न्यू योर्क आगलागी: ९ बालबालिकासहित कम्तीमा १९ को मृत्यु

घटनास्थलमा अग्नि नियन्त्रकहरू
Published

अमेरिकाको न्यू योर्कस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको छ।

न्यू योर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ र उनीहरूको अवस्था जटिल रहेको छ।

मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको पनि बताए।

डेमोक्र्याट सिनेटर चक शुमरले पनि संघीय तहमा जे गर्न आवश्यक छ त्यो गरिने प्रतिबद्धता जनाएका छन्। अहिलेसम्म आगो निभाइसकिएको छ।

अग्नि विभागका आयुक्त डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडितहरू भेटिएको बताएका छन्।

उनले उक्त आगलागीलाई पहिला कहिल्यै नभएको पनि भनेका छन्।

उनले एनबीसी न्यूजसँग बोल्दै मृत्यु हुनेको सङ्ख्या न्यू योर्कमा ३० वर्षयताकै खराब भनेका छन्।

आयुक्तले आगलागीबारे सूचना पाएको तीन मिनेटमै घटनास्थल पुगेको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मायामि

आगलागीको कारण

फिलडेल्फियास्थित अपार्टमेन्टमा आगलागी भएको केही दिनपछि न्यू योर्कमा यो घटना भएको हो। फिलडेल्फियामा पनि आगलागीमा परि ८ बालबालिकासहित १२ जनाको ज्यान गएको थियो।

अधिकारीहरूका अनुसार आइतवार न्यू योर्कको ब्रोङ्कस अपार्टमेन्ट ब्लकमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो।

आगलागी नियन्त्रणका लागि करिब २०० अग्निनियन्त्रकलाई घटनास्थलमा पठाइएको अधिकारीहरूले बताएका छन्।

विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने ठानिएको छ।

आयुक्त निग्रोले दुईवटा तलामा आगो देखिए पनि धुँवा भने सबैतिर फैलिएको बताएका छन्।

भवनका सबै तलामा पीडितहरू देखिएका छन्

आयुक्त निग्रोले संवाददाताहरूसँग सबै तलामा पीडितहरू भेटिएको र उनीहरूमा हृदयघात वा श्वासप्रश्वासमा समस्या आएको देखिएको बताएका छन्।

नजिकैका बासिन्दा जोर्ज किङ्गले एएफपी समाचार संस्थासँग बोल्दै आगोको ज्वाला देखिएसँगै मानिसहरूले झ्यालबाट हात हल्लाएको बताए।

"मैले धुँवा देखेँ, धेरै मानिसहरू आत्तिएका थिए," उनले भने, "कोही पनि भवनबाट हामफाल्न नचाहेको देख्न सकिन्थ्यो।"

घटनास्थलमा अग्नि नियन्त्रकहरू

३२ जना अस्पतालमा पुर्‍याइएको सहित जम्मा ६३ जना मानिसहरू घाइते भएका थिए।

त्यसमध्ये १३ जनाको अवस्था गम्भीर रहेको मेयरका वरिष्ठ सल्लाहकारले एएफपीलाई बताएका छन्।