वर्षाको प्रभाव विद्यालयदेखि राजमार्गसम्म, मौसममा कहिले होला सुधार

तस्बिर स्रोत, Nepal Photo Library
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
अहिले देशका अधिकांश स्थानमा भइरहेको वर्षाका कारण दैनिक जनजीवन प्रभावित बनेको अधिकारीहरूले बताएका छन्।
बङ्गालको खाडीमा विकसित मौसम प्रणालीका कारण नेपालमा पनि वर्षा भएकाले विभिन्न राजमार्ग अवरुद्ध भएका छन् भने सम्भावित जोखिमलाई ध्यानमा राखी बिहीवार र शुक्रवार विद्यालयहरू बन्द गराउन शिक्षा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ।
अत्यन्त आवश्यक पर्दाबाहेक लामो दूरीको यात्रा नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारण मानिसलाई अनुरोध गरेको छ।
केही राजमार्गमा रातिको समय सवारीसाधन चलाउन रोक लगाइएको स्थानीय प्रशासनहरूले जनाएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गत १२ घण्टाको अवधिमा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ भने एक-दुई स्थानमा 'भारी वर्षा' भएको छ।
पठनपाठन र परीक्षामा प्रभाव

तस्बिर स्रोत, Nepal Photo Library
बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षा भएको मौसमविद्हरूले जनाएका छन्। मनसुनको उत्तरार्धमा भएको यो वर्षाका कारण देशका धेरै स्थानमा शैक्षिक गतिविधि प्रभावित बनेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले जोखिमको मूल्याङ्कन गरी विद्यालयहरू दुई दिन बन्द गराउन निर्देशन दिइएको बताएका छन्।
"स्थानीय तहसँगको समन्वयमा बिहीवार र शुक्रवार आवश्यकतानुसार विद्यालयहरू बन्द गराउन भनेका छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
त्यसै गरी विद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकतानुसार स्थगित गर्न भनिएको भट्टराईले बताए।
मन्त्रालयले सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा स्थानीय तहलाई सहजीकरण गर्न पनि भनेको छ।
सवारी आवागमन पनि प्रभावित

तस्बिर स्रोत, RSS
वर्षाका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको अधिकारीहरूले बताएका छन्।
विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार कतिपय राजमार्गमा एकतर्फी र कतिपयमा दुईतर्फी सवारी आवागमन रोकिएको छ।
पृथ्वी लोकमार्गअन्तर्गत धादिङ/बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभीर र सोही गाउँपालिकाको ज्यामिरेघाटमा पहिरो जाँदा एकतर्फी सवारी आवागमन सञ्चालन भइरहेको शाखास्थित उपसचिव फणीन्द्रप्रसाद पौडेलले बीबीसीलाई बताए।
पहिरोका कारण मध्यपहाडी लोकमार्ग, पासाङल्हामु राजमार्ग, कालुपाण्डे राजमार्ग, त्रिशूली-मैलुङ-रसुवागढी र मैलुङ-स्याफ्रुबेँसीमा यातायात अवरुद्ध भएको शाखाले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गर्दै लामो दूरीको यात्रामा ननिस्कन सबैलाई आग्रह गरेको छ।
आकस्मिक खोला, खहरे अनि पहिरो जाने जोखिम रहेका क्षेत्रनजिकका बासिन्दालाई अत्यन्त चनाखो रहन पनि उसले अनुरोध गरेको छ।
बाढी र आकस्मिक बाढी

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी तथा आकस्मिक बाढीको पूर्वानुमान समयावधि विस्तार गरिएको जनाएको छ।
केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता राजन भट्टराईले बुधवारबाट केही प्रमुख नदीहरूका हकमा बाढीको पूर्वानुमान समयावधि तीन दिनबाट पाँच दिन विस्तार गरिएको छ।
त्यसै गरी देशभरिका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम पूर्वानुमान २४ घण्टाबाट ४८ घण्टाका लागि विस्तार गरिएको उनले बताए।
"वर्षा जारी रहँदा मानिसहरू अझै सुरक्षित र सर्तक होऊन् भनेर पनि यो गरिएको हो," प्रवक्ता भट्टराईले बीबीसी न्यूज नेपालीसँग भने।
नदीहरूमा जलसतह जोखिमको तहमा पुग्ने देखिए पनि उच्च जोखिमको तहसम्म जाने सम्भावना नदेखिएको उनले बताए।
"आज [बिहीवार] र भोलि [शुक्रवार] बढेर त्यसपछि घटेर जाने हो। त्यसैले बाढी र आकस्मिक बाढीको हकमा सचेत रहने तर आत्तिनुपर्ने अवस्था देखिँदैन," भट्टराईले थपे।
अबको २४ घण्टा मौसम कस्तो होला
बिहीवार दिनभरि कोशीदेखि लुम्बिनीसम्म वर्षा हुने तथा बेलुकादेखि कोशी, बाग्मती र गण्डकीका केही स्थानमा 'भारी वर्षा' हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन वा चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको पूर्वानुमान रहेको महाशाखास्थित मौसमविद् डेभिड ढकालले बताए।
मधेश प्रदेश तथा कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको अधिकांश स्थान, सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा मेघगर्जन वा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।
मौसमविद्हरूले २४ घण्टाको अवधिमा ५० मिलिमिटरदेखि ९९.९९ मिलिमिटरसम्म वर्षा भए त्यसलाई 'भारी वर्षा', १०० मिलिमिटरदेखि १९९.९९ मिलिमिटरसम्म वर्षा भए त्यसलाई 'धेरै भारी वर्षा' अनि २०० मिलिमिटरभन्दा बढी वर्षा भए त्यसलाई 'अति भारी वर्षा' भनेर वर्गीकरण गर्ने गरेका छन्।
बिहीवार राति देशभरि अधिकांश बादल लाग्ने महाशाखाको पूर्वानुमान छ।
उसका अनुसार कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन वा चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको हुने सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेश प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
महाशाखाका अनुसार हाल देशभरि मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ।
बङ्गालको खाडीको गहिरो न्यूनचापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिङ्गपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तट पार गरेको उसले जनाएको छ।
उक्त प्रणाली शुरूमा गहिरो न्यूनचापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको मौसमविद् ढकालले बताए।
त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने पूर्वानुमान छ।
"आइतवारदेखि विशेष गरी कोशी, मधेश र बागमती आसपासमा सुधार हुने सम्भावना बलियो देखिएको छ। यो प्रणाली छिटो ट्राभल्स गर्यो भने अलि चाँडै सुधार हुन सक्छ," मौसमविद् ढकालले अगाडि थपे।
यो रिपोर्ट तयार पार्ने बेलासम्म गत २४ घण्टाको अवधिमा सबैभन्दा धेरै पाल्पाको बल्ड्याङगढीमा १६४ मिलिमिटर वर्षा भएको मापन गरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















