तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अघिल्लो सातासम्म सांसद समेत नरहेका व्यक्ति यूकेमा प्रधानमन्त्रीका दाबेदार
- Author, क्रिस मेशन
- Role, राजनीतिक सम्पादक
- Published
- पढ्ने समय: ३ मिनेट
यूकेको प्रधानमन्त्री पदबाट किअर स्टार्मरले राजीनामाको घोषणा गरेसँगै अबको प्रधानमन्त्री बन्ने ठानिएका व्यक्तिले उपनिर्वाचनमा जितपछि सांसद पदको सपथ लिएका छन्।
सोमवारका दुई वटा घटनाले अबका सम्भावित महत्त्वपूर्ण दुई परिणामको स्पष्ट सङ्केत गरेका छन्।
स्टार्मरले आफ्नो बहिर्गमनको समय तालिका बनाएसँगै वेस स्ट्रीटिङले एन्डी बर्नमलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा समर्थन गर्ने घोषणा गरेकी छन्।
ग्रेटर म्यान्चेस्टरका पूर्व मेअर बर्नम सोमवार मात्रै उपनिर्वाचन जितेर सांसद बनेका हुन्।
यसले अब स्टार्मरपछि अब छिट्टै यूकेको प्रधानमन्त्री को हुन्छन् भन्ने सम्भावित सङ्केत देखाइसकेको छ।
बर्नम चार वर्षमा यूकेको प्रधानमन्त्री बन्ने पाँचौँ व्यक्ति हुने प्रतीक्षामा छन्।
मेकरफिल्डको नयाँ सांसद बनेका बर्नम सयौँ लेबर सांसदको माझमा घेरिएर मुस्काइरहेका तस्बिरहरू सार्वजिनक भएका छन्। अर्कोतर्फ किअर र उनकी पत्नी भावुक देखिन्छन्।
बर्नमको कार्यक्रममा अर्थमन्त्री रेचल रिभ्सको उपस्थिति आफैँमा महत्त्वपूर्ण थियो। उनी प्रधानमन्त्रीले राजीनामाको योजना गर्दा अरू वरिष्ठ मन्त्रीहरूसँग देखिएकी थिइनन्।
केही वरिष्ठ नेताहरूले आगामी सरकारमा पनि आफ्नो जिम्मेवारीमा निरन्तरता पाउने अपेक्षा गरेका छन्। अहिले उनीहरूले प्रभावित पार्नु पर्ने व्यक्ति नयाँ छन्।
रिभ्सलाई नयाँ सरकारमा पनि अर्थ मन्त्री बनाउनुपर्ने पक्षका व्यक्तिहरूले उनले बजारको विश्वास कायम राखेको र त्यसले बर्नमलाई पनि सहयोग पुर्याउन सक्ने तर्क गर्छन्।
तर उनी स्टार्मरको प्रशासनसँग निकै नजिक भएकाले बर्नमले उनलाई निरन्तरता दिने सम्भावना कम रहेको बताउनेहरू पनि छन्।
कतिपयले स्ट्रीटिङले उनको स्थान लिन सक्ने आकलन पनि गरेका छन्। यद्यपि स्ट्रीटिङले बर्नमबाट आफूलाई पद प्रस्ताव गरिएको अस्वीकार गरेकी छन्।
सोमवारको नाटकीय घटनाक्रमपछि अब लेबर पार्टी र बर्नमबारे पनि विभिन्न प्रश्न उठ्न थालेका छन्।
अघिल्लो आम निर्वाचनसम्म पनि सांसदको उम्मेदवार नभएको र अघिल्लो सातासम्म पनि सांसद नभएको व्यक्ति अर्को महिनाभित्र प्रधानमन्त्री हुन सक्छन्।
एक जना मन्त्रीका अनुसार उनी यसअघि पनि दुई पटक लेबर पार्टीमा नेतृत्वको उम्मेदवार बनेका थिए। तर उनी पराजित भए।
त्यसो भए अहिले बर्नमप्रतिको आकर्षण के हो?
छोटकरीमा उनी अहिले विजयी र स्टार्मर पराजित व्यक्ति जस्ता देखिएका छन्।
अनि उनी यसअघिको स्थानीय निर्वाचनमा राम्रो जित हासिल गरेको रिफर्म यूके पार्टीका उम्मेदवारलाई पनि पराजित गरेर आएका छन्। संसद्मा पुग्नका लागि त्यो जित उनका लागि आफैँमा कठिन थियो।
तर बर्नमले अब सरकारमा गएर के गर्छन् भन्ने धेरैलाई थाहा छैन। "लेबर पार्टीका सांसद्हरू यस्तो रेलमा चढ्न लाग्दैछन् जसको गन्तव्य उनीहरूलाई नै थाहा छैन," उनीबारे एक जनाले सुनाए।
उनले उपनिर्वाचनका क्रममा केही योजनाहरू अघि सारेका थिए।
तर ती स्थानीय मुद्दा मात्रै थिए। किनभने उनलाई त्यो चुनाव जित्न जरुरी थियो।
स्टार्मरको राजीनामाबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले मानिसहरूले "आर्थिक वृद्धि, जीवनयापनको खर्च, सार्वजनिक सेवा, आवास र आगामी पुस्ताका अवसरमा प्रगति हेर्न चाहेको" बताएका छन्।
तर त्यो कसरी हासिल गर्ने भन्ने विषय अब गहन परीक्षणमा पर्नेछ।
विस्तृत योजनाको अभाव र सीमित समयले पार्टीभित्र केहीलाई असहज बनाइरहेको छ। लेबर पार्टीकै केही सांसदहरूले प्रधानमन्त्रीका प्रमुख सचिवसँग कुरा गरेर फेरी स्टार्मरलाई नै बर्नमविरुद्ध प्रतिस्पर्धामा आउन भनिरहेका छन्।
उनका नजिकका व्यक्तिहरूका अनुसार त्यो सम्भावना कम छ। तर उनले अहिलेसम्म यसलाई पूरै अस्वीकार पनि गरेका छैनन्।
अबको अर्को निर्णायक क्षण भनेको बर्नमले आफ्नो स्पष्ट नीति र दृष्टिकोण सार्वजनिक रूपमा प्रस्तुत गर्ने समय हुनेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।