किन लुम्बिनी आइरहन्छन् संयुक्त राष्ट्रसङ्घका महासचिवहरू

तस्बिर स्रोत, RSS
- Author, माधव नेपाल
- Role, बुटवल, बीबीसी न्यूज नेपाली
- Published
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसङ्घले निरन्तर चासो राख्दै आए पनि नेपाल सरकारले भने लुम्बिनीको विकासलाई भन्दा आफ्ना नजिकका मान्छेलाई लुम्बिनीमा जागिर खुवाउने कामलाई प्राथमिकता दिँदै आएको सरोकारवालाहरूले बताएका छन्।
"सरकार परिवर्तन हुने बित्तिकै लुम्बिनी विकास कोषमा भर्ती हुने मान्छेहरूको लाइन लाग्न थाल्छ," स्थानीय पत्रकार प्रह्लाद यादव भन्छन्।
"त्यो बेला सरकारले क्षमता खोज्दैन आफ्ना पार्टीका मान्छे खोज्छ। अनि पार्टीका मान्छेहरू लुम्बिनीप्रति नभएर आफ्नै पार्टी प्रति प्रतिबद्ध हुन्छन्।"
अहिले लुम्बिनी विकास कोषको कार्यकारी पद उपाध्यक्षमा सरकारले "विवादास्पद" पूर्वमन्त्री ल्हारक्याल लामालाई नियुक्त गरेको छ।
माओवादीनिकट लामामाथि केही वर्ष पहिले आर्थिक अनियमितता गरेको तथा आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लागेको थियो।
त्यस्तै अरू पदाधिकारी तथा सदस्यहरू पनि लुम्बिनी बुझेकाभन्दा पार्टी बुझेका भएको आरोप लाग्दै आएको छ।
"लुम्बिनी विकास कोषलाई पार्टी कार्यकर्ताको भर्ती केन्द्रबाट अलग नगरिँदासम्म संयुक्त राष्ट्रसङ्घले जति चासो दिए पनि केही हुनेवाला छैन," यादव भन्छन्। "जुनसुकै दलको सरकार आए पनि सरकारमा लुम्बिनी बनाउँ भन्ने सोच नै देखिन्न।"
लुम्बिनी विकास कोषका अनुसार आजसम्म संयुक्त राष्ट्रसङ्घका ६ जना महासचिवहरू लुम्बिनी आएका छन्।
पछिल्लो पटक संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले यसै साता लुम्बिनीको भ्रमण गरेका थिए ।
राजा महेन्द्रले खोलेको बाटो

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईका अनुसार सन् १९५६ मा काठमाण्डूमा आयोजना गरिएको विश्व बौद्ध सम्मेलनमा सहभागी हुन आएका विदेशी पाहुनालाई तत्कालीन राजा महेन्द्रले लुम्बिनीको भ्रमण गराएका थिए ।
"विदेशी पाहुनालाई राजाले लुम्बिनी भ्रमण गराएपछि लुम्बिनीप्रति विश्वको चासो बढ्न थालेको देखिन्छ," भट्टराई भन्छन्।
"महेन्द्र लुम्बिनी आउने पहिलो नेपाली राजा पनि हुन्।"
विश्व बौद्ध सम्मेलन लगत्तै सन् १९५९ मा संयुक्त राष्ट्रसङ्घका दोस्रा महासचिव ड्याग हामरशोल्ड लुम्बिनी भ्रमणमा आएका थिए।
लुम्बिनी विकास कोषका अनुसार हामरशोल्ड लुम्बिनी आउने राष्ट्रसङ्घका पहिलो महासचिव हुन्।
नेपालले सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरेको थियो।
उत्थानले लिएको चासो

तस्बिर स्रोत, RSS
"लुम्बिनीमा अशोक स्तम्भ बनाउने सम्राट अशोक र तत्कालीन संयुक्त राष्ट्रसङ्घका महासचिव उ थान्तको नाम छुटाउने हो भने आधुनिक लुम्बिनीको परिकल्पना नै गर्न सकिन्न," लुम्बिनी बौद्ध विश्व विद्यालयका प्राध्यापक तथा वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारी भन्छन्।
"उ थान्त लुम्बिनी नआएको भए आज यो रूपमा लुम्बिनी देख्न प्राय सम्भव थिएन।"
लुम्बिनी विकास कोषका अनुसार संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्त सन् १९६७ को एप्रिल महिनामा लुम्बिनी आएका थिए।
"उ थान्त लुम्बिनी आएपछि नै आधुनिक लुम्बिनीको विकास भएको हो," बिडारी भन्छन्।
"उ थान्तकै पहलमा लुम्बिनी अन्तर्राष्ट्रिय विकास समिति गठन भएको हो र उनकै पहलमा लुम्बिनी विकासको गुरुयोजना पनि सुरु भएको हो।"
अहिले लुम्बिनी अन्तर्राष्ट्रिय विकास समितिमा १५ सदस्य राष्ट्रहरू छन् ।
"लुम्बिनी संयुक्त राष्ट्रसङ्घकै एक प्रोजेक्ट हो," बिडारी थप्छन्, "आफ्नो प्रोजेक्ट प्रति संयुक्त राष्ट्रसङ्घको चासो हुनु अति स्वाभाविक पनि हो।"
उ थान्तको पहलमा जापानका प्राध्यापक केन्जो टाङ्गेले लुम्बिनी विकासको गुरुयोजना बनाएका थिए।
कोषाध्यक्ष भट्टराईका अनुसार केन्जोले बनाएको उक्त गुरुयोजनालाई संयुक्त राष्ट्रसङ्घले पारित गरेर कार्यान्वयनमा ल्याएको हो।
अधुरो गुरुयोजना

तस्बिर स्रोत, RSS
सन् १९७८ बाट गुरुयोजनाका कामहरू सुरु भए पनि अहिले सम्म सम्पन्न भने भएका छैनन्।
कोषले गुरुयोजना अनुसार करिब ७५ प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै आएको छ।
"नेपाल सरकारले गएको ३ वर्षअघि गुरुयोजनाका बाँकी कामलाई राष्ट्रिय गौरवको योजनाको रूपमा अगाडि बढाउने भन्दै स्रोत सुनिश्चित गरेको थियो," कोषाध्यक्ष भट्टराई भन्छन्।
"तर अहिले सरकारले त्यस अनुसारको बजेट नै दिएको छैन।"
गत वर्ष बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले सन् २०२५ भित्र गुरुयोजनाका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो।
भट्टराई भन्छन्, "तर सरकारले गरेको बजेट कटौतीका कारण लक्ष्य अनुसारको काम गर्न सहज देखिन्न।"
लुम्बिनी विकास कोषका अनुसार उ थान्तपछि संयुक्त राष्ट्रसङ्घका महासचिवहरू कर्ट वाल्डहाईम सन् १९८१ को फेब्रुअरी, हाभिएर पेरेज डि कोयार सन् १९८९को मार्च तथा बान की मुन सन् २००८ को नोभेम्बरमा लुम्बिनी आएका थिए।
युनेस्कोले सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


























