी सबैले नियम-कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने कुरामा सहमति जनाएका छौँ। उहाँहरूलाई सम्भव भएसम्मको अधिकतम रकम दिइने छ।"

सोनम वाङ्चुकको प्रतिक्रिया

झन्डै चार साता अनशन बसेका अभियानकर्मी सोनम वाङ्चुकले शिक्षामन्त्रीको राजीनामाको स्वागत गरेका छन्।

"आज जे भयो त्यो लोकतन्त्रको जित हो र यसका लागि म सम्पूर्ण देशवासीहरूलाई बधाई दिन्छु," उनले भने।

म कक्रोच जनता पार्टीको टोलीलाई बधाई दिन चाहन्छु, जसले यो मुद्दालाई सबैभन्दा पहिला उठायो। लोकतन्त्रको पक्षमा उभिएका सबै स्वयंसेवकहरू, विद्यार्थी तथा युवा र वृद्धवृद्धालाई पनि म बधाई दिन्छु।

शान्तिपूर्ण आन्दोलन गरेकोमा उनले सबैको प्रशंसा गरेका छन्। "म आशा गर्छु कि भविष्यमा पनि शान्ति कायम रहने छ र कुनै खालको गलत घटना हुने छैन," उनले भनेका छन्।

देश बन्नलाई राजीनामाले मात्र नभई सुधारको पनि खाँचो भएको वाङ्चुकले उल्लेख गरे। शिक्षा व्यवस्थामा सुधार हुनुपर्ने र त्यस दिशामा काम हुनुपर्नेमा उनले जोड दिए।

जुन उदारताका साथ सरकारले कदम चालेको छ, सोही ढङ्गले शिक्षा र शासन व्यवस्थामा सुधार ल्याइने उनले विश्वास व्यक्त गरेका छन्।

"अब मुलुक डरत्रासले नभई प्रेम र विश्वासका साथ चलाउनुपर्छ अनि देशलाई अन्याय नभई सत्यको बाटोमा डोर्‍याउनुपर्छ," वाङ्चुकले अगाडि थपे।

शिक्षामन्त्रीको राजीनामा

चर्को दबावबीच यसअघि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको घोषणा गरेका थिए।

सामाजिक सञ्जाल एक्समा राजीनामाको घोषणा गर्दै प्रधानले लेखेका थिए, "जन्तरमन्तरमा र देशमा जुन परिस्थिति सिर्जना भएको छ त्यसको फाइदा देश विरोधी शक्तिहरूले नउठाऊन्। देशको एकता कायम रहोस्, भारतका एउटा पनि विद्यार्थीको भविष्य कानुनी उल्झनमा नपरोस्।"

"हाम्रा बच्चाहरूले आफ्नो समय अध्ययनमा लगाउन् करिअरमा ध्यान दिऊन्। यिनै कुरामा विचार गर्दै मैले आफ्नो राजीनामा पत्र सम्माननीय प्रधानमन्त्रीलाई पठाएको छु।"

शिक्षामन्त्री प्रधानको राजीनामाको सीजेपीका साथै विपक्षी दलहरूले पनि स्वागत गरेका छन्।

काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले शिक्षामन्त्रीको राजीनामालाई करोडौँ युवाहरूको जितको सङ्ज्ञा दिएका छन्।

आम आदमी पार्टीका नेता मनीष सिसोदियाले धर्मेन्द्र प्रधानले राजीनामा दिएको नभई विद्यार्थीरूले राजीनामा लिएको भनी टिप्पणी गरेका छन्।

काङ्ग्रेससहितका सबै विपक्षी दलहरू शिक्षामन्त्रीको राजीनामाको पक्षमा उभिएका थिए।

यसअघि भारतका १०० जना अग्रणी लेखक, कलाकार र बुद्धिजीवीहरूले सार्वजनिक परीक्षामा पारदर्शिता, जबाफदेहिता र व्यापक सुधारको माग गर्ने विद्यार्थीहरूको समर्थनमा संयुक्त विज्ञप्ति जारी गरेका थिए।

उक्त विज्ञप्तिमा प्रश्नपत्र चुहावट र परीक्षा प्रक्रियामा भइरहेको निरन्तरको अनियमितताले सार्वजनिक संस्थाहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।