स्कटल्यान्डविरुद्ध नेपालको महत्त्वपूर्ण जित, पाँचौँ स्थानमा उक्लियो

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

शीर्ष स्थानमा रहेको स्कटल्यान्डविरुद्ध ६ विकेटको प्रभावकारी जित हात पार्दै नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप लीग २ को शीर्ष ५ मा उक्लिएको छ।

सन्दीप लामिछाने र ललितनारायण राजवंशीको स्पिन जादु चलेपछि सुरुमा नेपालले विपक्षीलाई ३९.१ ओभरमा १९४ रनमा रोक्यो। त्यसपछि कप्तान रोहित पौडेल र ईशान पाण्डेको अर्धशतकको मद्दतले नेपालले ३८.१ ओभरमा लक्ष्य पूरा गर्‍यो।

लीग २ शृङ्खलामा पुछारमा सङ्घर्ष गर्दै आएको नेपाली टोली पहिलो पटक शीर्ष ५ मा उक्लिएको हो।

आजको २ अङ्कपछि नेपालले तालिकाको पाँचौँ स्थानमा रहेको नामिबियासँग बराबरी गरेको हो।

नामिबिया र नेपाल दुवैको समान २२ अङ्क छ। तर रन रेटमा नेपाल अगाडि रह्यो र नामिबिया छैटौँमा पुग्यो।

क्यानडा भने सातौँ स्थानमा झरेको छ। टोलीको २४ खेलबाट २१ अङ्क छ। पुछारमा रहेको यूएईको १४ अङ्क छ।

बिनादबाव महत्त्वपूर्ण अङ्क

कुल ३८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डविरुद्ध बिना कुनै सङ्घर्ष सहज जित निकाल्नु नेपालको लागि सुखद पक्ष रह्यो।

जम्मा ५८ रनको सुझबुझपूर्ण साझेदारीपछि ओपनर जोडी कुशल भुर्तेल (२८ रन) र आशिफ शेख (२९ रन) बीचको एक असमझदारीले आशिफ रन आउट भए।

यो खराब स्थितिबाट सम्हालिन नपाउँदै कुशल पनि 'एलबीडब्यू'बाट आउट भएपछि नेपालको इनिङ्स केही धरमराउन पुग्यो।

तर यसले खेलमा फरक परेन। बायाँहाते ईशान पाण्डे र कप्तान रोहित पौडेलले खेल सहजै नियन्त्रणमा राख्दै टोलीलाई जिततिर डोर्‍याए।

राष्ट्रिय जर्सीमा दोस्रो खेल खेलिरहेका ईशानले करिअरको पहिलो अर्धशतक प्रहार गरे। उनले ६१ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे। उनी मार्क वाटबाट 'कट एन्ड बोल्ड' हुन पुगेका थिए।

धैर्यपूर्वक खेलिरहेका कप्तान रोहितले पनि ७८ बल खेलेर अर्धशतक पूरा गरे, जुन उनको १२ औँ एकदिवसीय अर्धशतक हो। उनी ७४ रन बनाउँदै अविजित रहे।

स्पिनर हाबी हुँदा

टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णयलाई नेपाली स्पिनरहरूले गलत साबित गरिदिए।

सुरुआतको पावर प्लेमा स्कटल्यान्डका खेलाडीहरू आक्रामक देखिएका थिए। विशेष गरी ब्रान्डन म्याकमुलेनले ४४ बलमा ७३ रन बनाएर प्रभाव जमाएका थिए।

तर जब खेलमा नेपाली स्पिनरहरू हाबी हुन थाल्यो, स्कटल्यान्डको रन गति कम हुन गयो।

म्याकमुलेन आउट भएपछि स्कटिस खेलाडीहरूको विकेट लगातार जसो झर्न थाल्यो। र टोलीले ४० ओभर भन्दा बढी खेल्न सकेन।

जसका कारण एक समय ठुलो स्कोर बनाउने सङ्केत गरेको स्कटल्यान्ड २०० भन्दा कम स्कोरमा खुम्चिन पुग्यो।

सो क्रममा अफ स्पिनर दीपेन्द्र सिंह ऐरीले १ विकेट, सन्दीपले ३ तथा ललितले सर्वाधिक ४ विकेट लिए।

म्याकमुलेन पछि मिचेल इङ्लिसले ५१ रनको अर्ध शतक पूरा गरेका थिए।

सन्दीपको कीर्तिमान

सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा कम खेल खेलेर छिटो १५० विकेट लिने बलरको विश्व कीर्तिमान बनाए।

सन्दीपले ७३ इनिङ्स खेलेर १५० विकेट लिएका हुन् । यसअघि त्यो कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो। ७७ इनिङ्स खेलेर उनले यो उपलब्धि प्राप्त गरेका थिए।

सन्दीपले आफ्नो पहिलो ओभरमा नै ओपनर जर्ज मुन्सीलाई बोल्ड गर्दै विकेट सङ्ख्या १४९ पुर्‍याएका थिए। त्यसपछि उनले कीर्तिमानी विकेट लिन ब्रान्डन म्याकमुलेनलाई आउट बनाए।

खेलमा प्रभाव देखाइरहेका म्याकमुलेनलाई सन्दीपले इशान पाण्डेबाट क्याच आउट गराएका थिए।

मिचेल लिस्कलाई बोल्ड गर्दै उनले विकेट सङ्ख्या तीन पुर्‍याए।

यस्तै ललितले पनि सोमवारकै खेलबाट ५० ओडीआई विकेट पूरा गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।