फिफा विश्वकप कतार २०२२: आफैँले बनाएको रङ्गशालामा आयोजित खेल यसरी हेर्छन् विदेशी कामदार

आर्जेन्टिना र मेक्सिकोबीच भएको खेल हेर्दै कतारस्थित विदेशी कामदारहरू
तस्बिरको क्याप्शन, आर्जेन्टिना र मेक्सिकोबीच भएको खेल हेर्दै कतारस्थित विदेशी कामदारहरू
Published

कतारको अल यानूब रङ्गशालाभन्दा २० किलोमिटरटाढा एउटा ठूलो स्क्रीनमा हजारौँ विदेशी कामदारहरू विश्वकप फुटबलका खेलहरू हेर्छन्। आफैँले निर्माणमा सहयोग गरेको उक्त रङ्गशालामा हुने खेल हेर्ने यो नै उनीहरूको सबैभन्दा राम्रो व्यवस्था हो।

सुरक्षाका लागि हामीले कुरा गरेका श्रमिकहरूको नाम परिवर्तन गरेका छौँ।

शुक्रवार राति दोहाका शपिङ मल र रेस्टुराँ भएका ठाउँभन्दा पर एशियन टाउन क्रिकेट रङ्गशालामा हजारौँ विदेशी कामदार भेला भए।

रङ्गशाला प्रवेश गर्ने ढोकामा टाँगिएका ठूला ब्यानरमा अरबी, अङ्ग्रेजी र हिन्दी भाषामा "यो फिफा विश्वकप सर्वोत्कृष्ट बनाउन योगदानका लागि तपाईँलाई धन्यवाद" लेखिएको छ।

"यो गरिबहरूको 'फ्यान जोन' हो," घानाबाट कामका लागि कतार पुगेका जोनले भने। त्यहाँ उपस्थित हजारौँ मानिसमध्ये उनले पनि विश्वकपका लागि तयार पारिएका संरचना निर्माणमा काम गरेका छन्।

"मेरो करार दुई वर्षको लागि भए पनि म १० वर्ष बस्न चाहन्छु," उनले भने।

"कहिलेकाहीँ कतारका प्रहरीलाई सम्पर्क गर्न सकिन्छ वा सधैँ उनीहरूबाट भाग्नुपर्छ भन्ने कुरा थाहा नभए पनि मलाई कतार मन पर्छ। उनीहरू (प्रहरी) डरलाग्दा छन्," हाँस्दै उनले भने।

तर सबैको भावना जोनको जस्तो छैन।

"हामीले दास जसरी काम गर्छौँ," युगान्डाबाट आएका मोसेसले भने।

घाना र पोर्चुगलबीच भएको खेल हेर्दै दोहास्थित कामदार र अन्य दर्शकहरू
तस्बिरको क्याप्शन, घाना र पोर्चुगलबीच भएको खेल हेर्दै दोहास्थित कामदार र अन्य दर्शकहरू

"यहाँ गर्मी उच्च छ र कहिलेकाहीँ हामीले सहमति जनाएकोभन्दा लामो समयसम्म काम गर्नुपर्छ। सम्झौतामा आठ घण्टा उल्लेख भए पनि हामीले १३ देखि १५ घण्टासम्म काम गरिरहेका छौँ।''

"तैपनि मेरा भाइहरूले खान र पढ्न पाऊन् भनेर म यहाँ टिकिरहेको छु," उनले थपे।

विदेशी श्रमिकलाई गरिएको व्यवहारप्रति लिएर कैयौँ मानवाधिकारवादी संस्थाहरूले विश्वकपमा कतारको चर्को आलोचना गरिरहेका छन्।

सन् २०२२ को विश्वकपका पूर्वाधार निर्माणका क्रममा दर्जनौँ विदेशी कामदारहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनले दाबी गरेको छ।

मोसेसका अनुसार कतारमा सँगै काम गरेका उनका दुई साथीको मृत्यु भयो। उनको दाबी बीबीसीले स्वतन्त्र रूपमा पुष्टि भने गर्न सकेको छैन।

"एक जना त गर्मीका कारण अचेत भयो र उसको मृत्यु भयो," उनले भने।

विदेशी श्रमिकको मृत्युबारे बीबीसीले मागेको प्रतिक्रियामा कतारका निकायहरूले उत्तर दिएनन्।

दोहामा विदेशी कामदारहरू एउटा विशाल स्क्रीनमा विश्वकप फुटबलको एउटा खेल हेर्दै
तस्बिरको क्याप्शन, दोहामा विदेशी कामदारहरू एउटा विशाल स्क्रीनमा विश्वकप फुटबलको एउटा खेल हेर्दै

तर सरकारका एक प्रवक्ताले केही समयअघि बीबीसीलाई अन्य खाडी राष्ट्रको तुलनामा कतारले कैयौँ सुधारका योजना लागु गरेको र त्यसले विदेशी श्रमिकको काम गर्ने अवस्थामा व्यापक सुधार ल्याएको बताएका थिए।

कतारले न्यूनतम पारिश्रमिकको व्यवस्था गरेको छ र विवादित कफाला प्रणालीमा रोक लगाएको छ।

उक्त प्रणालीमा रोजगारदाताको अनुमतिबिना जागिर फेरे कामदारलाई मुद्दा हाल्न, पक्राउ गर्न र स्वदेश फिर्ता पठाइदिन सक्ने व्यवस्था थियो।

तर हामीले कुराकानी गरेका एक दर्जन श्रमिकले न्यूनतम पारिश्रमिक [१,००० कतारी रियाल (३६,००० रुपैयाँभन्दा केही बढी)] कमाउनका लागि आफूहरूले औसतमा साताको छ दिन १२ घण्टाभन्दा बढी काम गर्नुपरेको बताए।

दोहासम्म पुग्ने खर्च धान्न आफूले नसक्ने उनीहरूको दुखेसो छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कतार रङ्गशाला बनाउने कामदारका आफन्तहरू किन पीडामा बाँचिरहेका छन्

'पिँजडामा जस्तो'

"मलाई पिँजडामा परे जस्तो अनुभूति हुन्छ," जोनले भने।

"प्रत्यक्ष रूपमा खेल हेर्न जाने कुरा त मैले सोचेकै छैन। सायद कुनै समय म अलि स्वतन्त्र हुनेछु। तर यो 'फ्यान जोन' हाम्रा लागि हो र म यसका लागि कतारलाई धन्यवाद दिन्छु। मलाई यो मन परेको छ," उनले थपे।

हामीले कुरा गरेका अधिकांश श्रमिकहरूले कतारी निकायसँग भन्दा पनि आफूले काम गरेका कम्पनीहरूप्रति आफू बढी निराश रहेको बताए। यद्यपि उनीहरूले कुन कम्पनीमा काम गर्छन् भन्ने खुलाएनन्।

पत्रकारहरूसँग कुरा नगर्न रोजगारदाताले चेतावनी दिएको उनीहरूले बताए।

"हामी कुराकानी गर्न सक्दैनौँ। हामीलाई यहाँ सहज छैन, तर हामीमा पर्न समस्या चाहन्नौँ," एक श्रमिकले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कतारीहरूले आफ्नै देशमा भइरहेको विश्वकप कसरी हेरिरहेका छन्?

सुधार

मानवाधिकारवादी संस्था ह्यूमन राइट्स वाचले पनि कतारले केही सुधार गरेको स्वीकार गरेको छ।

तर "आप्रवासी कामदारहरू देशमा प्रवेश गर्न, आवास र रोजगारीका लागि आफ्ना रोजगारदातामा पूर्ण रूपमा निर्भर" रहनुपरेको उसको भनाइ छ।

"रोजगारदाताले आफ्नो दायित्व पूरा गर्न नसक्दा कुनै गल्ती नभए पनि श्रमिकहरू कागजपत्रविहीन अवस्थामा पुग्न सक्छन् र यसको परिणाम रोजगारदाताले नभएर श्रमिकहरूले भोग्छन्।"

मोसेस भन्छन्, ''हामीले कम्पनीका लागि धेरै गरेका छौँ, तर हामीले भने निकै कम पाउँछौँ। जागिर फेरियोस् भनेर मैले प्रार्थना गरिरहेको छु।"

"विश्वकपपछि पनि केही परिवर्तन हुँदैन भन्ने मलाई लाग्छ। यहाँको अवस्था झन् नराम्रो हुन सक्छ।"

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, साउदी अरबका एक व्यक्तिले कतार विश्वकप हेर्न १६ सय किलोमिटर पैदल यात्रा गरेका छन्
भिडिओ क्याप्शन सुरु हुँदैछ, कतारी लुगामा फुटबलका प्रशंसक