एम्बाप्पे र होलान : आफ्नो देशका लागि सर्वाधिक महत्त्वपूर्ण खेलाडी को हुन्?

तस्बिर स्रोत, Getty Images
- Author, म्याट जन्स
- Role, बीबीसी खेल पत्रकार
- Published
- पढ्ने समय: ५ मिनेट
बोस्टन रङ्गशालामा शुक्रवार फ्रान्स र नर्वे आमनेसामने हुँदा धेरैको नजर विश्व फुटबलका दुई चर्चित अग्रपङ्क्तिका खेलाडीहरू किलिअन एम्बाप्पे र अर्लिङ होलानतर्फ केन्द्रित हुने छ।
यी स्टार स्ट्राइकरहरूको उत्कृष्ट आक्रमणका मद्दतले दुवै देशहरूले समूह चरणका आफ्ना दुई खेलहरू जितिसकेका छन्।
एम्बाप्पे र होलान दुवैले आफ्ना दुईवटै खेलमा दुईदुई गोल गरेका छन् र उनीहरूले यो प्रतियोगितामा चार गोल गरिसकेका छन्। 'गोल्डन बूट'को प्रतिस्पर्धामा उनीहरूभन्दा अगाडि पाँच गोल प्रहार गरेका आर्जेन्टिनाका लिओनेल मेस्सी मात्र छन्।
फ्रान्स र नर्वे दुवै नकआउट चरणमा पुगिसके अनि उनीहरू दुवै समूह 'आई'को विजेता बन्ने दाउमा छन्। यो खेलले समूह विजेता बन्ने टोलीको निर्क्योल गर्नेछ।
बीबीसी स्पोर्टले रोचक बनिरहेको विश्वकप प्रतिस्पर्धामा दुवै खेलाडी आफ्नो टीमका लागि कति महत्त्वपूर्ण छन् भन्ने विश्लेषण गरेको छ।
उनीहरू कति महत्त्वपूर्ण छन्?
दुवै आआफ्नो क्लबका प्रमुख खेलाडी हुन्। एम्बाप्पे र होलानको महत्त्व अन्तर्राष्ट्रिय मञ्चमा अझ आकासिएको छ।
सन् २०२२ को अगस्टयता फ्रान्सले एम्बाप्पे टोलीमा हुँदा ६९.८ प्रतिशत खेल जितेको छ। तर उनको अनुपस्थितिमा जितको हिस्सा जम्मा ५० प्रतिशत रहेको छ।
एम्बाप्पे फ्रान्सका हालसम्मकै सर्वाधिक गोलकर्ता हुन् र उनी आफ्नो टोलीलाई अझ आक्रामक बनाउने गर्छन्। उक्त अवधिमा 'द ब्लूज' भनिने फ्रान्सेली टोलीले प्रतिखेलमा औसतमा २.३ गोल गरेको छ। एम्बाप्तेबिना औसतमा प्रतिखेल १.९ गोल भएका छन्।
तुलनात्मक सीमित गहिराइमाझ नर्वेका लागि होलान अझ अपरिहार्य रहेकामा कुनै आश्चर्य रहेन।
सन् २०२२ को अगस्टयता होलान टीममा भएको समयमा नर्वेले ६४.५ प्रतिशत खेल जितेको छ। उनको अनुपस्थितिमा जम्मा ३३.३ खेलमा उक्त टोली विजयी भएको छ।
दुवै खेलाडी प्रमुख प्रतियोगिताको दबावमा पनि नआत्तिने देखिएको छ।
मेस्सीमाथि सबैको ध्यान केन्द्रित छ तर एम्बाप्पेले सर्वाधिक गोलकर्ताको कीर्तिमानमा उनलाई उछिन्ने कुरा लगभग तय छ।
विश्वकपका १६ वटा खेलमा सहभागी हुँदा ३९ वर्षका मेस्सीले १६ गोल गरेका छन्। एम्बाप्पे मेस्सीभन्दा १२ वर्ष कान्छा हुन्।
आर्जेन्टिनाका विश्वचर्चित खेलाडी मेस्सी अर्को विश्वकपमा सहभागी हुने सम्भावना पूर्ण रूपमा सकिएको छैन तर सम्भवतः यो उनको अन्तिम विश्वकप प्रतियोगिता हो।
होलानले आफ्नो पहिलो विश्वकप खेलिरहेका छन् र उनले सुरुवाटै सहजै टोलीलाई जिततर्फ डोर्याइरहेका छन्।
उनी विश्वकपको इतिहासमा नै आफ्ना सुरुवाती दुई खेलमा एकभन्दा बढी गोल गर्ने छैठौँ खेलाडी बनेका छन्। विगत ५० वर्षमा यस्तो कीर्तिमान बनाउने उनी दोस्रो खेलाडी हुन्। सन् २०१८ मा इङ्ग्ल्यान्डका ह्यारी केनले त्यसरी गोल गरेका थिए।
होलान अहिले उत्कृष्ट फर्ममा छन्। उनले लगातार १२ अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेलमा गोल गरेका छन्। पछिल्ला छ खेलमा अभूर्तपूर्व ढङ्गले १६ गोल गर्न उनी सफल भएका छन्।
अन्तर्राष्ट्रिय स्पर्धामा होलान अझ उत्कृष्ट गोलकर्ता हुन्। जम्मा १०० खेल खेलेका एम्बाप्पेले ६० अन्तर्राष्ट्रिय गोल गरेका छन्। तर उनीभन्दा ४८ खेल कम खेलेका नर्वेका स्ट्राइकरले ५२ खेलमा ५९ गोल गरिसके।
उनीहरूको खेल कस्तो छ?

तस्बिर स्रोत, Opta

तस्बिर स्रोत, Opta
खेलमा कुन खेलाडी कस्तो अवस्थामा हुन्छन् भनेर जनाउने 'हीट म्याप'ले यी दुवै खेलाडीका रोचक पक्षहरूलाई झल्काउँछ।
आफ्नो क्लबको खेलको आक्रमणको 'मेट्रिक्स'मा एम्बाप्पेले शट, टच र अवसरहरू सृजनामा होलानलाई पछि पारेका छन्। तर म्यान्चेस्टर सिटीका स्ट्राइकर रहेका होलानले सन् २०२५-२६ मा उनीभन्दा धेरै पासहरू उपलब्ध गराएको आँकडाले देखाउँछ।
यसपटक दुवै खेलाडीको 'ड्रिब्लिङ'को सङ्ख्यामा पनि उल्लेख्य फरक देखिएको छ। यो विश्वकपमा एम्बाप्पेले १४ पटक 'ड्रिब्लिङ'को प्रयास गरेका छन्। होलानले जम्मा एक पटक त्यस्तो गरेको देखिएको छ।
तर मौकामा गोल गर्ने सवालमा होलान अघि छन्। चार क्लब सीजनका लीग खेलहरूका उनले पोस्टमा गरिएका २३.४३ प्रतिशत प्रहारलाई गोलमा बदलेका छन्। एम्बाप्पेले १८.२४ प्रतिशतमा गोल गरेका छन्।
यो सीजनमा एम्बाप्पेले उक्त अन्तरलाई साँघुरो पारेका छन्।
रक्षात्मक योगदानमा एम्बाप्पे होलानभन्दा पछि छन्। विश्वका प्रमुख पाँच फुटबल लीगमा कम्तीमा कुल ९०० मिनेट खेलेर योगदान दिएका रेआल मड्रिडका १,४८३ जनामध्ये उनी हालै १,४८१ औँ खेलाडी बनेका थिए।
होलानले नर्वेलाई कति पर पुर्याउँलान्?

तस्बिर स्रोत, Getty Images
उनीहरूको तुलनात्मक महत्त्व हालै अन्तर्राष्ट्रिय गोलहरूमा देखिएको संलग्नताले पनि स्पष्ट पार्छ।
सन् २०२२ को अगस्टयता एम्बाप्पे फ्रान्सका ४४ प्रतिशत गोलमा संलग्न भएका छन्, उनले ३३ गोलमा योगदान गरेका छन् र १७ गोलका लागि सहयोग पुर्याएका छन्। त्यही अवधिमा होलानले ३९ गोलका लागि योगदान गरे भने चारवटा पास उपलब्ध गराएका थिए, जुन नर्वेले गरेको गोलमा ४३.९ प्रतिशत संलग्नता हो।
यसपालि फ्रान्सले अझ महत्त्वाकाङ्क्षी लक्ष्यहरू लिएको छ र यो प्रतियोगिताको प्रबल दाबेदारका रूपमा उसलाई हेरिएको छ। होलान स्वयंले पनि शुक्रवार फ्रान्सेली टोलीले नर्वेलाई हराउने र अन्ततः विश्वकप नै जित्ने ठानेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















