रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनले दिए सीमाबारे प्रस्टीकरण, रवि लामिछाने, गगन थापा र अन्य नेताले के भने?

    • Author, ईश्वर जोशी
    • Role, चितवन
    • Author, प्रदीप बस्याल
  • Published
  • पढ्ने समय: ६ मिनेट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा यसअघि विवादित बनेको आफ्नो अभिव्यक्तिमा प्रस्टीकरण दिएका छन्।

आफ्नो "राष्ट्रियतामाथि कुनै आशङ्का मान्नु नपर्ने" भनेका रास्वपाका वरिष्ठ नेता समेत रहेका शाहले "हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ" भन्दै त्यो प्रमाण लिनलाई ब्रिटिशको सहायताको कुरा गरिएको मात्र बताए।

"हामी हाम्रो छिमेकीसँग आफै कुरा गरेर मिलाउँछौँ," उनले थपे। "देशसँग सीमाको कुरा गर्दाखेरि उहाँहरूले पनि आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनुभयो, अचम्म लाग्यो।"

त्यहीँ बोल्दै पार्टी सभापति रवि लामिछानेले शक्तिशाली बनेको रास्वपा "प्रतिशोध र दम्भभन्दा पर गएर" काम गर्ने बताए।

"देश रास्वपाको हातमा छ, देश सुरक्षित छ," लामिछानेले भने। "आफ्नो दल मात्र होइन अन्य दलहरू पनि सही बाटोमा गए भने देश राम्रो बाटोमा जानेछ।"

रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेले संयुक्त रूपमा आइतवार दिउसो महाधिवेशनको उद्घाटन गरेका हुन्।

स्थापनाको चार वर्षमै सहज बहुमतसाथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको रास्वपाको प्रथम महाधिवेशन चितवनमा आइतवार सुरु भएर ३ दिन चल्ने कार्यतालिका छ।

आफू सहभागी दोस्रो आमनिर्वाचनमा चौथोबाट पहिलो बन्न सकेको यस दलले पहिलो महाधिवेशनबाट मुख्य एजेन्डाका रूपमा "नीति र नेतृत्व निखार"को काम गर्ने पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले यसअघि बीबीसीलाई बताएका थिए।

कांग्रेस, एमाले र नेकपाका नेताहरूले के भने

नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाको जनमत "स्थिरताका लागि सही ढङ्गले अघि बढोस्" भन्दै उक्त दल आफ्नो "प्रतिस्पर्धी हो, दुश्मन होइन" भने।

उनले इतिहासमा जनमत पाएका दलहरूले आफूलाई सम्हाल्न नसक्दा दलको मात्र नभएर "पुस्तौँ पुस्ता खेर गएको" बताए।

"गल्ती गरेका बेला आफ्नै नेतालाई पनि प्रश्न गर्ने साहस गर्नुहोला, हामीले ढिलो गर्‍यौँ र त्यसको सजाय पनि भोगिसक्यौँ," थापाले भने। "जहाँ विधि मिचिन्छ, त्यहाँ नेपाली कांग्रेस तपाईँलाई प्रश्न गरेको पाउनुहुन्छ।"

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले रास्वपा आन्दोलनलाई सङ्गठनमा रूपान्तरण गर्ने 'टर्निङ प्वइन्ट'मा रहेको बताए।

"चुनाव, सरकार या लोकतन्त्रहरू मुलत साधनहरु हुन। साध्य चाहीँ जनताको श्रीवृद्धि र राष्ट्रको समृद्धि हो। तपाईँहरूको काँधमा जुन एउटा असिम जनमत छ त्यो ठिक ढङ्गले सदुपयोग भएन भने त्यसले निम्त्याउन सक्ने जोखिम उत्तिकै भयावह हुन्छ भन्ने पाइला-पाइलामा हेक्का राख्नुपर्छ भन्न चाहन्छु," ज्ञवालीले भने।

उनले रास्वपाकै बाचापत्रसँग मेल नखानेगरी उनीहरूका केही प्रारम्भिक गतिविधिले केही प्रश्न सिर्जना गरेको भन्दै नेपाललाई केन्द्रमा राख्न सुझाए।

"यदि न्यायालयहरू कमजोर भए, राष्ट्रपति संस्था कमजोर भयो, यदि संसद कमजोर भयो, आलोचनाका स्वरहरू कमजोर भए, यदि जनताका स्वरहरूलाई कमजोर पार्ने प्रवृत्ति देखियो भने, पारदर्शीता होइन, अपारदर्शितातिर गइयो भने स्वाभाविक छ, त्यो जनमत सधैभरी नरहन पनि सक्छ।"

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले विशाल जनमतसहित आएको रास्वपाको महाधिवेशनका नतिजाले "समग्र राष्ट्रिय जीवनलाई अर्थ राख्ने" भन्दै सबैले चासोपूर्वक हेरेको बताए।

"थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्नेमा तपाईँहरूको पर्याप्त ध्यान पुग्ने नै छ भन्ने हाम्रो विश्वास छ," उनले भने।

"लोकतन्त्रमा शक्ति जनताले दिन्छन्, आवश्यक परे फिर्ता पनि लिन्छन्... राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्छ, अल्पमतले धैर्यता।"

अन्य दलका नेताहरूले के भने?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कुनै पार्टी वा व्यक्तिको जीवनमा आउने दुर्लभ अवसर यसपटक रास्वपा र त्यसको नेतृत्वले पाएको बताए।

उनले संविधानमा पनि समस्या रहेको भन्दै थपे: "आज जनता राजनीतिक दल, दर्शन र सीमाभन्दा एक कदम पर सरेर निर्णय गर्न सक्षम भएको छ... यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ। बालेनले राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका छन्। तपाईँहरूको विशिष्ट जिम्मेवारी छ।"

जनता समाजवादी पार्टी-नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको "आर्थिक विकास र समृद्धिका लागि सुशासन र सामाजिक न्याय महत्त्वपूर्ण रहेको" भन्दै महाधिवेशनले ऐतिहासिक निर्णयहरू गर्न शुभकामना दिए।

उनले थपे: "नयाँ युगमा, नयाँ परिवर्तित सन्दर्भमा नयाँ युवाहरू नेतृत्वमा आउनुभएको छ...हामी सहकार्य गरेर अगाडी बढ्ने नै छौँ।"

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपाको जनमतलाई पूरा कार्यकाल काम गर्न शुभकामना दिँदै दलभित्र एक भएर काम गर्न शुभकामना दिए।

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू प्रतिस्पर्धी नभईकन सहयात्रीका रूपमा शुभकामना दिन आएको बताए। उनले महाधिवेशन गरिरहेको रास्वपालाई "ऐतिहासिक परिघटना"का रूपमा अर्थ्याए।

"जुन आन्दोलनबाट उदय हुनुभएको छ, सहिदहरूको सपनाको आशा कहिल्यै नबिर्सनु होला," उनले भने।

"यो दुई तिहाइ [नजिकको] बहुमत भनेको जिम्मेवारी हो…यदि हामी बाचा पुरा गर्न चुक्यौँ भने जनता र हावामा धेरै समानता छ। यो कसैको पनि हुँदैन।"

रास्वपा नेताहरूले के भने

रास्वपा सभापति लामिछानेले आफ्नो दललाई कमजोर पार्ने तागत कसैसँग नरहेको बताए।

"आज जन्मेकाहरूले मात्र होइन, भोलि यस धर्तीमा जन्मनेहरूले पनि भोलि मलाई र बालेनजीलाई यो मौकालाई किन गुमाउन दियौ भनेर प्रश्न गर्नेछन्। हामी त्यो प्रश्नलाई सदाका लागि भाँच्न चाहन्छौँ इमान्दारिताका साथ," लामिछानेले भने।

गुटको राजनीतिमा लागेमा इतिहासले आफूहरूलाई धिक्कार्ने भन्दै लामिछानेले "षड्यन्त्रको राजनीतिको बिउ रोपेको बाँचुन्जेल नचाहेको" बताए।

सभापति लामिछानेले विगतका हरेक राजनीतिक क्रान्तिको "सम्मान राख्ने" भन्दै र "बदलिएको परिस्थितिमा साझा प्रतिबद्धता रहेको" बताए।

प्रधानमन्त्री बालेनले पार्टीलाई एक बनाउने भन्दै कार्यकर्ताहरूलाई "समूहहरू" निर्माण नगर्न सुझाए।

हालै सार्वजनिक राहदानी छपाइ सम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारिहरूसँग घण्टौँ 'केरकार गरिएका' भनिएका विवरणलाई पुष्टि गर्नेगरी उनले "आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभइ ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने" बताए।

देशमा सबै चिज नियन्त्रणमा रहेको दाबी गर्दै प्रधानमन्त्रीले आफूहरू नियममै बसेर काम गर्ने प्रतिबद्धता जनाए।

रास्वपालाई "विकासवादी र काम गर्ने पार्टी" बताएका उनले यहि कार्यकालमा सुकुम्बासी, सहकारी समस्या समाधान गर्ने र आउँदो चुनावमा नयाँ मुद्दा लिएर जाने बताए।

अर्थमन्त्री समेत रहेका रास्वपा उपसभापति स्वर्णीम वाग्लेले रास्वपा "विद्रोहको लोकतान्त्रिक आवाज" बनेको बताउँदै यतिखेर "लोकतन्त्रको संस्थागत गुणस्तर धेरै माथि उठाउनुपर्ने" खाँचो औँल्याए।

"हामी नागरिक केन्द्रीत लोकतन्त्रतर्फ जान चाहन्छौँ... हामी कसैलाई हराउन भन्दा पनि नेपाललाई जिताउन आएका हौँ," वाग्लेले भने।

"रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ...आजबाट हामी आन्दोलनको पार्टीलाई संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौँ।"

प्रतिनिधि र कार्यकर्ताका अपेक्षा

पोखराबाट महाधिवेशनमा सहभागी हुन पुगेका टेकराज सापकोटा रास्वपाले पाएको पछिल्लो चुनावी नतिजाबीच महाधिवेशनमा सहभागी हुँदा आफू निकै उत्साहित बनेको बताउँछन्।

"रास्वपाको करिब दुई तिहाइ सिट आएपछि जनतामा रहेको उत्साह अब देशले केही गति लिन्छ भन्ने आशामा फेरिएको छ। त्यसैले महाधिवेशनमा हामी सबैको चासो छ," उनी भन्छन्।

चितवनकै ममता सापकोटा "इतिहास रच्ने महाधिवेशन"मा सबैले "एकताबद्ध महसुस गर्नुपर्ने" बताउँछिन्।

"त्यसरी पार्टीलाई कसरी अघि बढाउने र देशको विकास कसरी गर्ने भन्ने मात्र सबैको ध्येय हुन आवश्यक छ। पद भन्दा पनि देश ठूलो हो भन्ने सोच्न आवश्यक छ," सापकोटाले भनिन्।

सर्लाहीबाट आएका नवलकिशोर साहले देशमा व्याप्त "बेथिति र भ्रष्टाचारविरुद्धको अभियानमा" जुटेका पार्टी नेतृत्वलाई साथ दिन चितवन आइपुगेको बताएका छन्।

'तदर्थबाट निर्वाचित' केन्द्रीय समिति बन्दै

महाधिवेशनमा करिब ३ हजार ७०० प्रतिनिधि सहभागी रहेको रास्वपाले जनाएको छ।

तीन दिने महाधिवेशनले पार्टीको "हालको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति बनाउने" भनिएको छ।

बन्द सत्रमा गरिने प्रस्तावमा केन्द्रीय समितिमा १५१ जना निर्वाचित हुने र ७ जना प्रदेश सभापति पदेन सदस्य हुने व्यवस्था राखिएको बताइएको छ।

पार्टी सभापतिले उल्लेख्य सङ्ख्यामा केन्द्रीय सदस्य मनोनयन गर्न पाउने गरी विधान संशोधनको काम भइरहेको रास्वपा नेताहरूले बताएका छन्।

महाधिवेशनमा दुई चरणको निर्वाचन प्रक्रिया हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू निर्वाचित हुने रास्वपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताए।

दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरू मध्येबाट पदाधिकारी निर्वाचन हुने व्यवस्था गरिएको बताउँदै केसीले दुवै चरणमा सबै प्रतिनिधिहरूले मतदान गर्न पाउने जनाएका छन्।

महाधिवेशनको दोस्रो दिन सोमवारदेखि नै निर्वाचन प्रक्रिया सुरु भएर तेस्रो दिन ९ गते निर्वाचन हुने बताइएको छ।

निर्वाचनको लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिने र देशबाहिर रहेका रास्वपाका प्रतिनिधिहरूले मोबाइल एपमा मतदान गर्न पाउने रास्वपाले बताएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।