मृत्युदण्ड दिने क्रममा अमेरिकामा एक महिला दुईवटा घातक इन्जेक्सनबाट बचिन्, अब उनको 'जीवन जोगाउने उपचार' हुँदै छ

तस्बिर स्रोत, Reuters
- Author, ब्रान्डन ड्रेनन
- Published
- पढ्ने समय: ३ मिनेट
अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्ड पाउन लागेकी एक कैदी क्रिस्टा पाइक यतिखेर अस्पतालमा "गम्भीर अवस्थामा छिन् र जीवन जोगाउने उपचारहरू भइरहेका छन्।"
सजाय कार्यान्वयनका क्रममा उनलाई घातक इन्जेक्सन दिए पनि उनको मृत्यु नभएपछि भएपछि उक्त राज्यका गभर्नरले यस वर्षका लागि सबै मृत्युदण्डहरू दिने काम रोक्ने निर्णय गरेका छन्।
"अहिले हामीलाई उनको स्वास्थ्य अवस्थासम्बन्धी आकलन वा स्वास्थ्यसम्बन्धी धेरै जानकारी छैन," उनका वकिल र्यान्डी स्पाइभीले बिहीबार पत्रकारहरूलाई भने। "तर हामीलाई यति थाहा छ कि उनी अहिले जीवित छिन्।"
उनका वकिलहरूले अब पाइकको सजाय घटाइयोस् भनी माग गरिरहेका छन्।
५० वर्षकी पाइकलाई सन् १९९६ मा कोलीन स्लेमरको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो।
उनका वकिलहरूका अनुसार बुधवार उनलाई पेन्टोबार्बिटलको दुईवटा घातक मात्रा (डोज) दिइए तापनि उनी जीवितै रहिन्। त्यसपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो।
'भद्रगोल' तरिकाले कार्यान्वयन
आफू १८ वर्षकी छँदा पाइक र उनका तत्कालीन प्रेमी ट्याडारिल शिपले १९ वर्षीय स्लेमरलाई कुटपिट गरी यातना दिएर हत्या गरेका थिए।
बुधवार उनको मृत्युदण्ड दिने प्रयास अन्तिम समयको कानुनी लडाइँको विषय बनेको थियो। अन्ततः अमेरिकी सर्वोच्च अदालतले घातक इन्जेक्सनमार्फत् मृत्युदण्डको प्रक्रिया अघि बढाउन अनुमति दिएको थियो।
मृत्युदण्डको प्रक्रिया अघि बढोस् भन्ने चाहँदै त्यसको साक्षी बन्न टेनेसी पुगेकी स्लेमरकी आमा मे मार्टिनेजले सो असफल प्रयासपछि एनबीसी न्यूजसँग कुरा गर्दै उक्त घटनालाई "भद्रगोल" भएको बताइन्।
बिहीवार दिउसो पाइकका वकिलहरूले मृत्युदण्ड दिने प्रयासका क्रममा भएका घटनाक्रमबारे थप विवरणहरू सार्वजनिक गरेर उक्त भयावह दृश्यको वर्णन गरेका छन्।
"गए राति मृत्युदण्ड दिने टोलीले एक घण्टासम्म 'आईभी' लाइन जोड्ने प्रयास गर्यो," स्पाइभीले भने। "मैले उनको देब्रे हातमा मात्र कम्तीमा सात वटा सुई प्रयोग गरिएको गनेँ; तीमध्ये एउटा सुई असफल प्रयासपछि हातबाट निकाल्दा बाङ्गो भएको देखिएको थियो।"

तस्बिर स्रोत, J. Miles Carey/USA TODAY/Imagn Images via Reuters
स्पाइभीका अनुसार दोस्रो पटक घातक औषधि दिइएको केही मिनेटमा पनि "पाइक अझै सास फेरिरहेकी छिन् भन्ने स्पष्ट भएपछि" त्यो देखिरहेकाहरूलाई पर्दा पछाडि एउटा अँध्यारो कोठामा राखिएको थियो।
"त्यो पर्दा पछाडि के भइरहेको थियो कसैलाई थाहा थिएन," स्पाइभीले भने। "चिकित्सकीय टोलीले कहिले र के सहयोग गर्न थाल्यो भन्नेबारे मलाई कुनै जानकारी थिएन।"
सजाय परिवर्तनको माग
वकिल स्पाइभीले राज्यका गभर्नरले अब क्रिस्टाको सजाय परिवर्तन गर्नुपर्ने माग गरेका छन्।
यसअघि यस्तो अनुरोध अस्वीकार गरिएको थियो।
पाइकका अर्का वकिल स्टेफन फेरेलले आफूहरू अन्य कानुनी विकल्पहरूबारे पनि विचार गरिरहेको बताएका छन्।
"हामी यस विषयमा राम्ररी सोच्न चाहन्छौँ र क्रिस्टाको स्वास्थ्य सुधार होस् तथा उनी आफैँ के चाहन्छिन् भन्ने कुरामा उनको पनि भनाइ समेटियोस् भन्ने सुनिश्चित गर्न चाहन्छौँ," उनले भने।

तस्बिर स्रोत, Tennessee Department of Correction
टेनेसीका गभर्नर बिल लीले स्वतन्त्र मूल्याङ्कनको आदेश दिएका छन्।
उनले बिहीवार भने अनुसार पाइकको असफल मृत्युदण्ड प्रक्रियाको अनुसन्धान "पूर्ण र विस्तृत" हुने छ र यसका लागि "समय लाग्ने छ।"
"प्रश्नहरू धेरै छन्," लीले भने। "हाम्रो राज्यका जनताले ती प्रश्नहरूको जबाफ पाउनुपर्छ। र यो अनुसन्धानको उद्देश्य पनि यही हो।"
राज्यको मृत्युदण्डसम्बन्धी प्रक्रियाको स्वतन्त्र समीक्षा कसले गर्ने भन्नेबारे लीले स्पष्ट पारेका छैनन्।
प्रक्रियाको बचाउ
मृत्युदण्डको प्रक्रिया सम्हाल्ने टेनेसीको डिपार्टमेन्ट अफ करेक्सनले यस मामिलामा आफूले अपनाएको कार्यशैलीको बचाउ गर्दै एक विज्ञप्ति जारी गरेको छ।
उक्त विज्ञप्तिमा भनिए अनुसार सो विभागले "महान्यायाधिवक्ताको कार्यालयबाट स्वीकृत राज्यको कानुनी र स्थापित मृत्युदण्डसम्बन्धी कार्यविधि (प्रोटोकल) को चरणबद्ध पालना गरेको थियो"।
"कार्यविधिमा उल्लेखित घातक इन्जेक्सनको रसायन निरन्तर प्रभावकारी रहँदै आएको छ। र कार्यविधिले आज साँझ अपनाइएको प्रक्रियाभन्दा बाहेकका अतिरिक्त प्रक्रियाहरूलाई अनुमति दिँदैन।"
अदालतमा उनका वकिलहरूले पेस गरेको विवरणअनुसार पहिलो प्रयास असफल भएपछि राज्यको कार्यविधिबमोजिम पाइकलाई 'पेन्टोबार्बिटल' रसायनको दुई मात्रा दिइएको थियो। तर त्यसपछि पनि उनी जीवितै थिइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















