चीनले आफ्नो सैन्य विमानमा लेजर प्रकाश प्रयोग गरेको अस्ट्रेलियाको आरोप

चिनियाँ जलसेनाको दुईवटा पानीजहाज
तस्बिरको क्याप्शन, अस्ट्रेलियाको सरकारले लेजर प्रकाश देखाउने पानीजहाजको तस्बिर सार्वजनिक गरेको छ
Published

अस्ट्रेलियाको रक्षा मन्त्रालयले चीनको नौसैनिक पानीजहाजले आफ्नो एउटा सैन्य विमानतर्फ 'सैन्य क्षमता'को लेजर प्रकाश देखाएको आरोप लगाएको छ।

चिनियाँ पानीजहाज उत्तर अस्ट्रेलिया नजिकै आराफुरा समुद्रमा अघि बढिरहेको बेला बिहीवार यो घटना भएको हो।

"यस्तो गतिविधिले मानव जीवनमाथि जोखिम निम्त्याउने सम्भावना रहन्छ। हामी व्यावसायिक र असुरक्षित सैनिक व्यवहारको कडा निन्दा गर्छौँ," अस्ट्रेलियाको रक्षा मन्त्रालयले भनेको छ।

यस विषयमा चिनियाँ अधिकारीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्।

विभिन्न विवादहरूका कारण हालैका वर्षहरूमा दुई देशको सम्बन्धमा चिसोपन देखिएको छ।

युद्ध विमानमाथि निशाना

अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले यसअघि पनि यस्तै खालका लेजर देखाइएका घटनाबारे समाचार प्रकाशित गरेका छन्।

त्यस्ता गतिविधिका पछाडि साना चिनियाँ पानीजहाजहरूको भूमिका रहेको गुप्तचर अधिकारीले आरोप लगाउँदै आएका छन्।

अस्ट्रेलियाको विज्ञप्ति अनुसार निशाना बनाइएको विमान बोइङ पी-एटए पुसाइडन रहेको थियो।

समुद्री क्षेत्रको गस्ती गर्ने त्यस्ता विमानमा पनडुब्बीहरूलाई पहिचान गर्नसक्ने सेन्सर र हतियार प्रणाली समेत जोडिएको छ।

बोइङ पी-एटए पुसाइडन
तस्बिरको क्याप्शन, अस्ट्रेलियाको रक्षा मन्त्रालयको विज्ञप्ति अनुसार निशाना बनाइएको विमान बोइङ पी-एटए पुसाइडन रहेको थियो

मन्त्रालयका अनुसार उक्त पानीजहाज आराफुरा समुद्रमा पूर्वतर्फ अघि बढिरहेका दुई वटा चिनियाँ नौसैनिक जहाजमध्ये एक थियो।

अस्ट्रेलिया र पपुवा न्यू गिनीबीचको टोरेस स्ट्रेट पार गरेपछि यो घटना भएको थियो।

"यी गतिविधिले अस्ट्रेलियाको प्रतिरक्षा फौजका सदस्यको सुरक्षा र जीवनलाई जोखिम पुर्‍याउन सक्थ्यो,"मन्त्रालयले भनेको छ।

"व्यावसायिक सैनिकहरूबाट हामीले अपेक्षा गर्ने व्यवहारसँग यो मेल खाँदैन।"

अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो र विगतमा दुवैले राम्रो सम्बन्ध कायम राखेका थिए। तर हालैका वर्षहरूमा कटुता देखिएको छ।

अस्ट्रेलियाले आफ्नो आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप बेइजिङमाथि लगाएको छ।

उसले अग्रणी चिनियाँ कम्पनी ह्वावेईलाई अस्ट्रेलियाका प्रविधि पूर्वाधार निर्माणमा प्रतिबन्ध लगाउनुका साथै सबैभन्दा पहिले चीनको वुहान सहरमा पहिचान भएको कोभिड-१९ को स्रोत खोज्न अनुसन्धान गर्नुपर्ने पक्षमा आफूलाई उभ्याएको छ।

महामारीको समयमा देखा परेका जातिवादी घटनालाई देखाउँदै बेइजिङले चाहिँ विद्यार्थी र पर्यटकहरूलाई अस्ट्रेलिया नजान चेतावनी दिएको छ।

अस्ट्रेलिया, यूके र अमेरिकाबीच नयाँ सुरक्षा गठबन्धन बनेपछि गएको सेप्टेम्बरमा चीनले त्यसले 'क्षेत्रीय शान्तिलाई गम्भीर रूपमा क्षति पुर्‍याउने…. र अस्त्र होडबाजीलाई तीव्र पार्ने' जोखिम रहेको बताएको थियो।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले त्यसबेला अस्ट्रेलिया 'चीनको शत्रुका परिणत भएको' टिप्पणी गरेको थियो।