की ह्वुई क्वान: शरणार्थी हुँदै ओस्कर विजेतासम्मको यात्रा

की ह्वुई क्वान
तस्बिरको क्याप्शन, की ह्वुई क्वानले एभ्रीथिङ एभ्रीह्वेअर अल एट वान्सबाट उत्कृष्ट सह अभिनेताको पुरस्कार जितेका हुन्
Published

"आमा, मैले भर्खरै ओस्कर जितेँ! उनीहरू भन्छन् कि यस्तो कथा चलचित्रमा मात्रै हुने गर्छ। म विश्वास गर्न सकिरहेको छैन् कि यो मेरो हकमा भइरहेको छ।"

भावुक भएका की ह्वुई क्वानले लस एन्जलसमा भएको ९५औँ ओस्कर समारोहमा गहभरि आँसु पार्दै यी धारणा राखेका हुन्।

आफ्नी आमा र परिवारका बाँकी सदस्यलाई धन्यवाद दिँदै भियतनामी मूलका अमेरिकी अभिनेताले उक्त सम्मान आफ्नी श्रीमतीलाई समर्पित गरे।

“म सबैथोक मेरो जीवनकी मायालु, मेरी श्रीमती एको, जसले मलाई २० वर्षसम्म प्रत्येक महिना र वर्ष एक दिन मेरो समय आउँछ भनेर निरन्तर भनिरहिन्, तिनलाई समर्पित गर्न चाहन्छु,” उनले भने।

आफूलाई स्वागत गर्नेहरूलाई धन्यवाद दिँदै उनले सबैलाई सपना देखिरहन पनि आग्रह गरे।

एभ्रीथिङ एभ्रीह्वेअर अल एट वान्सको दृश्य
तस्बिरको क्याप्शन, एभ्रीथिङ एभ्रीह्वेअर अल एट वान्सको दृश्य

रोमाञ्चक कथा

यो वर्षको ओस्कर दौडमा रहेका कलाकारमध्ये क्वानको कथा सबैभन्दा चाखलाग्दोमध्येमा पर्छ।

खचाखच भरिएको डुङ्गा चढेर सन् १९७० को अन्त्यतिर आफ्नो परिवारसहित भियतनाम छाड्दा उनी सात वर्षका थिए।

उनी आफ्ना पितासहित हङकङ पुगे भने उनकी आमा र परिवारका अन्य सदस्य मलेशिया गए।

सन् १९७९ मा परिवार अमेरिकामा बसाइँ सरेपछि परिवारमा पुनर्मिलन सम्भव भयो।

उक्त कदम ‘आघात पुर्‍याउने खालको’ रहेको उनले बताएका छन्।

“हामी शरणार्थी बन्न पुगेका थियौँ,” क्वानले अघिल्लो वर्ष गार्डियन पत्रिकालाई भनेका थिए।

"कसैले पनि हामीलाई रुचाउँदैन थिए। उनीहरूले हामीलाई ‘भर्खरै डुङ्गाबाट झरेका मानिस भन्थे।’ विद्यालयमा हुँदा हामीलाई मजाक बनाइन्थ्यो। त्यसले एउटा बालकको मस्तिष्कमा कस्तो प्रभाव पार्छ तपाईँ कल्पना गर्न सक्नुहुन्छ।"

ह्यरिसन फर्डसँग ईण्डियाना जोन्स एण्ड द टेम्पल अफ डुममा क्वान
तस्बिरको क्याप्शन, ह्यरिसन फर्डसँग ईण्डियाना जोन्स एण्ड द टेम्पल अफ डुममा बाल कलाकार क्वान
रेखा
रेखा

तर उनको जीवनमा केही समयपछि नै बदलाव आयो। १२ वर्षको हुँदा उनी आफूभन्दा कान्छा भाइलाई इन्डियाना जोन्सको अडिसनमा समर्थन गर्न गएका थिए।

क्वानले अडिसनमा सहभागी हुने लक्ष्य पालेका थिएनन्। तर कास्टिङ निर्देशकले प्रयास गर्न उनलाई पनि सुझाव दिए।

सन् १९८५ मा स्पीलवर्गसँग क्वान
तस्बिरको क्याप्शन, स्पीलवर्ग र क्वान

बालअभिनेताका रूपमा स्टिभन स्पीलबर्गले उनलाई इन्डियाना जोन्स दोस्रो चलचित्रमा खेलाए।

सन् १९८४ मा बनाइएको उक्त चलचित्र थियो, इन्डियाना जोन्स एन्ड द टेम्पल अफ डुम।

ओस्कर
तस्बिरको क्याप्शन, ओस्कर समारोहमा स्पीलवर्गसँग क्वान

त्यसबेला उनको अर्को महत्त्वपूर्ण भूमिका सन् १९८५ को चलचित्र द गूनीजमा रह्यो।

तर काम पाउन छाडेपछि सन् १९९० को अन्त्यमा उनले अभिनय क्षेत्र त्यागे।

रेखा
रेखा
की ह्वुई क्वान
तस्बिरको क्याप्शन, ओस्करपाएपछिको प्रशन्नता व्यक्त गर्दै की ह्वुई क्वान

सन् २०२० मा उनलाई एभ्रीथिङ एभ्रीह्वेअर अल एट वान्समा अभिनेत्री मिसेल योहका श्रीमान्‌को भूमिकामा चयन गरिएपछि सबैथोक बदलियो।

सन् २०२३ को ओस्कर समारोहअघि बीबीसीसँग कुरा गर्दै उनले चलचित्रको सफलताबाट आफू प्रसन्न रहेको बताएका थिए।

उनका अनुसार सो चलचित्रले दिएको सन्देशले मानिसहरूको मन छोएको थियो। “त्यो दया, प्रेम, परिवार र करुणासँग सम्बन्धित छ,” उनले भनेका थिए।

उनले भने, “म १२ वर्षको थिएँ जुन बेला स्टीभन स्पिलवर्ग र जोर्ज लुकासले ह्यारीसन फोर्डसँगै इन्डियाना जोन्समा काम गर्ने एउटा एशियाली केटा खोजिरहेका थिए। त्यो मेरो पहिलो चलचित्र थियो। ३८ वर्ष पहिला त्यस्तो भएको थियो र त्यो चलचित्रले मेरो जिन्दगी नै बदलिदियो।”

सन् १९८४ मा लस एन्जेलसमा एउटा चलचित्र अवार्ड कार्यक्रममा
तस्बिरको क्याप्शन, सन् १९८४ मा लस एन्जेलसमा एउटा चलचित्र अवार्ड कार्यक्रममा

क्वानले आफ्नो किशोरावस्था सकिन लागेको समय वा २० वर्ष पुगेपछिका शुरूका वर्षहरूमा आफ्ना एजेण्टबाट थप अडिसन अवसरका लागि फोन आउला कि भनेर आफूले लामो समय कुरेर बिताएको पनि सम्झना गरे।

“तर मैले कुनै बाटो देखिनँ। मेरा लागि सहज देखिएन। मलाई लाग्यो म चाहिए जति आकर्षक रहेनछु। म त्यति अग्लो पनि थिइनँ। र, एशियाली अभिनेताहरूलाई त्यति अवसर पनि थिएन।”

ओस्कर समारोहमा ह्यारीसन फोर्ड र की ह्वुई क्वान
तस्बिरको क्याप्शन, ओस्कर समारोहमा ह्यारीसन फोर्ड र की ह्वुई क्वान

अभिनयप्रतिको आफ्नो रुचिलाई ‘लामो समयसम्म' मारेर बसेका उनलाई सन् २०१८ मा आएको चलचित्र क्रेजी रिच एशियन्सले फरक प्रभाव पार्‍यो।

उनी भन्छन्, “मैले अवस्था फेरिएको महसुस गरेँ र एक रात श्रीमतीसँग कुरा गरेँ। उनलाई मैले भनेँ- म फेरि अभिनयमा फर्कन चाहन्छु।”

त्यसपछि अभिनयमा फर्कने निर्णय लिएको उनी बताउँछन्। त्यसको दुई सातापछि उनलाई एभ्रीथिङ एभ्रीह्वेअर अल एट वान्समा जोडिन अनुरोध गर्दै फोन आएको थियो जसलाई उनले स्वीकार गरे।

स्पीलवर्गसँग अङ्कमाल गर्दै क्वान

क्वानका अनुसार उनले जीवनमा अलग्गै बाटो रोज्ने निर्णय नलिएको भए वेमोन्डको चरित्र निर्वाह गर्न सक्ने थिएनन्।

“मलाई जीवनमा यतिका वर्षहरूमा हासिल गरेका ती सबै अनुभव आवश्यक थियो। म ६० वर्ष पुगेकोमा ज्यादै चिन्तित थिएँ र भन्दै थिए- कसरी अभिनयमा फर्कने आँट ममा आउन सकेन?”

उनले सुनाए, “मैले यो निर्णय गरेकोमा सन्तुष्ट छु र अब १० वर्षमा जे हुन्छ त्यसलाई अँगाल्न तयार छु। म ज्यादै आशावादी छु।”