युक्रेन युद्ध: किएभलाई रकेट प्रणालीहरू दिएर अमेरिकाले 'आगोमा घ्यू थपेको' रुसको आरोप

युक्रेन
Published

युक्रेनलाई थप परिष्कृत रकेट प्रणालीहरू दिने अमेरिकाको निर्णयलाई रुसले आगोमा घ्यू खन्याएको सरह भन्ने आरोप लगाएको छ। 

अमेरिकाले दिन लागेका ती अस्त्रहरू मस्कोसँग भएका भन्दा अत्याधुनिक हुन्।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेश्कोफले ती अस्त्रहरू रुसभित्र लक्षित नगरिने भन्ने किएभको बाचालाई अस्वीकार गरेका छन्। 

तर उनले त्यस्तो हकमा मस्कोले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरा चाहिँ खुलाएनन्। 

कस्ता अस्त्र?

लामो समयदेखि युक्रेनले माग गरिरहेको ती अस्त्रमार्फत् परैबाट शत्रु पक्षलाई स्पष्ट लक्ष्य तय गरेर प्रहार गर्न सकिन्छ। 

नयाँ रकेट प्रणाली युक्रेनलाई हाल दिइएका अस्त्रभन्दा निकै लामो दुरीसम्म प्रहार गर्न सक्ने क्षमताका छन्।

अहिलेसम्म अमेरिकाले त्यस्ता अस्त्रहरू रुसभित्रका निशानामा प्रहार गर्न प्रयोग हुनसक्ने भयले युक्रेनलाई दिन अस्वीकार गर्दै आएको थियो। 

क्रेम्लिन प्रवक्ता पेश्कोफले युक्रेनलाई हतियार दिएर 'अमेरिकाले प्रत्यक्ष र नियतवश आगोमा घ्यू खन्याएको' आरोप लगाए। 

बाइडनले उक्त अस्त्र प्रणाली उपलब्ध गराउने पुष्टि गरेपछि रुसले परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास थालेको घोषणा गरेको छ। 

युक्रेन

तर बुधवार बाइडनले घातक सहायताले युक्रेनलाई रुससँग वार्तामा अडान राख्ने क्षमता बढाउने र कूटनीतिक समाधान सम्भव बनाउने बताएका छन्। 

जर्मनीले पनि सघाउने

छुट्टै विकासक्रमबीच जर्मन सरकारले युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली पठाउने बाचा गरेको छ। 

चान्सलर ओलाफ सोल्जले सांसदहरूलाई आईआरआईएस-टी भनिने उक्त आधुनिक प्रणालीले युक्रेनको एउटा पूरै शहरलाई रूसी हवाई हमलाबाट प्रतिरक्षा गर्न सक्षम बनाउने बताए। 

यसैबीच पूर्वी युक्रेनको एउटा मुख्य तथा रणनीतिक शहर सेभेरोडोनेट्स्कका एक अधिकारीले आफूहरूको नियन्त्रणमा अब शहरको २० प्रतिशतजति भूभाग मात्र रहेको बताएका छन्।

रुसले पूर्वी युक्रेनमा लडाईँ केन्द्रीत गरिरहँदा राष्ट्रपति जेलेन्स्कीले देशका अन्य युद्धमैदानमा युक्रेन प्रतिरक्षा गर्दै अगाडि बढिरहेको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'सगरमाथाको चुचुरोबाट युद्ध लडिरहेका बुवा र भाइको सुरक्षाको कामना गरेँ'