कांग्रेस महाधिवेशनमा विपक्षी नेताहरूको सरकारप्रति आशङ्का, लोकतन्त्रबारे चिन्ता; रवि लामिछानेले के भने?

Published
पढ्ने समय: ४ मिनेट

नेपाली कांग्रेसका सभापति गगन थापाले "संसद् खुला छैन, संसद् बन्द छ" भन्दै त्यहाँ प्रधानमन्त्रीको पछिल्ला सहभागिताबारे चिन्ता व्यक्त गरेका छन्।

आइतवारबाट काठमाण्डूमा सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा मुख्य दलका नेताहरूपछि बोलेका थापाले त्यसो भनेका हुन्।

"व्यवस्थाका लागि र जनताको गरिमाका लागि जुन दिनसम्म सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद् खुला भएको हुँदैन," थापाले भने।

यस महाधिवेशनबाट अहिलेको समयको प्रश्नको सामना गर्नुपर्ने अवस्था आएको बताउँदै उनले "हाम्रा समस्याहरू हलुका ढङ्गले समाधान नहुने" बताए।

"तत्कालीन समयको सबैभन्दा ठूलो प्रश्न जे थियो, त्यो प्रश्नको उत्तर कांग्रेस लिएर आयो। त्यसैले कांग्रेस टिक्यो...हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन। आजको प्रश्नको उत्तर दिनुपर्छ।"

उनले देशमा विकसित "राजनीतिविरोधी" भावले "अतिराजनीति" भइरहेको र त्यो भित्रभित्रै भुसको आगोको रूपमा सल्किएको बताए।

"हामीले यसको बारेमा चालै पाएनौँ। हामी मस्तमा थियौँ। किनकि हामीसँग शक्ति थियो। किनकि हामीसँग दुईतिहाइ मत थियो। हामीले समाजमा के भइरहेको छ भन्ने थाहै पाएनौँ। एकै पटक भाद्र २३ र २४ आयो," थापाको भनाइ थियो।

उनले आफूहरू बलियो सरकारको पक्षमा रहेको तर सरकारभन्दा नागरिक बलियो हुनुपर्छ भन्न सक्ने गरी यस महाधिवेशनबाट उठ्नुपर्ने बताए।

महाधिवेशनको उद्घाटनका लागि पूर्वसभापति शेरबहादुर देउवालाई निम्तो दिइएको बताइए तापनि उनी त्यहाँ उपस्थित भएनन्।

देउवा पक्षले यतिखेर मङ्सिरका लागि समानान्तर महाधिवेशन घोषणा गरेर पार्टीका अलग्गै गतिविधि सञ्चालन गरिरहेको छ।

तर उनीहरूलाई अधिवेशनपछि जोड्ने प्रयास जारी राख्ने गगन थापाले बताए।

रवि लामिछानेबाट प्रतिरक्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धेरैतिरबाट सरकारको भविष्यबारे कुराहरू उठिरहेको प्रसङ्ग उठाउँदै "सरकार नढल्ने" दाबी गरे।

"लोकतन्त्रलाई खतरा छैन। खतरा भए जनताले जोगाउँछन्," लामिछानेले भने। "यो पाँच वर्ष सरकारले काम गर्न सकेन भने सबैभन्दा पहिले रास्वपाको सदस्यता च्यात्नुहोला।"

लामिछानेले आफूहरू लोकतन्त्रका मूल्य र मान्यताबाट "डेग नचल्ने" बताए।

"सरकारका नियत सही छ। कुनै निर्णयहरू विवादमा पर्न सक्लान्, कुनै निर्णयहरू खराब हुन सक्लान्। त्यसलाई हामी सच्याउँछौँ। लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता दायाँबायाँ हुँदैन," लामिछानेले भने।

उनले रास्वपामा कामको स्पष्ट बाँडफाँट गरेको बताउँदै पार्टीका गतिविधिमा प्रधानमन्त्री नआउनुलाई अस्वाभाविक रूपमा हेर्न आवश्यक नरहेको बताए।

लामिछानेले आफूहरूहरूलाई अपार जनमत दिएको चुनावप्रति आशङ्काहरू नगर्न भन्दै लोकतान्त्रिक दल भएका हिसाबले "कम्तीमा नेपाली कांग्रेसले अर्को चुनावसँग प्रतीक्षा गर्नुपर्ने" बताए।

कांग्रेसको "शक्ति र कमजोरी भनेकै उक्त दलको इतिहास भएको" बताएका लामिछानेले उक्त दललाई आफ्नो एउटा आग्रह भन्दै बताए: "व्यक्ति बचाउन लोकतन्त्र कमजोर पार्ने काम नगर्नुहोला र व्यक्ति फसाउन पनि लोकतन्त्र कमजोर पार्ने काम नगर्नुहोला।"

एमालेको आशङ्का

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भोटेकोशी-त्रिशूलीमा आएको विनाशकारी पीडाको मारमा देश रहे तापनि सरकार चुनौतीको सामना गरेर जाने कुरामा सङ्कल्प गर्नका लागि अग्रसर नभइरहेको भन्दै आलोचना गरे।

उनले रास्वपा सभापति रवि लामिछानेले दलहरूलाई राष्ट्रिय मुद्दाहरूमा ल्याउन प्रयत्न गरे तापनि "सरकार राजनीतिक दलहरू, संसद् र नागरिकहरूसँग संवाद गर्दैन" भनेर त्यससँगै" लोकतन्त्रको भविष्यप्रति चिन्ता" उठेको बताए।

उनले जननिर्वाचित प्रधानमन्त्रीले "आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्छ, संसद्लाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न" भन्दै "लोकतन्त्रको भविष्यतर्फ हिँड्दै छौँ कि स्वेच्छाचारी शासन, अधिनायकवादतर्फ हिँड्दै छौँ" भन्ने महत्त्वपूर्ण प्रश्न बनेको बताए।

"जनताको जनादेशपछि बनेको बलियो सरकार स्थायित्वको आधार तयार पार्ने कुराको आधार बन्छ होला भन्ने हामीले विश्वास गरेका थियौँ...तर आज तपाईँ हामी सबैलाई एक प्रकारको आशङ्का छ - नेपालमा भूराजनीतिक द्वन्द्वका कारणले देशको भविष्य के हुने हो?" पोखरेलले भने।

"आज सुशासन अगाडि बढ्न थालेको छैन, सेवा प्रवाहको प्रक्रिया झन् लथालिङ्ग हुन थालेको छ... अहिले पनि [रोजगारीका लागि विदेश जाने] हाम्रा एअरपोर्टका दृश्यले परिवर्तनको सङ्केत दिएको छैन।"

प्रचण्डले देखेको खतरा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गगन थापाले "कांग्रेसमा निरन्तरतामा क्रमभङ्ग" गरेको भनेर "इतिहास रचेको" बताए।

"देश अप्ठ्यारोमा छ, लोकतन्त्रै अप्ठारोमा छ, हामीले समावेशितासहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँ, त्यो संवैधान पनि अप्ठ्यारोमा छ। अझ अहिले अहिलेको सरकारका कैयौँ अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले यो स्वेच्छाचारितातिर, अराजकतातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ " प्रचण्डले भने।

"यस्तो बेलामा संविधानलाई, लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्ने यो काममा सबै दलहरू मिलेर काम गर्न अझै जरुरी छ।"

उनले शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताका हिसाबले बाँकी जिम्मेवारी पूरा गर्न कांग्रेस सभापति थापालाई आग्रह गरे।

उनले थपे: "शान्ति सम्झौतालाई सम्पूर्ण रूपले एउटा सफल कथाको रूपमा बदलेर नेपालको नाम विश्वमा फेरि एकपटक शान्ति र लोकतन्त्रमा नयाँ इतिहास रच्ने देशको रूपमा गगन थापाजी तपाईँको नेतृत्वमा हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।"

अन्य नेताहरूले के भने?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देश लिगबाट बाहिर गएको अवस्था रहेको बताए।

"पात्र फेरिएको छ, प्रवृत्ति फेरिएको छैन," समस्या व्यवस्था र संविधानमा रहेको बताउँदै उनले भने। "मान्छे फेरेर मात्रै समस्याको समाधान हुँदो रहेनछ भन्ने यो छ महिनामा देखिन थालेको छ।"

उनले "राजा, राजनीतिक दल र युवा पुस्ता"लाई एक ठाउँमा राखेर "नवीन समझदारीमार्फत देशलाई निकास दिनुपर्ने" बताए।

श्रम संस्कृति पार्टीका नेता आरेन राईले अब दलहरूले सत्ता सञ्चालनको गरेको समय नहेरीकन "उनीहरूले गरेका राम्रा कामबाट" मूल्याङ्कन हुनुपर्ने बताए।

उनले "नेपाली कांग्रेस हल्लाद्वारा स्थापित पार्टी होइन, नेपालमा लोकतान्त्रिक गणतन्त्र, प्रजातन्त्र स्थापनाको निम्ति थुप्रै योद्धाहरूले आफ्नो निजी सपना मारेर निर्माण भएको पार्टी" भनेर आफूहरूले बुझेको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।