छिटो आएको एसईईको नतिजाले के फरक पार्छ

एसईई

तस्बिर स्रोत, Nepal Photo Library

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ३ मिनेट

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अघिल्लो वर्षभन्दा करिब डेढ महिना अगावै सार्वजनिक हुँदा त्यसले खासगरी विद्यार्थीलाई जाँचपछिको समयमा रहने मनोवैज्ञानिक चापमा कम गर्न सहयोग गर्ने र शैक्षिक संस्थाहरूलाई पाठ्यक्रम पूरा गर्न राहत दिने अधिकारी तथा विज्ञहरूले बताएका छन्।

बीबीसीसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले यसलाई क्रमश: पूरै विद्यालय शिक्षालाई एउटा समयमा सुरु र अन्त्य हुने सत्रमा सञ्चालन गर्ने तयारीका रूपमा हेरिएको बताउँछन्।

"कक्षा १ देखि १२ सम्म विद्यालय शिक्षा भएकाले त्यसलाई दुईवटा सत्र किन गर्ने! सबैलाई विस्तारै तान्दै वैशाखमा सुरु गरेर चैतमा सक्ने भन्ने लक्ष्य हो," सचिव पौडेल भन्छन्। "त्यसो हुँदा क्रेडिट अवधि नपुग्ने भन्नै समस्या पनि कतै रहँदैन।"

प्रतिनिधिसभाको पछिल्लो आमनिर्वाचनका कारण गत एसईईको परीक्षा नै करिब डेढ साता ढिलो गरी भएको थियो।

विगतमा गरिने कोडिङ विधि पन्छाउँदै परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गर्दा एक महिनामै यस पटक नतिजा सार्वजनिक भएको देखिन्छ।

४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी भएको २०८२ सालको एसईई परीक्षामा २ लाख ८४ हजार विद्यार्थी कक्षा ११ पढ्न पाउने 'ग्रेड' ल्याउन सफल भए।

नियमिततर्फका ती विद्यार्थीमध्ये १ लाख ४६ हजार ५०७ जनाले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

असारबाट कक्षा ११ को सत्र

शिक्षा मन्त्रालय

तस्बिर स्रोत, Ministry of Education, Science & Technology

यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी माथिल्लो तह अर्थात् कक्षा ११ पढ्न पाउने 'ग्रेड' ल्याउन सफल भए। जुन अघिल्लो वर्षको तुलनामा करिब ४ प्रतिशत बढ्ता हो।

"शैक्षिक क्यालेन्डरसँग मेल खानेगरी नतिजा छिटै सार्वजनिक गर्नुपर्छ भन्ने सरकारको लक्ष्य हो," राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याल भन्छिन्।

"ग्रेड वृद्धि परीक्षा असार १ गतेदेखि हुने भनेका छौँ। त्यसमा अहिलेको भन्दा पनि छिटो नतिजा दिनुपर्छ भन्ने छ।"

तर यस वर्ष कक्षा ११ को शैक्षिक क्यालेन्डर अझै नआइसकेको बताइएको छ। जेठ १ गतेबाट कक्षा ११ को परीक्षा तोकिएको छ।

"त्यस लगत्तै कक्षा ११ मा पढाइका लागि विद्यालयहरू खाली हुन्छन्। त्यसपछि वहाँहरू भर्ना अभियानमा लाग्नुहोला," प्रवक्ता सत्याल भन्छिन्।

शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले अबको "दुई-तिन दिनभित्रै" कक्षा ११ को शैक्षिक क्यालेन्डर जारी गर्ने काम हुने बताउँछन्।

"यो वर्ष सम्भवतः कक्षा ११ को सत्र असारबाट सुरु गर्छौँ होला," सचिव पौडेल भन्छन्।

नयाँ सरकारले कक्षा १२ को परीक्षाफल समेत डेढ महिनाभित्रै सार्वजनिक गरिने दाबी गर्दै आएको छ।

परीक्षा बोर्डकी प्रवक्ता सत्यालले यतिखेर सरकारले सातामा दुई दिन सार्वजनिक बिदा समेत दिइराखेको अवस्थामा छिटो परीक्षाफल सार्वजनिक गर्ने कदम झन् बढ्ता औचित्यपूर्ण देखिएको बताउँछिन्।

'हाउगुजी हटाउने प्रयास'

विद्यालय शिक्षाका एकजना जानकार धनन्जय शर्मा एसईईको नतिजा ढिलो हुँदा त्यसबीचको समयमा विद्यार्थीमा मनोवैज्ञानिक दुष्प्रभावहरू बढ्ता देखा पर्ने जोखिमलाई नयाँ अवस्थाले कम गर्ने औँल्याउँछन्।

"अर्को महत्त्वपूर्ण प्रभाव समयमै भर्ना हुन पाउने र समयमै पढाइ पूरा गर्न पाउने अवसर हुनु हो। नत्र पहिले पहिले कोर्स सक्नै गाह्रो हुने, अथवा शिक्षकहरूले बलजफती पढाएर सक्ने काम हुने गर्थ्यो," शर्मा भन्छन्।

शर्माले यसपटक विगतमा जस्तो 'कोडिङ-डिकोडिङ गरेर निकै गोपनीयतासाथ हुने उत्तरपुस्तिका जाँच' नभएको परिस्थितिलाई नयाँ पक्षका रूपमा औँल्याउँछन्।

यसपटक छिटो नतिजा सार्वजनिक गर्नका लागि परीक्षा भएका केन्द्रका रोस्टरमा भएका शिक्षकहरूलाई नै त्यहीँ सिधै जाँच गर्ने व्यवस्था गरिएको थियो।

"यसले एसईईलाई फलामे ढोका भन्दै हाउगुजीका रूपमा विद्यार्थीलाई तर्साउने विगतको प्रवृत्तिलाई तोड्यो," शर्मा भन्छन्।

"त्यसै पनि विगतमा नतिजा नआउँदै कतिपय राम्रो अङ्कको अपेक्षा गर्ने विद्यार्थीलाई स्कुलकै राम्रो अङ्कका आधारमा प्लसटु तथा ए लेवल कलेजले भर्ना लिइसक्ने गर्थे। यसले सबैलाई त्यस्तो अवसर दिने भयो।"

त्यसो भनेर उनले ग्रेड वृद्धि परीक्षासमेत छिट्टै गरेर नतिजा सार्वजनिक गर्दा उनीहरूसमेत समयमै कक्षा सुरु गर्न सक्ने बताउँछन्।

"अन्यथा ग्रेड वृद्धि परीक्षाको नतिजा दशैँको मुखमा हुन्थ्यो। दशैँ-तिहारको छुट्टीले उनीहरूका लागि झन् तालिकामा असर पर्थ्यो," धनन्जय शर्मा भन्छन्।

परीक्षा बोर्डकी प्रवक्ता सत्यालले यसपटक ढिलोमा "साउनबाटै नियमित र ग्रेडवृद्धिको परीक्षा दिनेहरू" कक्षा सुरु गर्न सक्ने बताउँछिन्।

विगतमा धेरैजसो असारको अन्त्यतिर मात्र नियमिततर्फकै नतिजा सार्वजनिक हुने गरेको देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।