हामी मरणपछि पनि किन मानिसहरूले आफूलाई सम्झियून् भन्ने चाहन्छौँ?

इजिप्टको एक पिरामिड

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शताब्दीऔँदेखि मानिसहरूले आफ्नो विरासत जोगाउने विषयमा चासो दिँदै आएका छन्
    • Author, मोली गोर्मन
    • Role, बीबीसी फ्यूचर
  • Published
  • पढ्ने समय: ८ मिनेट

बुबालाई अल्जाइमर रोग लागेको पत्ता लागेपछि बेथ हन्टरले उनीसँगको कुराकानी रेकर्ड गर्न सकिन्छ कि भनेर सोधिन् ताकि त्यो आउँदा वर्षहरूमा सुन्न सकियोस्।

बुबाले उक्त प्रस्ताव अस्वीकार गरे। हन्टरका अनुसार उनका पिता आफ्ना सम्बन्धबारे गहिरो भावनात्मक कुराकानी गर्ने खालका व्यक्ति थिएनन्। न उनले मृत्युकै बारेमा कुरा गरे। बरु उनले आफ्ना युद्धका कथाहरू लेख्ने कामलाई प्राथमिकता दिए। पहिले स्वयंले हातैले लेखे र पछि अरु कसैलाई टाइप गर्न दिए।

भलै आफूसँग अब समय बाँकी छैन भन्ने दबाब महसुस गर्ने वृद्ध व्यक्तिहरूका लागि आफ्नो विरासत छाड्ने चाहना अझ जरुरी लाग्न सक्छ, तर केही विद्वानका विचारमा त्यस्तो चाहना जीवनको प्रारम्भमै पनि सुरु हुन सक्छ र सायद हुनुपर्छ पनि।

अनि मृत्युपछि भावी पुस्ताका लागि केही छोडेर जाने मानवीय इच्छालाई राम्रोसँग बुझ्ने हो भने त्यसबाट मानसिक स्वास्थ्य सुधार गर्ने नयाँ उपायहरू समेत पत्ता लाग्न सक्ने विभिन्न अनुसन्धानका बढ्दो प्रमाणहरूले सुझाउँछन्।

"अधिकांश मानिसहरूले यसबारे सोच्दैनन्," अमेरिकाको ओहायोस्थित बउलिङ ग्रीन स्टेट विश्वविद्यालयकी सहप्राध्यापक हन्टर भन्छिन्। उनी क्यान्सर भएका मानिसहरूले विरासतबारे कसरी सोच्छन् भन्ने अध्ययन पनि गर्छिन्।

विरासत विभिन्न तरिकाले देखिन सक्छ र कहिलेकाहीँ थाहै नपाइ पनि यो काम हुन सक्छ। "तपाईंलाई थाहा होस् वा नहोस्, सबैले कुनै न कुनै विरासत छाडेर जान्छन्," हन्टर भन्छिन्।

विरासत भनेको केवल धनसम्पत्ति वा घरजग्गाको उत्तराधिकार वा सङ्गीत र लेखनजस्ता सधैँ रहने कलामा मात्र सीमित छैन। बरु केही अनुसन्धानकर्ताहरूले विरासतलाई मुख्यतः तीन आपसमा जोडिएका वर्गमा विभाजन गरेका छन्: जैविक विरासत, जुन हामीले आफ्नो शरीर र आनुवंशिकतामार्फत् छाड्छौँ, भौतिक विरासत, जुन हाम्रो सम्पत्ति र वस्तुहरूसँग जोडिएका हुन्छन् र मूल्यमान्यताहरूको विरासत, जस्तै आस्था, संस्कृति र सम्पदा आदि।

जैविक विरासत

धेरै मानिसहरूका लागि जैविक विरासतको सबैभन्दा स्पष्ट रूप भनेको सन्तान जन्माएर आफ्ना वंशाणुहरू आगामी पुस्तासम्म पुर्‍याउनु हो। तर आनुवंशिक वंश– जसले वंशाणुमार्फत् जोडिएको पुर्खाहरूको निरन्तर श्रृङ्खलालाई जनाउँछ र विरासत– जसले मृत्युपछि पनि बाँकी रहने हाम्रो स्थायी प्रभावलाई जनाउँछ, यी दुई फरक कुरा हुन सक्छन्।

जैविक विरासत छोड्नु भनेको हाम्रो शरीरकै अङ्गहरू छोड्नु पनि हुन सक्छ। अमेरिकामा करिब १७ करोड मानिस अङ्गदाताका रूपमा दर्ता भएका छन्, यद्यपि प्रत्येक १,००० जनामध्ये केवल तीन जनाको मात्र त्यस्तो अवस्थामा मृत्यु हुन्छ जसको सफल अङ्गदान सम्भव हुन्छ।

केही मानिसहरू आफ्नो सम्पूर्ण शरीर नै विज्ञानका लागि दान गर्न चाहन्छन्। त्यो भनेको उनीहरूको शरीर चिकित्साका विद्यार्थीहरूलाई शिक्षा दिन वा नयाँ चिकित्सकीय प्रक्रियाहरू विकास गर्नेजस्ता अनुसन्धानका लागि प्रयोग गरिने छ भन्ने हो। अमेरिकामा सन् २०२१ मा २६,००० भन्दा बढी शरीर दानमा प्राप्त भएका थिए।

हालै बेल्जियममा आफ्नो शरीर दान गर्न नाम लेखाएका १०० भन्दा बढी व्यक्तिमाथि गरिएको एक अध्ययनमा विज्ञानमा योगदान पुर्‍याउने इच्छा नै सबैभन्दा ठूलो प्रेरणा देखियो, जुन ५७ प्रतिशत थियो। अन्य प्रेरणामा परोपकार र स्वास्थ्य सेवाप्रतिको कृतज्ञता थिए। तर रोचक कुराचाहिँ १६ प्रतिशत व्यक्तिले आफ्नो मरणलाई अर्थपूर्ण बनाउन चाहेकाले यस्तो निर्णय गरेको बताएका थिए।

प्रयोगशालामा एक महिला वैज्ञानिक

तस्बिर स्रोत, Getty Images

उक्त कुरा आनुवंशिक रोग वा अस्वस्थ व्यक्तिहरूमा पनि लागू हुन्छ। अभियानकर्मी सुसन पोटरलाई त्यसको चर्चित उदाहरणका रूपमा लिन सकिन्छ। उनलाई क्यान्सर, मधुमेह र अर्थराइटिस् जस्ता विभिन्न समस्या तथा दीर्घरोगहरू थिए। उनले युवा चिकित्सकहरू आफ्नो पेशामा अझ अब्बल बन्न सकून् भन्ने उद्देश्यले आफ्नो शरीर अमेरिकाको कोलोराडोस्थित 'भिजिबल ह्युमन प्रोजेक्ट'लाई दान गरेकी थिइन्।

उनको मामिला अलिकति असामान्य छ किनकि उनले आफ्नो शरीरलाई -९.४ डिग्री सेल्सियस (१५ डिग्री फरेनहाइट) मा चिस्याउन सहमति दिएकी थिइन्, त्यसपछि त्यसलाई २७,००० भागमा टुक्र्याइएको थियो। त्यसपछि प्रत्येक टुक्राको फोटो खिचियो अनि तहतह मिलाएर पुनर्निर्माण गर्दै त्यसलाई 'भर्चुअल क्याडेभर'मा विकास गरियो। त्यो भनेको एउटा थ्री-डी उपकरण हो जसले विद्यार्थीहरूलाई डिजिटल रूपमा शरीरलाई चिरफार गर्न सहज बनाइ दिन्छ।

हन्टरले क्यान्सर "सर्भाइभर'' महिलाहरूमा गरेको भिन्दै एक अध्ययनका सहभागीहरूले आफ्नो विरासतले परिवारका सदस्यहरूलाई सकारात्मक र स्वस्थ व्यवहार अपनाउन तथा क्यान्सर परीक्षण गराउन प्रेरित गरोस् भन्ने आशा राखेका थिए।

"क्यान्सरको निदानपछि सम्भावित मृत्युको सामना गरिरहेका महिलाहरूका लागि कुनै न कुनै छाप छोडेर जाने कुरा महत्त्वपूर्ण थियो," हन्टर भन्छिन्।

उनका अनुसार थप बिरामीहरूलाई क्लिनिकल परीक्षणमा सहभागी हुन प्रेरित गर्न सक्ने भएकाले विरासतको महत्त्वले क्लिनिकल अनुसन्धानमा पनि व्यापक प्रभाव पार्न सक्छ।

विरासतबारेको सोच मृत्युको नजिक पुगेका व्यक्तिहरूका लागि सान्त्वनाको स्रोत पनि बन्न सक्छ।

जीवनको कुनै पनि चरणमा अन्तिम समयको हेरचाहमा रहेका व्यक्तिहरूका लागि कतिपय अस्पताल र सेवा केन्द्रहरूले पनि त्यसतर्फ मद्दत गर्छन्। विरासत सम्बन्धी ती गतिविधिमा डायरी लेख्ने, प्रियजनलाई कार्ड लेख्ने, कलासँग जोडिएका कार्य वा "इथिकल वील" तयार गर्ने काम समावेश हुन सक्छ। "इथिकल वील" भनेको कुनै कानुनी कागजात नभई मानिसहरूले आफ्ना विचार, मूल्य र सुझावहरू लेखेर भविष्यका पुस्तालाई हस्तान्तरण गर्न मिल्ने दस्तावेज हो।

जीवनको अन्तिम अवस्थामा पुगेका वयस्क र बालबालिकामाथिको अनुसन्धानले त्यस प्रकारका गतिविधिहरूले डिप्रेसन र चिन्ता कम गर्न मद्दत गर्न सक्ने देखाएका छन्। यसले जीवनका अन्तिम महिनाहरूमा भावनात्मक पीडाको प्रक्रियालाई सहज बनाउन पनि सहयोग पुर्‍याउन सक्छ।

मूल्यमान्यताको विरासत

परोपकार, सम्पत्तिको हस्तान्तरण वा मूल्यवान् वस्तुहरू छाड्नु आदि सबै भौतिक विरासत छाड्ने तरिका हुन्। फोटो र डायरीजस्ता पारिवारिक इतिहास बोकेका स्मृतिचिन्हहरू पनि भावी पुस्तामा महत्त्वपूर्ण पारिवारिक कथाहरू हस्तान्तरण गर्ने माध्यमका रूपमा उत्तिकै मूल्यवान मानिन्छन्। उदाहरणका लागि, आफ्नो नामको कुनै भवन दान गर्नुले पनि समाजमा स्थायी छाप छोड्छ।

तर अनुसन्धानले देखाएअनुसार मानिसहरूले आफ्नो विरासतका रूपमा सबैभन्दा बढी छाड्न चाहने कुराचाहिँ दयालुपन र अन्यलाई मद्दत गर्नुको महत्त्वजस्ता मूल्यमान्यता र आस्थाहरू हुन्।

विभिन्न उमेर र स्वास्थ्य अवस्थाका ३८ जना महिलामाथिको अध्ययनमार्फत् गरिएको एक अनुसन्धानमा सहभागीहरूले आफ्ना अनुभव र मूल्यहरू अगाडि सार्न चाहेको पाइयो।

आमरूपमा त्यस्ता कुरा उनीहरू आफ्ना व्यवहार, धर्म वा आध्यात्मिकतामार्फत् नैतिक उदाहरण प्रस्तुत गरेर गर्थे वा आफ्ना कथा, पारिवारिक इतिहास वा जीवनका महत्वपूर्ण घटनाहरू लेखेर वा अडिओमा रेकर्ड गरेर व्यक्त गर्ने प्रयास गर्थे, जस्तो कि आत्मकथाका रूपमा।

मूल्यहरूको विरासत छोड्नुले धेरै फाइदा पनि देखाएको छ। अमेरिकाका केही अनुसन्धानकर्ताहरूले मूल्यमान्यताको विरासतसम्बन्धी दस्तावेज तयार पारेका ६५ वर्ष वा सोभन्दा माथिका वयस्कहरूसँग अन्तर्वार्ता गरेका थिए। त्यस क्रममा सहभागीहरूले शान्ति महसुस गर्न सकेको, विगतलाई स्वीकार गर्न सकेको, आफूलाई सबैभन्दा महत्त्वपूर्ण लागेका कुरा व्यक्त गर्न सकेको र यसले जीवन जारी राख्न प्रेरित गरेको पाएको सुनाए।

केही सहभागीहरूले मूल्यहरूको विरासत छोड्ने प्रक्रियालाई ''भौतिक" भनेका थिए। अझ एक जनाले त यसरी वर्णन गरे: "यो प्रक्रियाले तपाईँले केके पार गरेर यहाँसम्म आउनुभयो, जीवनमा कस्ता बाधाहरू आइपरे र तपाईँले कसरी तिनको सामना गर्नुभयो अनि कुन जीवनदर्शनले तपाईँलाई तिनको सामना गर्न मद्दत गर्‍यो भन्ने स्मरण गराउँछ।"

मृत्युको भयको सामना

मानिसहरूले सम्भवतः हजारौँ वर्षदेखि विरासतबारे सोच्दै आएका छन् तर विद्वानहरूले यो अवधारणामाथि अनुसन्धान गर्न थालेका करिब ७५ वर्ष मात्र भयो। सन् १९५० मा जर्मन मनोविश्लेषक एरिक एरिक्सनले 'जेनेरेटिभिटी' भन्ने शब्द प्रयोग गरे, जसले व्यक्तिले अरूको भलाइप्रति र त्यसमा पनि विशेषगरी भावी पुस्ताको हितका लागि कति चासो राख्छ भन्ने कुरालाई जनाउँछ।

उनले 'जेनेरेटिभिटी'लाई आफ्नो मनोसामाजिक विकास सिद्धान्तको आठ अवस्थामध्ये सातौँ चरणका रूपमा समावेश गरे र यो मध्यम उमेरका मानिसहरूको प्रमुख जीवनकार्यमध्ये एक भएको ठाने।

एरिक्सनका अनुसार यदि कुनै व्यक्तिले 'जेनेरेटिभिटी' हासिल गर्न सकेन भने यसले उसको जीवनको आगामी दिशालाई असर गर्न सक्छ र सम्भवतः स्वास्थ्यसमेत कमजोर बनाउन सक्छ। पछि अन्य विद्वानहरूले यस सिद्धान्तलाई विस्तार गर्दै प्रमाण पनि प्रस्तुत गरेका छन्। यद्यपि केहीले 'जेनेरेटिभिटी' केवल मध्यम उमेरका मानिसका लागि मात्र नभई जीवनभर चलिरहने प्रक्रिया हुनुपर्छ भन्ने तर्क पनि गरेका छन्।

मानिसहरूलाई विरासत छाड्न प्रेरित गर्ने अर्को कारण पनि छ, त्यो हो मृत्युको भय।

"यसले मानिसलाई सोच्न बाध्य पार्छ, आखिर मरेरै जानु छ भने जीवनको अर्थ के हो?," नर्थ क्यारोलाइनास्थित ड्यूक विश्वविद्यालयकी प्राध्यापक किम्बली वेड-बेन्जोनी भन्छिन्।

"मृत्यु नै विरासतको प्रेरणा सम्बन्धी मनोविज्ञानको केन्द्रमा छ। जब हामीलाई मृत्युको स्मरण गराइन्छ, हामी सम्झन्छौँ कि हामी मर्न चाहँदैनौँ, बाँच्न चाहन्छौँ।"

उनका अनुसार विरासतबारे सोच्दा मानिसहरूले "मृत्युसम्बन्धी चिन्ता" बाट "मृत्युमाथि चिन्तन"को अवस्थामा पुग्न मद्दत पाउन सक्छन्।

आफ्नो नातीलाई पुस्तक पढेर सुनाइरहेकी एक वृद्धा

तस्बिर स्रोत, Getty Images

अन्य सिद्धान्तकारहरूका अनुसार मृत्युको भय सँगसँगै मानिसको आफ्नो जीवनलाई अर्थपूर्ण कथाका रूपमा देख्ने इच्छा पनि जोडिएर आउँछ।

न्युजिल्यान्डको ओटागो विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक जेसी बेरिङ भन्छन्: "विरासतको चाहनालाई हाम्रो सुसङ्गत कथा सुनाउने आवश्यकताको एउटा भागका रूपमा लिन सकिन्छ।"

"त्यसमा हामी आफूलाई एउटा नायकको यात्राको मुख्य पात्रका रूपमा प्रस्तुत गर्छौँ… र त्यस कथाको शिक्षा वा निष्कर्ष, अथवा भनौँ अन्तिम सन्देश, हामीले 'दर्शक' अर्थात् अर्को पुस्तालाई हस्तान्तरण गर्छौँ।"

उनको विचारमा यसको महत्त्वपूर्ण पक्ष भनेको विरासतप्रतिको हाम्रो आकर्षणले अरूको विचारप्रति गहिरो रूपमा ध्यान दिने मानिसको स्वाभाविकतालाई दर्शाउँछ। "मृत्युका सन्दर्भमा पनि हामी त्यस चिन्ताबाट पूर्ण रूपमा मुक्त हुन सक्दैनौँ।"

मानिसहरूलाई जीवनभर अरूसँगको सम्बन्ध आवश्यक हुन्छ, त्यो सबैले जानेकै कुरा हो। यसले स्वास्थ्यलाई राम्रो त गर्छ नै, खुशीको प्रमुख स्रोत पनि हो। त्यसैले विरासतलाई प्रेम प्राप्त गर्ने मानव आवश्यकताको एक प्रकारको "कृत्रिम विस्तार" पनि मान्न सकिन्छ।

लेख्नुस् आफ्नो 'विरासतसम्बन्धी चाहना'

अनुसन्धानहरू बढ्दै गए पनि हामी किन मृत्युपछि आफूलाई सकारात्मक रूपमा स्मरण गरियोस् भन्ने चाहन्छौँ भन्ने कुरा अझै केही हदसम्म रहस्यमै छ। "आखिरीमा... यदि तपाईंलाई चेतनाको निम्ति मस्तिष्कको खाँचो पर्छ भन्ने लाग्छ भने मृत्युपछि हामीले न त आफ्नै प्रतिष्ठा वा हामीलाई स्मरण गरिएको थाहा पाउन सक्छौँ न नै त्यसको आनन्द लिन सक्छौँ," बेरिङ भन्छन्।

"जीवनभर मृत्युपछि अरूले हामीलाई कसरी सम्झिन्छन् भन्ने कुरामा अत्यधिक चिन्तित हुँदा वर्तमानको सराहाना र आनन्दबाट वञ्चित तुल्याउन सक्छ," उनी तर्क गर्छन्, "साथै यसले हामीलाई महत्त्वपूर्ण निर्णयहरूमा दोधारमा पार्न पनि सक्छ, किनकि हामी भोलि मलाई कसरी सम्झेलान् भन्ने भयले केही नैतिक अडान लिने सन्दर्भमा पनि हिचकिचाउन सक्छौँ।"

यो सत्य हो कि तपाईँ आफ्नो विरासतलाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्नुहुन्न, ड्यूक विश्वविद्यालयकी प्राध्यापक वेड-बेन्जोनी भन्छिन्। "त्यसलाई प्राप्त गर्ने र व्याख्या गर्ने काम त्यसलाई अघि बढाउने मानिसहरूको हातमा हुन्छ।" तर त्यसले विरासतबारे सोच्दा पैदा हुने सकारात्मक प्रभावलाई भने घटाउँदैन, चाहे त्यो व्यक्ति स्वयंका लागि होस् वा वरिपरिका मानिसहरूका लागि।

वेड-बेन्जोनी र उनका सहकर्मीहरू मानिसहरूले सकेसम्म चाँडै आफूले छाड्न चाहेको विरासतबारे सोच्नुपर्ने र जीवनक्रममा आफ्ना "विरासतसम्बन्धी आकांक्षाहरू" लेखेर राख्न पनि सकिने बताउँछन्।

"जब मानिसहरूले आफ्नो विरासतबारे सोच्छन्, उनीहरूले भविष्यका पुस्ताका लागि फाइदाजनक हुने व्यवहार गर्ने सम्भावना बढ्छ," उनी भन्छिन्।

यसले मानिसहरूलाई आफ्नो जीवनभर आफूले छोड्न चाहेको विरासतसँग मिल्ने निर्णयहरू गर्न मद्दत गर्छ। त्यसले परोपकारी व्यवहारलाई प्रोत्साहित गर्छ, उदाहरणका लागि, वातावरणीय अभियान, सम्पत्ति दान वा चिकित्सकीय अनुसन्धानमा सघाउने कार्य आदि।

उद्यमीहरूले पनि नाफाको विषयभन्दा बाहिर गएर समाजमा सकारात्मक योगदान दिने व्यवसाय सिर्जना गर्नेबारे विचार गर्न सक्छन्।

अनुसन्धानकर्ताहरूका अनुसार, यसको फाइदा दुई तहमा हुन्छ; यसले हामीलाई जीवित हुँदा प्रेरणा र जीवनको अर्थ दिन्छ र मृत्युपछि "प्रतीकात्मक अमरता" प्रदान गर्छ, अर्थात् शारीरिक रूपमा अनुपस्थित भए पनि हामी भविष्यमा कुनै न कुनै रूपमा विस्तार हुन्छौँ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।