तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लाओसको बाढीग्रस्त गुफाबाट शनिवार थप चारजनाको उद्धार, दुईजना अझै बेपत्ता
- Author, डान सेल्स
- Published
- पढ्ने समय: २ मिनेट
लाओसको बाढीग्रस्त गुफाभित्र १० दिनदेखि फसेका चारजना पुरुषहरूलाई मुक्त गरिएको थाई उद्धारकर्ताहरूले बताएका छन्। शुक्रवार समेत त्यहाँ एकजनाको उद्धार गरिएको थियो।
मे २० तारिखमा अचानक बाढी आउनुअघि ती मानिसहरू मध्य साइसोम्बुन प्रान्तको एक दुर्गम पहाडी भेगमा अवस्थित गुफाभित्र साँघुरो सुरुङमार्फत सुनको खोजीमा गएका थिए। तर बाढी पसेसँगै उनीहरू त्यहीँ अड्किएका थिए।
त्यसरी गुफाभित्र छिर्ने लाओसका सातजना नागरिकहरू थिए।
बुधवार उद्धारकर्ताहरूले केवल पाँचजना जीवित फेला पारेका थिए। दुई जना अझै बेपत्ता छन्।
थाइल्याण्ड रेस्क्यू डाइभरले आफ्नो फेसबुक पेजमा गरेको एक पोस्ट अनुसार शनिवार स्थानीय समय अनुसार दिउसो करिब ३ बजेर १० मिनेट जाँदा ती चार जना पुरुषहरूलाई सफलतापूर्वक उद्धार गरिएको थियो।
उनीहरूलाई कसरी सुरक्षित स्थानमा ल्याइयो भन्ने कुरा अझै खुलाइएको छैन।
भावुक क्षण
थाई उद्धारकर्मीको सामाजिक सञ्जाल पेजहरूमा पोस्ट गरिएको एउटा अप्रमाणित भिडियोमा चार जना पुरुषहरू बिस्तारै गुफाबाट बाहिर निस्कँदा खोजकर्ता र बाहिरपट्टि उपस्थित मानिसहरू खुसीले चिच्याएको सुन्न सकिन्छ।
तीमध्ये एकजना पुरुष अस्थायी मेडिकल टेन्टमा लगिँदै गर्दा मुस्कुराइरहेका थिए।
बाँकी तीन जना भावुक हुँदै उद्धारकर्तालाई अँगालो हालिरहेको देखिन्थ्यो।
एकजना यसअघि फसेका एक खानी कामदारलाई अँगालो हाल्दै रोए।
ती चारजना पुरुषहरूलाई स्ट्रेचरमा सुताएर फोइल कम्बलले छोप्दै स्वास्थ्यजाँच गरिएको देखिन्थ्यो।
कठिन उद्धार
उद्धारमा खटिएका गोताखोरहरूले बुधवार गुफाको मुखबाट ३०० मिटर पर एकसाथ सकसपूर्ण अवस्थामा पाँच जनालाई जीवितै देखेका थिए।
जमिनमुनि भित्रैसम्म फैलिएको उक्त गुफाको सञ्जाल अत्यन्तै साँघुरो छ।
त्यसका केही कोठा करिब ५० सेन्टिमिटर मात्र चौडा रहेको उद्धारकर्ताहरूले बताएका छन्।
दुर्गम पहाडी क्षेत्रमा जारी उद्धार कार्य सीमित समयबीच चलिरहेको छ।
शुक्रवार साँझ त्यहाँका ६० प्रतिशत क्षेत्रफलमा मेघ गर्जनसहितको वर्षा आँधीबेहरी आउने पूर्वानुमान गरिएको थियो।
बुधवार देखा पर्ने क्रममा खिचिएको फुटेजमा पाँच जना पुरुषहरू दयनीय अवस्थामा हिलोमा गडेको देखिएको छ। उद्धारकर्ताहरूलाई उनीहरूले छाती दुखेको र भोकाएको बताएका थिए।
के गरियो?
विज्ञहरूले सुरुमा उद्धारका लागि बाढीको पानी बाहिर निकाल्ने योजना बनाए। त्यसले मानिसहरूलाई सुरक्षित स्थानमा जान रोकिरहेको थियो।
उक्त योजना सुरुमा असफल भयो र फसेका मानिसहरूलाई स्कुबा डाइभ गर्ने र पौडी खेल्ने तरिका सिकाउने अन्तिम उपायबारेमा छलफल गरिएको थियो।
सबैभन्दा पहिले उद्धार गरिएका व्यक्तिलाई समेत कसरी सुरक्षित स्थानमा ल्याइएको थियो भन्ने अझै बताइएको छैन।
मानिसहरू गुफामा फसेको यस भयानक घटनाले अन्तर्राष्ट्रिय गोताखोर समुदायको क्षमता समेत दर्साएको छ।
त्यहाँ थाइल्याण्ड, इन्डोनेशिया, फ्रान्स र अस्ट्रेलियाका विशेषज्ञ गोताखोरहरू सहायताका लागि आएका छन्।
यस उद्धारकार्य सन २०१८ मा १८ दिनसम्म गुफामा फसेका थाई युवा फुटबल टोलीको घटनासँग मिल्दोजुल्दो छ।
फिनिश गोताखोर मिको पासी त्यस उद्धार र हालको लाओसमा जारी आपत्कालीन सहायतामा सङ्लग्न छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।