अमेरिकामा क्रिस्टा पाइकलाई दिइएको मृत्युदण्डको सजाय कार्यान्वयनमा विफलताले उब्जाएका प्रश्न

टेनसीमा मृत्युदण्डको सजायको विवादको केन्द्रमा रहेकी क्रिस्टा पाइक बन्दीले लगाउने पोशाकमा, उनको पृष्ठभूभिमा अमेरिकी झन्डा, न्यायालयमा राखिने गरिएको हथौडा र पञ्जा लगाएको हातमा देखिएको सिरिन्जको साङ्केतिक तस्बिर
तस्बिरको क्याप्शन, क्रिस्टा पाइकलाई दिइएको मृत्युदण्डको सजायलाई लिएर अन्तिम क्षणसम्म कानुनी विवाद चलेको थियो
    • Author, लुइस बराचो
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ७ मिनेट

घातक सुई दिएर ज्यान लिने प्रयास विफल भएपछि संयुक्त राज्य अमेरिकाको टेनसीमा मृत्युदण्ड सजायको विवादको केन्द्रमा रहेकी क्रिस्टा पाइकलाई एउटा अस्पतालमा लगिएको उनका वकिलले बताएका छन्।

उनका एक वकिलले दुई वटा पेन्टोबार्ब्रिटोल सुई दिइएकी ५० वर्षीया पाइकलाई अस्पतालमा उनको 'जीवन रक्षा गर्ने उपायहरू' अवलम्बन गरेर उपचार गरिएको बताए।

मृत्युदण्डको सजाय कार्यान्वयन गर्दा के गलत भयो भन्ने विवरणहरू आइरहेका छन्। पाइकलाई सन् १९९६ मा १९ वर्षकी कलिन स्लिमरको हत्याका लागि मृत्युदण्डको सजाय सुनाइएको थियो। उक्त मृत्युदण्ड अन्तिम क्षणसम्म चलेको कानुनी विवादको विषय थियो।

टेनसीमा यो वर्ष मृत्युदण्डको सजायको कार्यान्वयन असफल भएको यो दोस्रो घटना हो।

गत मे महिनामा अधिकारीहरूले सन् १९९४ मा अपहरण र तीन व्यक्तिको हत्याका लागि दोषी ठहर गरिएका टोनी करदर्सलाई घातक औषधि दिने नसा फेला पार्न नसकेपछि उनलाई मृत्युदण्डका लागि सुई दिने प्रक्रियालाई पछि सारेका थिए।

कसरी कार्यन्वयन गरिन्छ?

मृत्युदण्डको सजाय कार्यान्वयन गरिने कोठामा रहेको एउटा ओछ्यान
तस्बिरको क्याप्शन, झन्डै ८९ प्रतिशत घटनामा घातक सुई दिएर मृत्युदण्डको सजाय कार्यान्वयन गरिन्छ

सन् १९७६ मा अमेरिकी सर्वोच्च अदालतले मृत्युदण्डको सजायमाथिको अस्थायी प्रतिबन्ध हटाएयता अमेरिकामा १,६८३ जनालाई मृत्युदण्ड दिइएको डेथ पेनाल्टी इन्फरमेशन सेन्टर (डीपीआईसी) ले जनाएको छ।

मृत्युदण्ड कार्यान्वयन गरिएका ती घटनामा १८ जना महिला छन्, जुन १ प्रतिशत हुन आउँछ।

उसको तथ्याङ्कमा सन् २०२५ मा ४७ जनालाई मृत्युदण्ड दिइएको देखिन्छ, जुन सन् २००९ एक वर्षमा सर्वाधिक बढी हो। सन् २०२४ मा २५ जनालाई मृत्युदण्ड दिइएको थियो।

अमेरिकामा पछिल्लो समयमा मृत्युदण्डको सजायलाई लिएर जनसमर्थन कमजोर हुँदै गएको छ र अहिले त्यो ५० वर्षयताकै न्यून बिन्दुमा छ।

हालैको एउटा ग्यालप सर्वेक्षणमा उक्त अभ्यासलाई ५२ प्रतिशत अमेरिकीहरूले सन् २०२५ मा समर्थन गरेको देखिएको थियो।

त्यही सर्वेक्षणमा ४४ प्रतिशत अमेरिकीहरूले त्यसप्रति विरोध जनाएका थिए, जुन ग्यालपले अभिलेख राखेको सन् १९६६ मे यताकै सर्वाधिक उच्च तहको असहमति हो।

सन् १९७६ यता अमेरिकी राज्यहरूले मृत्युदण्डको सजाय दिन प्रमुख पाँच वटा उपायहरू अवलम्बन गरेका छन्।

  • घातक सुई
  • करेन्ट लगाउने
  • गोली हान्ने
  • ग्यास
  • झुन्ड्याउने

घातक इन्जेक्सन सबैभन्दा आमरूपमा प्रयोगमा रहेको विधि हो र अमेरिकामा सन् १९७६ यताका मृत्युदण्ड कार्यान्वयनमध्ये ८९ प्रतिशतमा त्यो उपाय अवलम्ब गरिएका छन्।

डीपीआइसीका अनुसार हाल मृत्युदण्डको कार्यान्वयन गर्दै आएका प्रत्येक राज्यले घातक इन्जेक्सनलाई प्रयोग गर्छन् र धेरैले वैकल्पिक उपायहरूलाई पनि अनुमति दिएका छन्।

अमेरिकामा कुनै पनि राज्यले सन् १९९६ यता झुन्ड्याएर मृत्युदण्ड दिएका छैनन्। अन्तिम पटक डेलवेरमा बिली बेलीलाई त्यसरी मृत्युदण्ड दिइएको थियो।

न्यू ह्याम्पसरले घातक इन्जेक्सनको प्रयोग व्यावहारिक नदेखिएको अवस्थामा विकल्पका रूपमा झुन्ड्याएर मृत्युदण्ड दिन सकिने व्यवस्था कायम राखेको थियो। तर सन् २०१९ मा उक्त राज्यले मृत्युदण्डलाई उन्मूलन गरेको थियो।

उक्त कदम भूतप्रभावी नहुने भनिएको थियो, त्यही भएर एक जना बन्दीले अझै पनि मृत्युदण्डको सजाय नै खेपिरहेका छन्। तर सन् १९३९ देखि न्यू ह्याम्पसरले मृत्युदण्डको सजायलाई कार्यन्वयन गरेको छैन।

अमेरिकामा २७ वटा राज्यहरूले सङ्घीय र सैनिक कानुनअन्तर्गत मृत्युदण्डलाई कानुनी मान्यता दिएका छन्।

चार वटा राज्यहरू क्यालिफोर्निया, ओहायो, ओरेगन र पेन्सलभेनियाले मृत्युदण्डको सजायलाई स्थगित गरेका छन्। कानुनी मान्यता प्राप्त गरेका कैयौँ अरूहरूले पनि वर्षौँदेखि उक्त सजाय कार्यान्वयन गरेका छैनन्।

सन् २०२५ मा फ्लोरिडामा १९ वटा मृत्युदण्डको सजाय कार्यन्वयन गरिएको थियो, जुन त्यो वर्षको कुल राष्ट्रिय तथ्याङ्कको करिब ४० प्रतिशत हो।

कस्ता औषधिहरू प्रयोग हुन्छन्?

ऐतिहासिक रूपमा नै धेरै राज्यहरूले तीन वटा औषधि प्रयोगसम्बन्धी प्रोटोकल तयार पारेका छन्

  • एनिस्थेस्टिक वा बेहोस बनाउने (अधिकांश अवस्थामा सोडिअम थायोपेन्टल र पछि मिडाजोलम)
  • पक्षाघात गराउने तत्त्व (भिक्युरोनिअम ब्रोमाइड)
  • मुटुको धड्कन बन्द गराउन पोटासिअम क्लोराइड

वर्षौँसम्म सोडिअम थायोपेन्टललाई घातक सुईहरूमा व्यापक रूपमा प्रयोग गरिन्थ्यो। तर मृत्युदण्ड दिइँदा उक्त औषधिको प्रयोगप्रति फर्मस्यूटिकल कम्पनीहरूले विरोध जनाए। उत्पादकहरूले उक्त प्रयोजनका लागि सो औषधिको आपूर्ति रोकिदिने निर्णय गरे र युरोपेली सङ्घले गरेको नियमनले त्यसको उपलब्धतालाई थप घटाइदियो।

त्यसपछि धेरै राज्यहरूले एउटै औषधि पेन्टोबारबिटलको प्रोटोकललाई पछ्याए, जसअन्तर्गत बन्दीलाई बारबीचुरेटको भारी डोज दिएर तीनका मस्तिष्कका गतिविधि र श्वास प्रश्वासलाई निष्क्रिय तुलाउन थालियो।

त्यो बेला अमेरिकामा उक्त औषधि व्यापक रूपमा उपलब्ध थियो। कम डोजमा उक्त औषधि बिरामीलाई शान्त पार्ने वा छारे रोग नियन्त्रण गर्न प्रयोग गरिन्छ। पशुचिकित्सकहरूले जनवारहरूलाई मार्न पनि त्यो औषधि प्रयोग गर्छन्।

सङ्घीय सरकारले सन् २०१९ मा एकल औषधि प्रोटकलअन्तर्गत अभावका माझ मृत्युदण्डमा प्रयोग गर्ने एक मात्र औषधिकका रूपमा त्यसलाई राख्ने निर्णय लिएको थियो।

त्यसको परिणाम स्वरूप कैयौँ राज्यहरूले औषधि उत्पादकभन्दा अलि कम नियमन गरिने गरिएका आवश्यकताअनुसार औषधि तयार पार्ने फार्मेसीहरूबाट उक्त औषधिको जोहो गर्ने गरेका छन्।

कैयौँ राज्यहरूले आपूर्तिकर्ताको परिचय गोप्य राख्ने व्यवस्थासहितका कानुन अनुमोदन गरेका छन्, त्यही भएर त्यो औषधि उनीहरूले कसरी ल्याए त्यो अधिकांश अवस्थामा अस्पष्ट रहने गरेको छ।

त्यसका बावजुद यसै वर्षको एप्रिलमा न्याय मन्त्रालयले प्रकाशन गरेको एउटा मेमोले उसलाई 'घातक इन्जेक्सनमा प्रयोग गरिने औषधिमध्ये सर्वेत्कृष्ट मानक' का रूपमा त्यसलाई चित्रण गरेको थियो।

डीपीआइसीका अनुसार उक्त औषधि प्राप्त गर्न भइरहेका कठिनाइले मृत्युदण्ड कार्यान्वयन गर्दा कतिपय राज्यहरूले नयाँ औषधि र मिश्रणलाई विकल्पका रूपमा प्रयोग गर्नुपर्ने परिस्थिति निम्त्याएको छ।

त्यसका कारण मृत्युदण्डको कार्यान्वयनलाई समय लाग्ने र बन्दीहरूले पीडा र आघात महसुस गर्नुपर्ने अवस्था देखिएको भन्दै उसले उक्त अभावले लागत पनि बढाएको जनाएको छ।

सन् २०१४ मा घातक सुईमार्फत् मृत्युदण्ड दिने प्रक्रियामा गम्भीर त्रुटि देखिएपछि ओक्लोहोमाकी गभर्नरले त्यसलाई स्थगित गरेकी थिइन्।

लुइजियानाले औषधि प्राप्त गर्न नसकेपछि १५ वर्षसम्म उक्त सजायको कार्यान्वयन गरेन। सन् २०२५ को डिसेम्बरमा नाइट्रोजन ग्यास प्रयोग गरी उसले मृत्युदण्डको स्थगन अन्त्य गरेको थियो।

के परिवर्तन भएको छ?

टेनसी डिपार्टमेन्ट अफ करेक्सन्सबाट लिइएको क्रिस्टा पाइकको तस्बिर। हत्याका कारण मृत्युदण्डको सजायमा रहेकी उनी टेनसीकी एक मात्र महिला हुन्।
तस्बिरको क्याप्शन, क्रिस्टा पाइकलाई सन् १९९६ मा १९ वर्षीया युवती कलिन स्लेमरको हत्याका लागि दोषी ठहर गरिएको थियो

एप्रिल महिनाको अमेरिकी न्याय मन्त्रालयको मेमोले मृत्युदण्डको विधिलाई विस्तार गर्ने भन्दै त्यसमा गोली प्रहार गर्ने, ग्यास प्रयोग गर्ने र करेन्ट लगाउनेसहितका तरिकाहरू उल्लेख गरेको थियो।

मन्त्रालयले उक्त कदमले मृत्युदण्डको सजायलाई 'बलियो बनाउने' भन्दै त्यसले 'सबैभन्दा बर्बर अपराधहरूलाई निरुत्साहित गर्ने, पीडितहरूलाई न्याय दिने र जीवित रहेका पीडितका परिवारलाई लामो समयदेखि उनीहरूले प्रतिक्षा गरेको शान्ति' दिने उल्लेख गरेको थियो।

जो बाइडेनको प्रशासनले अधिकांश सङ्घीय मृत्युदण्ड कार्यान्वयनमा रोक लगाएको थियो। पदबाट बाहिरिनुअघि उनले सङ्घीय मृत्युदण्डको सजाय पाएका ४० कैदीमध्ये ३७ जनाको सजाय माफ गरेका थिए।

राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि मृत्युदण्डको सजायप्रति समर्थन जनाउँदै आएका छन्। सन् २०२५ जनवरीमा उनले पुनः पदभार ग्रहण गरेकै दिन न्याय मन्त्रालयलाई मृत्युदण्डको कार्यान्वयन अघि बढाउन निर्देशन दिएका थिए।

विद्युतीय कुर्सी

करेन्ट लगाएर मृत्युदण्ड दिने विधि एक समय निकै प्रचलित थियो, तर अहिले यो दुर्लभ बन्दै गएको छ।

हाल अमेरिकाका नौ राज्यले यो विधिलाई अनुमति दिन्छन्। साउथ क्यारोलिनाले यसलाई राज्यमा मृत्युदण्ड कार्यान्वयन गर्ने मूल विधि बनाएको छ भने अन्य आठ राज्यले घातक सुईलाई प्राथमिक विकल्प राख्दै विद्युतीय कुर्सीलाई वैकल्पिक उपायका रूपमा राखेका छन्।

सन् १९७६ यता १६३ जनालाई यसरी मृत्युदण्ड दिइएको छ, तर सन् २००० पछि भने केवल १९ वटा मृत्युदण्ड यसरी कार्यान्वयन छन्। पछिल्लो पटक सन् २०२० मा टेनसीमा यो विधि प्रयोग गरिएको थियो।

गोली हानी मृत्युदण्ड

गोली हानेर मृत्युदण्ड दिने विधि कुनै बेला परम्पराको अवशेषका रूपमा लिने गरिन्थ्यो।

तर साउथ क्यारोलाइनाले सन् २०२५ मा यो विधिमार्फत् मृत्युदण्ड कार्यान्वयन पुनः सुरु गर्‍यो। त्यसपछि घातक सुईका लागि आवश्यक औषधि प्राप्त गर्न कठिनाइ भएपछि आइडाहोले जुलाई २०२६ मा गोली हानेर मृत्युदण्ड दिने विधिलाई आफ्नो मुख्य कार्यान्वयन विधि बनायो।

नाइट्रोजन ग्यास

अलाबामा सन् २०२४ मा नाइट्रोजन हाइपोक्सिया प्रयोग गरेर मृत्युदण्ड कार्यान्वयन गर्ने पहिलो राज्य बनेको थियो। त्यसपछि मार्च २०२५ मा लुइजियानाले पनि यही विधि अपनायो।

यस प्रक्रियामा कैदीलाई शुद्ध नाइट्रोजन सास फेर्न बाध्य पारेर शरीरलाई अक्सिजनबाट वञ्चित गराइन्छ।

समर्थकहरूले यसलाई घातक इन्जेक्सनको व्यावहारिक विकल्पका रूपमा वर्णन गर्छन्। तर आलोचकहरूका अनुसार यो विधिको पर्याप्त परीक्षण भएको छैन र यसले गम्भीर नैतिक प्रश्नहरू उठाउँछ।

आलोचकहरू के भन्छन्?

मृत्युदण्डका आलोचकहरूका अनुसार घातक सुईमार्फत्‌ मृत्युदण्ड दिन आवश्यक औषधि प्राप्त गर्न भइरहेको कठिनाइ र विवादास्पद बनेका केही मृत्युदण्ड कार्यान्वयनहरूले गम्भीर मानवीय प्रश्नहरू उठाएको बताइरहेका छन्।

कानुनी चुनौती अधिकांश अवस्थामा कतिपय औषधि प्रयोगका मापदण्डहरूले अनावश्यक पीडा वा कष्ट निम्त्याउँछन् भन्नेमा केन्द्रित छन्।

अभियानकर्ताहरूले ती कदमले अमेरिकी संविधानले निषेध गरेको 'क्रूर र असमान्य दण्डमाथिको प्रतिबन्ध'लाई उल्लङ्घन गरेको पनि तर्क गर्ने गरेका छन्।

आलोचकहरूले केही राज्यमा मृत्युदण्डका लागि औषधि आपूर्ति गर्ने कम्पनी वा व्यक्तिको पहिचान गोप्य राखिने भएकाले औषधिको स्रोत र गुणस्तरबारे स्वतन्त्र रूपमा जाँच गर्न कठिन हुने पनि औँल्याउने गरेका छन्।

केही आलोचकहरूले मृत्युदण्डको असर बन्दी र पीडितका परिवारमा मात्र सीमित नहुने तर्क गरेका छन्।

सन् २०१४ मा बीबीसीसँगको अन्तर्वार्तामा १९९० को दशकमा जर्जियाको कारागार प्रणाली सञ्चालन गरेका एलेन अल्टले मृत्युदण्ड कार्यान्वयनले कारागार प्रमुख, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा प्रत्यक्षदर्शीहरूमाथि पनि दीर्घकालीन मानसिक असर पार्ने बताएका थिए।

उनले बीबीसीसँग भनेका थिए, "म अझै पनि दुस्वपन देख्छु। यो तपाईँले कल्पना गर्न सक्ने सबैभन्दा जानजानी गरिने हत्या हो र यसको प्रभाव जीवनभरि मानसपटलमा रहिरहन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।