टिन्डर १० वर्षमा: यस्तो छ अनलाइन डेटिङको विकासक्रम

अनलाइन डेटिङको भविष्य कस्तो होला?
तस्बिरको क्याप्शन, अनलाइन डेटिङको भविष्य कस्तो होला?
    • Author, रिकार्डो सेनरा
    • Role, बीबीसी विश्वसेवा
  • Published

"मैले आफ्नो प्रेमीसँग बिहे गरेँ... धन्यवाद टिन्डर," अमेरिकाको टाकोमाकी २४ वर्षीया अलेक्सिस गुटिरेजले ट्वीट गरिन्।

उनले मोबाइलबाट प्रेमी भेट्न पाइन् - टिन्डर एपबाट। रुचि भए 'स्वाइप राइट' र नभए 'स्वाइप लेफ्ट' गर्ने सुविधायुक्त उक्त डेटिङ एप सुरु भएको १० वर्ष पुगेको छ।

सुरु भएको एक दशकमा अनलाइन डेटिङको बढ्दो बजारमा टिन्डर अग्रणी नै छ। अहिले टिन्डरजस्ता १,५०० भन्दा धेरै एप छन् भने तिनले सन् २०२२ मा कुल दुई अर्ब ८५ करोड डलरको कारोबार गरेको जर्मन डेटा वेबसाइट स्टाटिस्टाले जनाएको छ।

तर यो एपले प्रेम, यौन अनि सम्बन्धहरूमा कस्तो प्रभाव पार्‍यो अनि आगामी दिनमा के होला? अनलाइन डेटिङको विकासक्रमको लेखाजोखा यहाँ प्रस्तुत गरिएको छ।

'पहिलो डेटिङ विज्ञापन'

प्रेमको खोजीमा मानिसहरू पहिला लोन्ली हार्ट कोलममा विज्ञापन गर्ने गर्थे
तस्बिरको क्याप्शन, प्रेमको खोजीमा मानिसहरू पहिला लोन्ली हार्ट कोलममा विज्ञापन गर्ने गर्थे

संसारमा सबभन्दा पहिलो डेटिङ विज्ञापन सन् १७२७ मा प्रकाशित भएको मानिन्छ।

उक्त विज्ञापन म्यान्चेस्टर विक्ली जर्नलमा प्रकाशित भएको थियो र त्यो 'आफ्नो जीवन बाँड्ने' व्यक्तिको खोजीमा रहेकी एउटी अङ्ग्रेज महिलाले लेखेकी थिइन्।

तर त्यसको परिणाम कुनै प्रेम कहानीमा भने पटक्कै परिणत हुन पाएन।

उक्त विज्ञापन दिएकोमा हेलन मरिसनलाई उल्टै सजाय दिइयो। उनलाई त्यहाँका मेयरले चार साताका निम्ति मानसिक अस्पताल पठाइदिएको लाफाम क्वार्टर्ली लिटररी म्यागजीनले उल्लेख गरेको छ।

स्वाभाविक बन्दै डेटिङ एप

सेप्टेम्बर १५, २०२२ मा टिन्डर सुरु भएको १० वर्ष पुगेको छ
तस्बिरको क्याप्शन, सेप्टेम्बर १५, २०२२ मा टिन्डर सुरु भएको १० वर्ष पुगेको छ

तीन शताब्दीपछि हिजोआज संसारभरिका करिब ३० करोड मानिस रोमान्टिक सम्बन्धका निम्ति व्यक्तिगत विज्ञापन, डेटिङ एप वा प्रविधिको उपयोग गर्छन्।

डेटिङ एपहरू सुरु हुनुभन्दा पहिले मानिसहरूले यस्ता विज्ञापन प्रकाशित गर्ने कोलमलाई 'लोन्ली हार्ट कोलम' भनिन्थ्यो।

अहिले अनलाइन डेटिङ एपको प्रयोगबारे पहिले वा एक दशकअगाडि जति पनि सङ्कोच मान्नुपर्ने अवस्था छैन। समाज अहिले हेलनको समयभन्दा त कहाँ हो कहाँ आइपुगेको छ।

'मैले टिन्डरमा पति फेला पारेँ'

'मैले प्रेम वा बिहेको आशा गरेकी थिइनँ,' टिन्डरमा पति भेटेकी अलेक्सिस गुटिरेजले भनिन्
तस्बिरको क्याप्शन, 'मैले प्रेम वा बिहेको आशा गरेकी थिइनँ,' टिन्डरमा पति भेटेकी अलेक्सिस गुटिरेजले भनिन्

चार वर्षअगाडि टिन्डरमा स्वाइप राइट (कुनै व्यक्तिको प्रोफाइलमा चासो लागेमा गरिने कार्य) गर्दा अलेक्सिस गुटिरेज खासै आशावादी थिइनन्।

तर भर्चूअल कुराकानी गरेको "एक वा दुई सातापछि" उनीहरूले प्रत्यक्ष भेट्ने निर्णय गरे। "उनी मलाई लिन आउँदा निकै आत्तिए जस्तो देखिन्थे। तर भाग्यवश म आत्तिएकी थिइनँ," उनी सम्झिन्छिन्।

"मैले प्रेम वा बिहेको आशा गरेकी थिइनँ। किनभने वास्तवमा अधिकांश युवा पुरुषहरू गम्भीर सम्बन्धभन्दा पनि यत्तिकै भेटघाटका निम्ति उत्सुक हुन्छन्," हालै बिहे गरेकी गुटिरेजले बीबीसीलाई बताइन्।

'मानिसहरू रूपमा ज्यादा चासो राख्छन्'

चेल्सी स्टर्लिङ
तस्बिरको क्याप्शन, 'मानिसहरू म के सोच्छु वा भन्छुभन्दा पनि म कस्ती देखिन्छु भन्नेबारे ज्यादा उत्सुक हुन्छन्,' चेल्सी स्टर्लिङले भनिन्

तर सबैजना टिन्डरको प्रशंसक भने छैनन्।

"टिन्डरको बारेमा मसँग त केही पनि राम्रो भन्ने कुरा छैन," अमेरिकाको टेक्ससकी ३० वर्षीया लेखापाल एमी मरीले भनिन्।

उनका अनुसार "असङ्ख्य पुरुषहरूले" उनलाई उक्त एपमार्फत् अश्लील वा आक्रामक सन्देशहरू पठाउँछन्।

उनले 'हाई' भनेको केही बेरमै एक पुरुषले पठाएको एक सन्देशको स्क्रीनशट उनले देखाइन्।

एमी मरी
तस्बिरको क्याप्शन, एमी मरी टिन्डरबारे सकारात्मक धारणा राख्दिनन्

"टिन्डरबारे मेरो धारणामा प्रेम र घृणा मिश्रित छ। अलिबढी घृणापूर्ण नै छ।"

यूकेको नटिङ्गमस्थित ३५ वर्षीया चेल्सी स्टर्लिङको पनि टिन्डरसँग सुखद सम्बन्ध छैन।

"मानिसहरू म के सोच्छु वा भन्छुभन्दा पनि म कस्ती देखिन्छु भन्नेबारे ज्यादा उत्सुक हुन्छन्," उनले भनिन्।

दुर्व्यवहार तथा अनिच्छित तस्बिर

फोन हेर्दै महिला
तस्बिरको क्याप्शन, अनुसन्धानहरूका अनुसार महिलाहरू प्रायः डेटिङ एपमा दुर्व्यवहार भोग्ने गर्छन्। उनीहरूलाई अनिच्छित अश्लील तस्बिर पठाइन्छ

एपप्रति एमी मरीको धारणा असामान्य भने होइन। अनि यदि तपाईँ महिला हुनुहुन्छ भने डेटिङ एपप्रति तपाईँको खराब अनुभव हुने सम्भावना बढी हुन्छ।

सन् २०२० मा पिउ रिसर्च सेन्टरले गराएको एउटा अध्ययनमा महिलाहरूप्रति दुर्व्यवहार हुने सम्भावना अधिक देखिएको थियो।

अठारदेखि ३४ वर्ष उमेरका मानिसमध्ये ५७% ले अश्लील सन्देश वा तस्बिर पाएका थिए।

भौतिक हानिको जोखिम पनि महिलाहरूलाई नै बढी देखिएको छ: १९% (९% पुरुषको तुलनामा)।

टिन्डरले महिलाहरूलाई सुरक्षित राख्नु आफ्नो "प्राथमिकताको केन्द्रमा" रहेको बताएको छ।

समाजशास्त्री बर्गस्ट्रोमले डेटिङ एपले मानिसहरूलाई थप यौनिक स्वतन्त्रता दिएको बताएकी छन्
तस्बिरको क्याप्शन, समाजशास्त्री बर्गस्ट्रोमले डेटिङ एपले मानिसहरूलाई थप यौनिक स्वतन्त्रता दिएको बताएकी छन्

प्यारिसस्थित फ्रेन्च इन्स्टिट्यूट फर डेमोग्राफिक स्टडीज (आईएनईडी) की समाजशास्त्री तथा अनुसन्धानकर्ता मरी बर्गस्ट्रोमले "थोरै सामाजिक नियन्त्रण" का सकारात्मक असर पनि हुने बताइन्।

"यौन व्यवहारलाई लिएर महिलाहरूलाई समाजले ज्यादा कडिकडाउपूर्ण धारणा बनाउने गरेको छ।"

"हामीले के देखेका छौँ भने अनलाइन डेटिङ मञ्चहरूले महिलाहरूलाई छोटो समयका सम्बन्धहरू निर्माण गर्न तथा साथी भेट्न थप सहज बनाइदिएको छ। ती मञ्चमा उनीहरूका विषयमा धारणा बनाइने वा अरूले उनीहरूबारे कुरा गर्ने सम्भावना नहुने हुँदा त्यो सहजता भएको हो," उनी भन्छिन्।

"त्यसैले यसमा सबै थोक नकारात्मक मात्रै भने छैन। त्यसैले सम्भवतः यी मञ्चहरू यति लोकप्रिय बनेका हुन्।"

तर अनलाइन डेटिङको भविष्य चाहिँ कस्तो होला?

मेटाभर्समा स्पर्श तथा चुम्बन

मेटाभर्स
तस्बिरको क्याप्शन, भीआरको दुनियाँमा हुने अनिच्छित स्पर्शले पनि वास्तविक संसारमा त्यस्तै घटना भएमा हुने जस्तै मनोवैज्ञानिक प्रभाव पार्न सक्छ

तपाईँले सम्भवतः सुन्नुभएको होला : भविष्यमा तपाईँको कार्यालयका बैठकहरू पनि मेटाभर्समा हुनेछन् - भर्चूअल रीयालिटी वा अभौतिक वातावरणमा जहाँ तपाईँको अवतार टेबलमा बसेर अन्य सहकर्मीहरूसँग साँच्चिकै भौतिक उपस्थितिसहितको बैठकमा जसरी नै अन्तर्क्रिया गर्न सक्नेगरी।

हो, अब यही नियम डेटिङ एपको भविष्यमा पनि लागु हुन्छ।

"भीआर वा भर्चूअल रीयालिटीले चुम्बन वा स्पर्शको अनुकरण गर्न दिन्छ," अमेरिकाको ओकल्यान्ड यूनिभर्सिटीमा मानव-कम्प्युटर अन्तर्क्रियासम्बन्धी असिस्टेन्ट प्रोफेसर डग्लस जिट्कोले भने।

"साथी आफूसँग कत्तिको मेल खान्छ भनेर जाँच्न अनलाइन डेटरहरूका निम्ति त्यस्तो अनुभव आवश्यक पर्छ," उनले भने।

तर त्यो जोखिमयुक्त पनि छ।

"अहिलेको अनलाइन डेटिङ दुनियाँमा जति नकारात्मकता छ भीआरले दिने सघनताले त्यो थप बढ्ने सम्भावना प्रबल हुन्छ," जिट्कोले भने।

कुनै एउटा डेटिङ एपमा तपाईँले कुनै रोमान्टिक वा यौन प्रस्ताव अस्वीकार गरेको कल्पना गर्नुहोस्।

"भीआरको संसारमा ती व्यक्तिले मुखैले नकारात्मक टिप्पणी गर्न सक्छन् जसका निम्ति तिनले तिनको अवतारको प्रयोग गर्न सक्छन्।"

तर व्यवहारमा त्यसको अर्थ के होला?

जिट्को भन्छन्, "तिनले अर्को व्यक्तिको अवतारलाई नकारात्मक ढङ्गले स्पर्श गर्न सक्छन्। प्रारम्भिक अध्ययनहरूले के देखाएका छन् भने अवतारमार्फत् भीआरको संसारमा हुने त्यस्ता अनिच्छित स्पर्शले पनि वास्तविक संसारमा त्यस्तै घटना भएमा हुने जस्तै मनोवैज्ञानिक प्रभाव पार्न सक्छन्।"

अहिले उपलब्ध मेटाभर्स मेटा कम्पनीको स्वामित्वमा छ।

उक्त कम्पनीले मेटाभर्सलाई सुरक्षित बनाउन नयाँ उपायहरू ल्याएको छ।

व्यक्तिगत सीमा भनिने त्यस्तै एउटा उपायले अवतारहरूलाई निश्चित दूरीसम्म मात्र आउन दिन्छ। अर्थात् नचाहिएका अन्तर्क्रियाबाट बच्न सजिलो हुनेछ। कम्पनीले प्रयोगकर्ताहरूलाई ब्लक गर्न वा रिपोर्ट गर्न पनि विभिन्न विकल्प दिइएको बताएको छ।

डेटिङ प्रोफाइल
तस्बिरको क्याप्शन, अनलाइन डेटिङको एक आकर्षक पक्ष भनेको नजिकै रहेको कसैसँग जोडिनु हो

डेटिङ एपको सबभन्दा आकर्षक पक्षमध्ये रेस्टुराँको अर्को कुनामा रहेका, वा नजिकै बस्ने वा छरछिमेककै कसैसँग जोडिन सक्ने सम्भावना पनि हो।

कतिपय एपले त्यसमा ध्यान दिएका छन्। सिङ्गल टाउन नामक एपमा मेटाभर्सको सहर छ जहाँ मानिसका अवतारहरू "डुलफिर गर्छन्, जता मन लाग्यो जान्छन् अनि जो मन लाग्यो उससँग कुरा गर्छन्।"

कुनै अवतारमा ट्याप गरेर उक्त व्यक्तिको वास्तविक तस्बिर हेर्न सकिन्छ, कुराकानी गर्न सकिन्छ तथा भर्चूअल दुनियाँमा अन्तर्क्रिया गर्न सकिन्छ।

"यी एपहरूले पनि समयक्रममा तपाईँहरू प्रत्यक्ष भेटघाट गर्न उत्सुक हुनुहुनेछ भन्ने नै अनुमान गर्छ। अर्थात् मुख्य उद्देश्य भनेको अन्तिममा हुने प्रत्यक्ष भेटघाट तथा सम्बन्धलाई सहयोग पुर्‍याउनु नै हो।"

जिट्को यसले वास्तविक दुनियाँमा हुनसक्ने झन्झट घटाउँछ भन्ठान्छन्।

भीआरले नयाँ सम्भावना उजागर गर्दै गर्दा यसका प्रयोगकर्ताहरू आगामी पाँच वर्षमा ६७ करोडभन्दा धेरै पुग्ने स्ट्याटिस्टाको अनुमान छ। अब उनीहरूले यौन वा प्रेमसम्बन्ध खोज्नेहरूका निम्ति पहिलो रोजाइको थलो बन्ने प्रयास गर्दैछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, एउटै सङ्गीत मन पराउनेबीच प्रेम सम्बन्ध राम्रो हुन्छ?