शेअर बजार, मौद्रिक नीति: ‘कोमामा पुगेको बजारलाई केवल सिटामोल’

शेअर बजार
    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

शुक्रवार नेपाल राष्ट्रब्याङ्कले ल्याएको मौद्रिक नीतिपश्चात् लगातार दुई दिन आइतवार र सोमवार नेप्सेको सूचकाङ्क बढ्यो।

तर त्यसलाई मौद्रिक नीति शेअरबजारको हितमा आएको नठान्न लगानीकर्ताहरूले चेतावनी दिएका छन्।

पछिल्ला कैयन् महिनादेखि नेप्सेमा निरन्तर पहिरो गइरहेको छ।

अघिल्लो असार मसान्तमा नेप्सेका सूचीकृत शेअरहरूको मूल्य वा बजार पुँजीकरण ४० खर्ब रुपैयाँ नाघेकोमा यसपालिको असार मसान्त आइपुग्दा त्यो मूल्य १२ खर्ब जतिले घटेर करिब २८ खर्बमा ओर्लिएको छ।

बजार 'कोमा'मा छ

यो अवधिमा नेप्से सूचकाङ्क २८८९ बाट झरेर २००९ मा आइपुगेको थियो।

फ्लोटिङ् भनिने कारोबार भइरहने शेअरको मात्र हिसाब गर्दा पनि उक्त मूल्य सोही अवधिमा १४ खर्बबाट घटेर १० खर्ब रुपैयाँमा ओर्लिएको छ।

"चाहे बजार पुँजीकरण होस् वा फ्लोट बजार पुँजीकरण दुवैमा २८-२९ प्रतिशतको गिरावट आएको छ," नेप्सेका वरिष्ठ अधिकृत निरञ्जन फुयालले भने।

कागजी मूल्यमा भएको यस्तो भारी गिरावटले दशौँ लाख लगानीकर्ताहरूको सम्पत्ति मूल्याङ्कनमा पहिरो गएको छ। अघिल्लो वर्ष करिब ३८ लाखको डिम्याट रहेको आँकडा हेर्ने हो भने यो पहिरोले पारेको असरको व्यापकता अनुमान गर्न सकिन्छ।

"शेअर बजारमा आएको ह्रास एकदमै धेरै हो। वास्तवमा शेअर बजार अहिले कोमामा पुगेको छ। तर यसपालिको मौद्रिक नीतिले त्यसको सुधारका निम्ति सामान्य सिटामोलबाहेक अन्य कुनै औषधि दिन सकेको छैन," नेपाल पुँजीबजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले बीबीसीलाई बताइन्।

मौद्रिक नीतिले के ल्यायो?

मौद्रिक नीतिले शेअर बजारमा प्रचलित '४-१२' को नियममा थोरै फेरबदल ल्याउनुबाहेक अन्य परिवर्तन नगरेको लगानीकर्ताहरूको भनाइ छ।

शेअर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा यसअघि एउटा ब्याङ्कबाट ४ करोड अनि विभिन्न गरी बढीमा १२ करोड रुपैयाँ राखिएको थियो। तर नयाँ मौद्रिक नीतिले ४ करोडको शर्त हटाइदिएर एउटा वा विभिन्न ब्याङ्कबाट १२ करोडसम्म लिन पाउने गराइदिएको छ।

मौद्रिक नीति

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गभर्नर महाप्रसाद अधिकारीले साउन ६ गते मौद्रिक नीति सार्वजनिक गरे

"यो भनेको केवल झन्झट केही कम गराएको मात्र हो। तीन-तीनवटा ब्याङ्क धाउनु साटो एउटैबाट १२ करोड रुपैयाँसम्म पाइने भयो। तर हामीले त यो ४-१२ को नियमनै खारेज गर्न माग गरेका थियौँ," पोखरेलले भनिन्।

लगानीकर्ताहरूले माग्दै आएका अन्य सहुलियत नपाइएको भन्दै उनले यसबाट केही दिन नेप्से सूचकाङ्क बढे पनि दीर्घकालीन फाइदा हुने नदेखिएको बताइन्।

ब्याज दरको असर

सामान्यतया ब्याजदरसँग शेअर बजारको उल्टो सम्बन्ध रहन्छ।

अर्थात् ब्याजदर बढ्दा शेअर बजारमा आकर्षण कम हुन्छ।

यसपालि मौद्रिक नीतिले ब्याजदर उल्लेखनीय बढाइदिएको छ।

शेअर बजार
तस्बिरको क्याप्शन, गएको एक वर्षमा शेअर लगानीकर्ताहरूको सम्पत्तिको मूल्य झन्डै १२ खर्ब रुपैयाँले घटेको छ

ब्याङ्क दर भनिने केन्द्रीय ब्याङ्कले अन्य ब्याङ्कलाई दिने ब्याजदर नै ७ बाट ८.५% पुर्‍याइएको छ भने आम उपभोक्तासँग सम्बन्धित निक्षेप र कर्जाका ब्याजदर पनि बढेका छन्।

"जब बजारमा यत्तिकै पैसा जम्मा गर्दापनि आकर्षक ब्याज पाइन्छ भने थोरै मानिसहरूमात्र जोखिम मोलेर शेअरमा आकर्षित हुन्छन्। त्यसैले मौद्रिक नीतिमार्फत् बढेको ब्याजदरले शेअर बजारलाई राम्रो गर्दैन," अर्थविद् तथा धितोपत्र बोर्डका पूर्व प्रमुख रेवतबहादुर कार्कीले बताए।

नीतिगत अस्थिरता झल्कने गरी कहिले ४-१२ को नियम कहिले ब्याजदर हेरफेर गर्दा बजार ह्वात्तै बढ्ने र ह्वात्तै घट्ने हुन थालेको कार्की बताउँछन्।

मानवीय पीडाको पाटो

दिनहुँ रातो र हरियो भइरहने पुँजीबजारको प्रवृत्तिका पछाडि धेरैको आँसु र हाँसो लुकेको हुन्छ।

यसअघि शेअर बजारमा एकाएक निकै वृद्धि भएपछि धेरै लगानीकर्ता आकर्षित भए र उनीहरूले पेट काटेर जोगाएको रकम वा कर्जा लिएको रकमले शेअरमा लगानी गरे।

"तर अहिले जसरी बजार खस्किएको छ त्यसमा धेरै मानवीय पीडा जोडिएर आएको छ। हाम्रा निकट कै तीनजना लगानीकर्ताले यिनै कारणले आत्महत्या गरेको हामीले पाएका छौँ," पुँजीबजार लगानीकर्ता सङ्घकी अध्यक्ष पोखरेलले बताइन्।

विगतमा पनि शेअर बजार खस्कँदा आत्महत्या गरेका सम्मका खबर आउने गर्थे। अहिले पनि त्यो जोखिम कायम नै रहेकाले नीतिनिर्माताहरूले समग्रतामा ध्यान दिएर नीति बनाउनुपर्ने सुझाव लगानीकर्ताहरूले दिएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अहिले शेयर बजारमा किन धेरै महिलाहरू सक्रिय?