इलोन मस्क: ट्विटरका नयाँ मालिक जसले छ पटक आफैलाई विवादमा पार्ने ट्वीट लेखे

इलोन मस्कको ट्विट र ट्विटरको सङ्केत।
Published

इलोन मस्कले ट्विटरको स्वामित्व किनेपछि उक्त सामाजिक सञ्जालको भविष्यबारे बहस सुरु भएको छ।

अमेरिकी सरकारले समेत "सामाजिक सञ्चारका ठूला माध्यमहरूको शक्तिबारे चिन्ता" व्यक्त गर्दै यस विषयमा चासो देखाएको छ।

तर मस्कले ४४ अर्ब डलरमा गरेको ट्विटरको अधिकरणले दक्षिण अफ्रिकामा जन्मिएका यी अरबपतिको विवादास्पद "ट्वीट इतिहास"लाई पनि सतहमा ल्याएको छ।

सन् २००९ मा पहिलो पटक ट्विटरमा उपस्थिति जनाएदेखि मस्कले आफैँलाई समस्यामा पारेका छन् र परिणामस्वरूप एक पटकभन्दा बढी कानुनी कारबाहीको सामना गर्नुपरेको छ।

ट्विटरका नयाँ मालिकद्वारा गरिएका सबैभन्दा विवादास्पद ट्वीटहरू कुन-कुन हुन् त?

ओडारबाट थाई किशोरहरूको उद्धारको विषय

थाइ किशोरहरूको उद्धार गरेपछि पदक प्राप्त गरेका भेर्नन अन्सवर्थ।

सन् २०१९ मा मस्कले बेलायती गोताखोर भेर्नन अन्सवर्थलाई अपमानजनक शब्द लेखेपछि मानहानिको आरोपमा मुद्दाको सामना गर्नुपर्‍यो।

पछि उक्त ट्वीट हटाइएको थियो।

उत्तरी थाईल्याण्डस्थित एउटा गुफामा फसेका १२ जना किशोरहरूको उद्धार गर्ने प्रयासको नेतृत्व गरेपछि अन्सवर्थले अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका थिए।

मस्कले उक्त उद्धार कार्यमा सहयोग गर्न चाहेका थिए। उनी एक पनडुब्बी दान गर्न चाहन्थे।

तर गोताखोर अन्सवर्थले मस्कको प्रस्तावलाई "चर्चामा आउने बहाना"को संज्ञा दिँदै सहयोग अस्वीकार गरेपछि उनीहरूबीच विवाद भएको थियो।

मस्कको टिप्पणीपछि अन्सवर्थले १९ करोड डलर क्षतिपूर्ति माग गर्दै मानहानिको मुद्दा दर्ता गरेका थिए।

तर लसएन्जलसस्थित एक अदालतले मस्ककै पक्षमा फैसला गर्‍यो।

त्यति बेला अन्सवर्थका वकिल लिन वुडले भनेका थिए: "यस फैसलाले तपाईँ अरूविरुद्ध आफूलाई मन लागेको कुरा जतिसुकै घिनलाग्दो र असत्य भए पनि भन्न पाउनु हुन्छ भन्ने सङ्केत दिन्छ।"

कोभिड-१९ बारे प्रतिक्रिया

मास्क लगाएको अवस्थामा इलोन मस्क।

सन् २०२० को मार्चमा कोभिड-१९ महामारी घोषणा भयो।

त्यति बेला मस्कले सङ्क्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाजस्ता उपायहरूलाई "मूर्खतापूर्ण" भन्दै आलोचना गरेका थिए।

त्यस वर्षको जुन ३० मा उनले कोरोनाभाइरसका कारण कसैको ज्यान गएको छ वा छैन भनेर निर्धारण गर्ने मापदण्डमाथि प्रश्न गर्दै लेखेको ट्वीट विवादित बनेको थियो।

आफूले खोप लगाए पनि यी उद्यमीले सार्वजनिक रूपमा खोप लगाउनु पर्ने आदेशको विरोध गरे र अनिवार्य खोप नीतिविरुद्ध क्यानडाली ट्रक चालकहरूले गरेको विरोधको सन्दर्भमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई एडोल्फ हिटलरसँग तुलना गरे।

त्यसका कारण यहुदी सङ्गठनहरू क्रोधित भएका थिए।

पुटिनलाई चुनौती

सन् २०१९ मा रुसी जुडो समूहसँग पुटिन।

युक्रेनमाथि रुसको आक्रमणपछि थुप्रै सार्वजनिक व्यक्तित्वहरूले भावुक प्रतिक्रिया जनाए। तर इलोन मस्कको प्रतिक्रिया अनौठो किसिमको थियो।

मार्च १४ मा यी उद्यमीले ट्विटरमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिए।

"म भ्लादिमिर पुटिनलाई एउटा मात्र लडाइँका निम्ति चुनौती दिन्छु जसमा युक्रेन दाउमा छ।"

उनले पछि रुसी राष्ट्रपतिको आधिकारिक खातालाई सम्बोधन गर्दै लडाइँको लागि बोलाए।

जुडोमा ब्ल्याकबेल्ट हासिल गरेका पुटिनले हालसम्म कुनै जवाफ दिएका छैनन्।

अमेरिकी राष्ट्रपतिको अपमान

अमेरिकी राष्ट्रपति जो बाइडन।

मस्कलाई अग्रणी विद्युतीय कार निर्माण कम्पनी टेस्लासहित अन्य व्यापारिक उद्यमहरूले सफल तुल्यायो।

गत ज्यानुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा विद्युतीय कारहरूको उत्पादनको विषयमा गरेको टिप्पणीका कारण उनी चिढिएकोजस्तो देखिन्थे।

यद्यपि बाइडनले टेस्लाको नाम उल्लेख गरेका थिएनन्।

"बाइडन मानवको रूपमा एक कठपुतली हुन्," उनले २७ ज्यानुअरीमा ट्वीट गरेका छन्।

ट्वीट गर्दै टेस्लालाई नोक्सान पुर्‍याउँदै

टेस्ला विद्युतीय सवारी साधन नजिकै मस्क।

मस्कले धेरै पटक आफूलाई टेस्लाका अन्य साझेदारसँग समस्यामा होमेका छन्।

उनले ट्विटरमा जनाएको प्रतिक्रियाका कारण कम्पनीको पैसाका खर्च भएको छ।

गत नोभेम्बरमा उनले ट्विटर मतदानमार्फत टेस्लामा रहेको आफ्नो शेअर बेच्नेबारे सर्वेक्षण गरेपछि कम्पनीको शेअर करिब पाँच प्रतिशतले घट्यो।

उक्त सर्वेक्षणमा सहभागी ३५ लाख प्रयोगकर्तामध्ये ५८ प्रतिशतले उनले शेअर बेच्नु पर्ने प्रतिक्रिया दिएका थिए।

सन् २०२० को मेमा मस्कले कम्पनीको शेअर "धेरै उच्च" भन्ने ठानेको बताउँदै ट्वीट गरेपछि कम्पनीलाई अझै ठूलो हानि भएको थियो।

उक्त टिप्पणीका कारण टेस्लाको बजार मूल्यबाट १४ अर्ब डलर नोक्सान भयो।

कोकाकोलाबारे मजाक

कोकाको पत्ता।

मस्कको सबैभन्दा पछिल्लो ट्विटर विवाद उनी स्वय‌म्‌ले सञ्जाल खरिद गरेपछि भएको हो।

अप्रिल २८ मा उनले ठट्यौली शैलीमा कोकाकोला खरिद गर्दै उक्त पेयको सूत्रमा कोकेन थप्ने योजनाबारे लेखे।

अमेरिकी फार्मासिस्ट जोन पेम्बर्टनले सन् १८८५ मा आविष्कार गरेको पेयमा कोका पत्ताबाट निकालिएको पदार्थ राखिन्थ्यो। अमेरिकाको न्यास्नल इन्टिट्युट अन ड्रग अब्युजका अनुसार त्यस समय कोकेन वैध थियो र औषधिजन्य काममा प्रयोग गरिन्थ्यो।

सन् १९२९ देखि पेयबाट कोकेनको मात्रा पूर्ण रूपमा हटाइयो।

मस्कका आठ करोड ७४ लाख मिलियन फलोअरहरूमध्ये केहीले उक्त पोस्टमा अनुकूल प्रतिक्रिया जनाएका छन् भने केहीले ट्वीटलाई लागुपदार्थको प्रसङ्गसँग जोड्दै आलोचना गरेका छन्।

गैरकानुनी पदार्थमाथि टिप्पणीका कारण मस्क विवादमा तानिएको यो पहिलो पटक भने होइन।

उनी सन् २०१८ मा पडकास्टर जो रोगनसँगको भिडिओ अन्तर्वार्तामा गाँजा सेवन गर्दै देखिएका थिए।

उक्त भिडिओ क्यालिफोर्नियामा छायाङ्कन गरिएको थियो जहाँ गाँजाको प्रयोग गैरकानुनी होइन तर आलोचकहरूले मस्कको गतिविधिविरुद्ध मत राखेका थिए।