इरानसँग हस्ताक्षर भइसकेको र 'छिट्टै' विवरणहरू सार्वजनिक गरिने ट्रम्पको दाबी

तस्बिर स्रोत, EPA
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्यसम्बन्धी सहमतिमा हस्ताक्षर भइसकेको र त्यसका विस्तृत विवरण "छिट्टै" सार्वजनिक हुने बताएका छन्।
"यसमा हस्ताक्षर भएको छ भन्न पाउँदा मलाई एकदमै खुसी लागेको छ," जी-सेभेन सम्मेलनका क्रममा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँगको कुराकानीमा उनले भने।
अमेरिकी वरिष्ठ अधिकारीहरूले सम्झौतामा उल्लेख भएका विषयहरू खुलाउन सुरु गरेका छन्। सम्झौतामा औपचारिक हस्ताक्षर जिनिभामा भएकै दिन होर्मुज जलमार्ग पुन: खुला हुने उनीहरूले बताएका छन्।
यसै साता इरानको परमाणु कार्यक्रमबारे प्राविधिक वार्ता पनि सुरु हुने बताइएको छ। इरानमाथिका प्रतिबन्ध र उसका सम्पत्ति फुकुवा गर्ने विषय सम्झौताको पालनामा उसले देखाएको प्रतिबद्धतामा निर्भर रहने अमेरिकी अधिकारीहरूको भनाइ छ।
परमाणु कार्यक्रमबारे के छ?
अमेरिकी उपराष्ट्रपति जे डी भान्सले सोमवार अमेरिकी प्रसारक सीएनएनसँग बताए अनुसार इरानसँगको सम्झौताको प्रारूप "डेढ पृष्ठ लामो" छ।
भान्सले आगामी दिनमा हुने वार्तामा थप विस्तृत विषयहरूमा काम हुने बताए।
भान्सले एउटा हरफमा इरानले "क्षेत्रीय शान्ति र स्थिरता"का लागि प्रतिबद्धता पनि जनाएको बताएका छन्। जसमा "आतङ्कवादी सङ्गठनलाई" आर्थिक सहयोग रोक्ने विषयसमेत रहेको उनको दाबी छ।
"त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ उनीहरूले परमाणु अस्त्र नबनाउने आधिकारिक प्रतिबद्धता जनाउन लागेका छन्,"भान्सले भनेका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार उक्त सम्झौतामा ट्रम्प, भान्स र इरानका सभामुख मोहम्मद बागेर गालिबाफले विद्युतीय हस्ताक्षर गरिसकेका छन्।
उनीहरूका अनुसार मङ्गलवारसम्म उक्त सम्झौताका थप विवरणहरू सार्वजनिक हुने छन्। ट्रम्पले चाहिँ शुक्रवारको हस्ताक्षर कार्यक्रमपछि सम्झौताको पूर्ण विवरण "छिट्टै" सार्वजनिक हुने बताए।
"त्यो निकै शक्तिशाली दस्ताबेज छ र म त्यसलाई सम्भवतः निकै छिटो सार्वजनिक गर्न चाहन्छु," उनले भनेका छन्।
लेबननबाट इजरेली सेना हट्छ?
हाल भएको सहमति अनुसार दुवै पक्षले थप ६० दिनका लागि युद्धविराम कायम राख्ने छन्। त्यसबीचमा सम्झौताका बाँकी विषयहरू टुङ्गो लगाइने छ।
अमेरिका र इरानबीच सहमति भएपछि पनि लेबननमा इजरेली सेना र इरान समर्थित हिज्बुल्लाहबीच अझै द्वन्द्व जारी छ।
यसअघि दुई पक्षबीच सहमति भएको घोषणा गर्ने क्रममा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले "तत्कालबाट लागु हुने गरी लेबनन सहितका सबै मोर्चामा सैन्य कारबाही स्थायी रूपमा अन्त्य हुने" बताएका थिए। अमेरिका र इरानबीचको वार्तामा पाकिस्तानले मध्यस्थता गरिरहेको छ।
अमेरिकी अधिकारीहरूले पनि युद्धविरामको प्रारूपमा लेबनन पनि समेटिएको बताएका छन्। तर लेबननको भूभागबाट इजरेली सेना फिर्ता लैजाने सर्त त्यसमा नसमेटिएको उनीहरूको भनाइ छ। इजरेलसँग आत्मरक्षाको अधिकार रहेको अमेरिकी अधिकारीहरू बताउँछन्।
सोमवार साँझ इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले पनि इजरेली सेनाहरू आवश्यकता भएसम्म लेबनन, सिरिया र गाजाका प्रमुख सुरक्षा इलाकामा रहने बताएका थिए।
अमेरिकी राष्ट्रपतिले आइतवार इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी अन्त्य गर्न निर्देशन दिइएको र सम्झौतामा हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग पनि खुल्ने बताएका थिए। सामाजिक सञ्जालमा सोमवार उनले तेल भरिएका जहाजहरू होर्मुजतर्फ अघि बढ्न सुरु गरेको उल्लेख गरे।
इरानका उपविदेशमन्त्री काजेम गार्रिबआबादीले इरानी सरकारी टेलिभिजनसँगको टेलिफोन अन्तर्वार्तामा १४-१५ घण्टा लामो छलफलपछि सम्झौताको प्रारूप टुङ्गो लागेको बताएका थिए। उनले त्यसलाई इरानको जित भनेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















