अफगानिस्तान भूकम्पः कम्तीमा १ हजार मानिसको मृत्यु, पाकिस्तान र भारतसम्म कम्पन

पाक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्पको असर उच्च देखिएको छ
तस्बिरको क्याप्शन, पाक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्पको असर उच्च देखिएको छ
Published
पढ्ने समय: २ मिनेट

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १,००० जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएको तालिबान सरकारका अधिकारीहरूले बताएका छन्।

पाक्तिका प्रान्तबाट प्राप्त तस्बिरहरूमा पहिरो गएको र कच्ची घरहरू भत्किएको देखिइरहँदा तालिबानले अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेको छ।

मानिसहरू सुतिरहेका बेला गएराति स्थानीय समय अनुसार १:३० बजे लगत्तै भूकम्प गएको थियो।

उद्धारकर्ताहरू त्यहाँ घाइतेको उपचारमा दौडधुप गरिरहेका छन्।

अफगान भूकम्प

यसअघि सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूबाट घाइते ओसारिएको देखिएको थियो।

दुर्गम स्थानहरूमा हेलिकप्टर प्रयोग गरेर घाइतेहरूलाई अस्पताल लगिएको छ।

मृतकको सङ्ख्या "बढ्न सक्ने"

तालिबान नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौँ घरहरू भत्किएको र मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्।

यसअघि विपद् व्यवस्थापन हेर्ने उनका सहायक मन्त्री शरफुद्दिन मुस्लिमले एउटा प्रेस सम्मेलनमा कम्तीमा ९२० जनाको मृत्यु भएको र थप ६०० जना घाइते भएको बताएका थिए।

भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ।

अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर भित्र गएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हेर्नुहोस्ः घाइतेलाई यसरी उद्धार गरिएको छ

सहयोगको याचना

तालिबानले अन्तर्राष्ट्रिय सहायताको लागि आग्रह गरेको काबुलस्थित युनिसेफ कार्यालयका एक अधिकारीले बीबीसीलाई बताएका छन्।

यूकेका अफगानिस्तान मामिला सम्बन्धी विशेष प्रतिनिधि नाइजल केइसीले "आफ्नो देश संयुक्त राष्ट्रसङ्घसँग सम्पर्कमा रहेको र अन्तर्राष्ट्रिय प्रयासमा सघाउन तयार रहेको" बताएका छन्।

अफगानिस्तान भूकम्प

"हिजो पाक्तिका प्रान्तका चार जिल्लामा शक्तिशाली भूकम्प गयो। भूकम्पका कारण हाम्रा सयौँ नागरिकको ज्यान जानुका साथै दर्जनौँ घरहरू ध्वस्त भएका छन्," सरकारका प्रवक्ता बिलाल करिमीले ट्विटरमा लेखेका छन्।

"उक्त क्षेत्रमा थप विपद् आउन नदिनका लागि तत्काल उद्धार टोली पठाउन हामी दाताहरूलाई आग्रह गर्छौँ।"

अफगानिस्तान भूकम्प

भारतसम्म कम्पन

केन्द्रबिन्दुभन्दा ५०० किलोमिटर टाढासम्म भूकम्पको तरङ्ग पुगेको बताइएको छ।

अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ।

प्रत्यक्षदर्शीहरूले जनाएअनुसार अफगान राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भूकम्पको धक्का पुगेको थियो।

यद्यपि ती स्थानमा कुनै क्षति पुगेको वा कोही हताहत भएको विवरण नआएको बीबीसी उर्दूले जनाएको छ।

अफगानिस्तानको भूकम्प

अफगानिस्तान भूकम्पीय जोखिमयुक्त क्षेत्रमा अवस्थित छ।

त्यहाँको भूगर्भमा विभिन्न दरारहरू छन्।

ग्रामीण भेगमा बलियो घर नबनाइने भएकाले विशेष गरेर त्यहाँ भूकम्पले ठूलो मानवीय क्षति पुर्‍याउने गरेको छ।

अफगानिस्तानमा भूकम्प गएपछि घाइतेलाई स्ट्रेचरमा ओसारिएको तस्बिर
तस्बिरको क्याप्शन, अफगानिस्तानमा भूकम्प गएपछि घाइतेलाई स्ट्रेचरमा ओसारिएको देखिने दृश्य
अफगानिस्तानमा भूकम्पले ठूलो क्षति पुर्‍याएको छ

विगत एक दशकमा अफगानिस्तानमा भूकम्पमा परेर ७,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रतिवेदनहरूमा उल्लेख छ।

प्रत्येक वर्ष अफगानिस्तानमा भूकम्पका कारण सरदर ५६० जनाको मृत्यु हुने गरेको देखिन्छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, काठमाण्डूमा यसरी हल्लाएको थियो भूकम्पले