नेपालमा बाघको कुल सङ्ख्या ४२९, कसरी भयो गणना

तस्बिर स्रोत, BBC Studios
नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
विश्व बाघ दिवसका अवसरमा हालै गरिएको बाघ गणनाको नतिजा बुधवार सार्वजनिक गरिएको हो।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त नतिजा सार्वजनिक गरेकी हुन्।
नेपालमा सन् २००९ देखि चार-चार वर्षमा बाघ गणना नियमित रूपमा गरिँदै आएको छ। यसअघि सन् २०२१ मा बाघ गणना भएको थियो।
उक्त गणनामा नेपालभरि प्राकृतिक वासस्थानमा ३५५ वटा वयस्क बाघ भएको सार्वजनिक भएको थियो। तीमध्ये चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, शुक्लाफाँटामा ३६ र पर्सामा ४१ थिए।
चार वर्षमा उल्लेखनीय वृद्धि
अहिले सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरका क्षेत्रमा पाइएको छ। त्यहाँ १४५ वटा बाघ छन्।
बर्दिया राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा ११२ बाघ गणना भएको छ।
त्यस्तै पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा ७१ अनि बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा वरपरका वन क्षेत्रमा क्रमश: ५१ र ५० बाघ भेटिएका छन्।
सन् २०१० मा विश्वभरि झन्डै ३,२०० वटा मात्र बाघ थिए। तीमध्ये नेपालमा २०१० मा भएको त्यतिबेला प्रकाशित सर्वेक्षणले देखाएको थियो। त्यसपछि नेपालमा बाघको सङ्ख्या क्रमशः बढ्दै गएको छ।
सन् २०१० मा रुमा आयोजित बाघ शिखर सम्मेलनलर विश्वभरि बाघको सङ्ख्या सन् २०२२ सम्म दोब्बर बनाउने लक्ष्य निर्धारण गरेको थियो।
त्यसैअनुरूप नेपालले बाघको संरक्षण र सङ्ख्या वृद्धि गर्न थालेको थियो।
नेपालमा सन् २०१४ मा १९८ वटा र २०१८ मा २३५ बाघ रहेको सरकारी तथ्याङ्कले देखाउँछ।
नेपालले सन् १९९० को दशकदेखि बाघ संरक्षण कार्ययोजना कार्योजना तर्जुमा गरी कार्यान्वयन गर्न थालेको हो।
कसरी भयो गणना

पछिल्लो पटक राष्ट्रिय बाघ सर्वेक्षण २०८२, पुस १ गतेदेखि सुरु भएर २०८३ सालको वैशाख १० गते सम्पन्न भएको थियो।
नेपालमा बाघ पाइने पाँचवटा निकुञ्जहरू तथा वरपरका वन क्षेत्रमा क्यामरा ट्र्यापिङ विधिबाट बाघ गणना गरिएको विभागले बताएको छ।
उक्त अभियानअन्तर्गत बाघका वासस्थानलाई तीनवटा 'कम्प्लेक्स'मा विभाजन गरिएको थियो – चितवन-पर्सा कम्प्लेक्स, बाँके-बर्दिया कम्प्लेक्स, र शुक्लाफाँटा-लालझाडी कम्प्लेक्स।
"हरेक कम्प्लेक्सलाई दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइमा वर्गाकार ग्रिड बनाई हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामरा जडान गरी निरन्तर रूपमा कम्तीमा दुई सातासम्म राखिएको थियो। सर्वेक्षणका क्रममा कुल ७,३९३ वर्ग किलोमिटर क्षेत्रफलमा १,८४८ वटा ग्रिडमा कुल ३,६९६ वटा स्वचालित क्यामरा प्रयोग गरिएको थियो," विभागले भनेको छ।
ती क्यामराबाट प्राप्त बाघका तस्बिरहरूलाई तिनका शरीरका पाटाहरूको आधारमा विश्लेषण गरिएको जनाइएको छ।
यसपालि बाघ गणनामा ठूलो सङ्ख्यामा प्राविधिकहरू,कर्मचारीहरू र स्थानीय स्वयंसेवकहरू परिचालित भएका थिए।
गणनाका लागि नेपाल सरकार र दातृनिकायहरूले सहयोग गर्दै आएका छन्।
पूर्ण प्रतिवेदन आउन बाँकी
ती विश्लेषणका आधारमा नेपालमा बाघको कुल सङ्ख्या ४०२ देखि ५०० सम्म हुन सक्ने अनुमान गरिएको छ।
बाघको घनत्व, अक्युपेन्सी र आहारा प्रजातिको सर्वेक्षणबाट प्राप्त तथ्याङ्कको थप विश्लेषण गरी पूर्ण प्रतिवेदन छिट्टै प्रकाशन हुने विभागले बताएको छ।
"यो नतिजाले नेपालमा बाघ संरक्षणका क्षेत्रमा विगतदेखि सञ्चालन हुँदै आएका वासस्थान संरक्षण तथा व्यवस्थापन, चोरीसिकार नियन्त्रण, आहारा प्रजातिको संरक्षण, जैविक मार्ग संरक्षणजस्ता प्रयासहरूको सकारात्मक परिणामलाई प्रतिबिम्बित गर्छ," उपमहानिर्देशक तथा प्रवक्ता वेदकुमार ढकालद्वारा जारी विभागको विज्ञप्तिमा उल्लेख छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















