तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बर्लिन प्राइड कार्यक्रममा कार जोतिँदा एक जनाको मृत्यु र कैयौँ घाइते, सन्दिग्ध चालकको व्यापक खोजी
बर्लिन प्राइड कार्यक्रमको भीडमा एउटा कार जोतिँदा एक जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीले एक सन्दिग्ध व्यक्तिको पहिचान गरेको जनाए तापनि हालसम्म कसैलाई पनि पक्राउ नगरिएको बताएको छ। त्यससँगै जर्मनीको राजधानीमा ती व्यक्तिको व्यापक खोजी भइरहेको छ।
घटना शनिवार स्थानीय समय अनुसार राति १० बजेतिर प्रतिष्ठित ब्रान्डनबर्ग गेट नजिकै रहेको टियरगार्टन पार्कमा भएको थियो।
"सेतो गाडीका चालकले धेरै मानिसहरूलाई ठक्कर दिएको भनिएको छ... धेरै जना घाइते हुनुका साथै कैयौँलाई प्राणघातक हुनसक्ने चोट लागेको छ," प्रहरीले सामाजिक सञ्जालमा भनेको छ।
जर्मन चान्सलर फ्रिडरिख मेर्ट्सले घटनालाई "भयानक कार्य" भन्दै त्यसको पूर्ण रूपबाट अनुसन्धान गर्ने वाचा गरेका छन्।
बर्लिनका मेयर खाई भेग्नरले उक्त घटनालाई "स्वतन्त्र र खुला विचारधारा भएको समाजमाथिको आक्रमण" भनेका छन्। घटना भएपछि उक्त कार्यक्रम रद्द गरिएको छ।
सन्दिग्ध व्यक्तिबारे प्रहरी के भन्छ?
बर्लिन प्रहरीले सामाजिक सञ्जालमा जारी गरेको एक विज्ञप्तिमा उनीहरूले एक सन्दिग्ध व्यक्ति पहिचान गरेको र तिनको खोजीकार्य जारी रहेको जनाएको छ।
ती व्यक्ति २१ वर्षीय पुरुष अब्दुल बी हुन् र प्रहरीले ती व्यक्ति परिचित रहेको जनाएको छ।
प्रहरीले ती व्यक्तिलाई "इस्लामवादी विचारधारासँग सम्बद्ध" भनेर व्याख्या गरेको छ।
हालसम्म ती व्यक्ति पक्राउ परेका छैनन् वा त्यस घटनापछाडिको उद्देश्यबारे केही बताइएको छैन।
प्रहरीका अनुसार कम्तीमा एक जना हमलाकारी गाडीबाट निस्कँदै घटनास्थलबाट भाग्ने क्रममा केही व्यक्तिहरूलाई छुरा प्रहार गर्दै घाइते बनाएका थिए।
बर्लिनमा रहेको डीडब्ल्यूका एक जना रिपोर्टर जारेड रीडले बीबीसी न्यूजलाई बताएअनुसार हजारौँको सङ्ख्यामा प्रहरीले "मध्य बर्लिनको धेरै ठूलो भागमा" सन्दिग्ध वा सन्दिग्ध व्यक्तिहरूको खोजी गरिरहेका छन्।
एक जना प्रहरी प्रवक्ताले समाचार संस्था एएफपीलाई बताए अनुसार घटनाका खोजीका क्रममा हेलिकप्टर र थर्मल-इमेजिङ क्यामेराहरू प्रयोग गरिराखिएको छ।
प्रहरीले प्रत्यक्षदर्शीहरूलाई तस्बिर वा भिडिओहरू पठाउन भनेको छ।
क्रिस्टोफर स्ट्रीट डे कार्यक्रम के हो?
बर्लिनमा वार्षिक रूपमा आयोजना गरिने उक्त LGBT कार्यक्रममा सामान्यतया करिब १० लाख मानिसहरू आउने अपेक्षा गरिने बताइन्छ।
यस कार्यक्रम सन् १९६९ मा न्यूयोर्क सहरको क्रिस्टोफर स्ट्रीटमा रहेको स्टोनवाल इनमा LGBT समुदायमा भएको पहिलो ज्ञात विद्रोहको सम्झनामा मनाइन्छ।
प्रहरीले त्यस छापा मारेपछि मानिसहरूले दङ्गा र विरोध प्रदर्शन गरे जुन पछि एक ऐतिहासिक स्थल बन्यो।
जसकै सम्झनामा मनाइने बर्लिनको कार्यक्रममा साङ्गीतिक प्रदर्शन, राजनीतिक भाषण र सहरमा एक विशाल परेड समावेश थिए जुन जुन पार्क नजिकै समाप्त भए। र त्यसपछि साँझ अन्य कार्यक्रमहरू र उत्सवहरूको शृङ्खला समावेश थिए।
क्रिस्टोफर स्ट्रिट डे परेडको समापन ब्रान्डनबर्ग गेट अगाडि हुन्छ जुन पुनः टिअरगार्टन पार्कमा फर्कन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।