भारतमा दुई रेल दुर्घटना

रेलको लीक र नदीमाथिको पुलमा पानी भरिएकाले रेलका डिब्बाहरु लीक बाहिर गएको बताइएको छ
तस्बिरको क्याप्शन, रेलको लीक र नदीमाथिको पुलमा पानी भरिएकाले रेलका डिब्बाहरु लीक बाहिर गएको बताइएको छ
Published

मध्य प्रदेशको हरदा जिल्ला नजिक कामायनी एक्सप्रेस र जनता एक्सप्रेसको केहि डिब्बा लिक बाहिर जाँदा दुइ दर्जनजतिको ज्यान गएको छ।

बीबीसी हिन्दीका अनुसार दुर्घटना हरदाबाट २५ किलोमीटर टाढा खिडकिया र भिंगरीबीच मंगलबार राती करिब साढे एघारबजे भएको हो।

भोपाल डिभिजन जनसंपर्क अधिकारी आईएस सिद्दीकीका अनुसार दुइ सय भन्दा बढिलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ।

उद्दार जोडतोडले भइरहेको छ।

उद्दार

आपतमा राहत पुर्याउने संगठन एनडीआरएफका महानिर्देशक ओपी सिंहले भने ३५ सदस्यीय टोली भोपालबाट घटनास्थलतर्फ पठाइसकिएको छ।

भोपालबाट सेनाको समुह पनि पठाइएको छ।

भोपाल डिविजनका डीआरएम आलोक कुमारले घटनास्थलबाट बीबीसीलाई भने "यहाँ हेर्दा लीक मुनिको माटो बाहिर निस्केकाले ट्रेन पल्टेर नदीमा खसेको जस्तो देखिएको छ।"

मानिसहरुको नदीमा डुबेर मृत्यु भएको थियो।

कारण

रेलवे प्रवक्ता अनिल सक्सेनाका अनुसार 'लिकमा पानी थियो, पुल डुबेको थियो। त्यसकै कारण यि दुइ रेलका डिब्बाहरु लिक बाहिर जान पुगे।'

जनता एक्सप्रेस जबलपुरदेखि मुंबई गइरहेको थियो।

रेल मन्त्री सुरेश प्रभुले 'रेलवे प्रशासन र मध्य प्रदेश सरकारले यात्रीहरु बचाउने कोशीश गरिरहेको' ट्वीट गरेका छन्।