विश्वकप छनोट फुटबल: यात्रा टुङ्ग्याउन कुवेततर्फ लागेको नेपालको युवा टोली

नेपाली फुटबल टोली
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published

नयाँ प्रशिक्षकको नयाँ रणनीतिमा कतार विश्वकप छनोट २०२२ र एसियन कप २०२३ को पहिलो चरण खेल्न कुवेत उड्न लागेको टोलीमा युवा अनुहारको वर्चस्व रहेको छ जसले भोलिको राष्ट्रिय टोलीको मुहार तय गर्ने भनिएको छ।

अस्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेईसँग दशरथ रङ्गशालामा खेल्ने योजनामा देखिएका अनेक अवरोधको नतिजा स्वरूप अन्ततः नेपालको विश्वकप छनोटको दोस्रो चरण खाडी राष्ट्र कुवेतको रङ्गशालामा पुगेर अन्त्य हुँदैछ।

जुन यात्राको सुरुआत नेपाली राष्ट्रिय फुटबल टोलीले आज मङ्गलवार बेलुकी कतार एयरवेजको चार्टर विमान चढेर गर्दैछ।

नयाँ तालिका अनुसार नेपालले जेठ २० गते (जुन ३) ताईपेई, जेठ २४ गते (जुन ७) जोर्डन र जेठ २८ गते (जुन ११) अस्ट्रेलियासँग खेल्नेछ।

भूकम्पले भत्किएको दशरथ रङ्गशाला निर्माण बेलैमा सम्पन्न हुँदो हो त, डेढ वर्ष अगाडि नै नेपालले यी तीनवटै राष्ट्रसँग घरेलु मैदानमा नै खेलिसक्ने थियो।

'होम म्याच' खेल्न पाउने अधिकार पाएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले त्यति बेला आफैले अनुरोध गरेर तिथि सारेको थियो।

त्यसपछि अनेकन् प्रयास र अनुरोध गर्दा पनि रङ्गशालामा ती खेलहरू हुन सकेन।

कोरोनाभाइरस महामारीमा सारा विश्वलाई नै छपक्क छोपेपछि विश्वकपका तालिकाहरू छिन्नभिन्न भए।

र फिफाले अन्ततः कुवेतलाई तटस्थ भूमि तोकिदिएपछि थाँती रहेका खेल त्यहाँ तय भएको हो।

नेपालले खेलेको अन्तिम प्रतियोगिता काठमाण्डूमा आयोजित त्रिदेशीय कप हो
तस्बिरको क्याप्शन, नेपालले खेलेको अन्तिम प्रतियोगिता काठमाण्डूमा आयोजित त्रिदेशीय कप हो

रमाइलो कुरा के छ भने नेपालकै समूहमा रहेको कुवेतले त्यहाँ नेपालसँग भने खेल्ने छैन।

किनभने कुवेतसँगको खेल नेपालले 'तटस्थ मैदान' भुटानमा खेलिसकेको छ।

विश्वकप छनोटका खेलहरू अवरुद्ध भएको यो डेढ वर्ष बीचको परिवर्तित परिस्थितिको प्रभाव खेल तालिका वा खेलस्थलमा त पर्‍यो नै।

तर यसको सबैभन्दा ठूलो प्रभाव राष्ट्रिय टोलीको संरचनामा परेको देखिन्छ। नेपाली राष्ट्रिय टोलीको हकमा त एकदमै धेरै।

यसबीच नेपालले नयाँ प्रशिक्षकका रूपमा कुवेती प्रशिक्षक अब्दुल्लाह अलमताइरी पाएका छन् भने राष्ट्रिय टोली युवा खेलाडीहरूले भरिन पुगेको छ।

महत्त्व

कुवेतमा खेलिने तीन खेलको नतिजाले नेपाली टोलीलाई खास महत्त्व राख्छ।

यदि नेपालले त्यहाँ राम्रो प्रदर्शन गर्न सक्यो भने एसियन कप २०२३ को लागि छनोट हुने सम्भावना ज्यूँदो हुनेछ।

र त्यो नेपाली फुटबलको लागि ठूलो सफलतामा पर्नेछ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव इन्द्रमान तुलाधर भन्छन्, "एसियाको उत्कृष्ट २६ भित्र छिर्न सक्यो भने हामीले त्यो मौका पाउनेछौँ। हाम्रो योजना त्यसमा केन्द्रित छ।"

विश्वकप छनौट फुटबल. दोस्रो चरण - समूह ख - अङ्क तालिका. * सन् २०२१ मे २५ को अवस्था.

कोरोनाकाल सुरु हुनु अगाडिको सामान्य बेला खेलिएका खेलहरूमा नेपालले चाइनिज ताईपेईसँग उसकै घरमा गएर २ -० ले हराएकोले तीन अङ्क जोडेर बसेको छ।

टोलीले अस्ट्रेलियासँग भने ५ -० तथा जोर्डनसँग ३-० ले नतिजा गुमाइसकेको छ। दुवै खेल खेलिसकेको कुवेतसँग ७-० र १-० ले हारिसकेको छ।

तीन अङ्कका साथ आफ्नो समूहको चौथो स्थानमा रहेको नेपाल अन्य समूहको भन्दा राम्रो छ।

त्यसैले आगामी खेलहरूमा धेरै अन्तरले पराजित नभएमा वा अन्य समूहको खेलको नतिजा ज्यादै नभएमा नेपालले एसियन कप छनोट खेलको अर्को चरणमा प्रवेश पाउने देखिन्छ।

अर्थात् अत्यन्त ठूलो हार नबेहोर्नु नै नेपालको लागि एसियन कपको ढोका खुल्नु हो।

युवा टोली

नेपाली टोलीमा भएको व्यापक परिवर्तनले गर्दा अहिले टोलीको चर्चा बढेको छ।

प्रशिक्षक अलमताइरीले राष्ट्रिय टोलीमा रहेका १३ खेलाडीहरूलाई एक पटकमा हटाइदिए। र युवा खेलाडीहरूलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरे।

काठमाण्डूमा आयोजित त्रिदेशीय कप जितेको नेपाली टोलीबाट प्रशिक्षकले १३ जना खेलाडी हटाइदिएका छन्
तस्बिरको क्याप्शन, काठमाण्डूमा आयोजित त्रिदेशीय कप जितेको नेपाली टोलीबाट प्रशिक्षकले १३ जना खेलाडी हटाइदिएका छन्

राष्ट्रिय टोलीमा यति ठूलो परिवर्तन आश्चर्यचकित पार्ने खालको थियो।

३२ सदस्यीय प्रारम्भिक टोली छान्दा नै उनले राष्ट्रिय टोलीका नौ खेलाडी हटाइसकेका थिए।

अन्तिम नामावली प्रकाशित गर्दा थप पाँच जनाको नाम काटियो।

यो उथलपुथलमा छ जना नयाँ अनुहारहरू आयुष घलान, मनिष डाँगी, कमल थापा, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ र गोलरक्षक विशाल सुनारले पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाए।

त्यसमा घलान र डाँगीले त अहिलेसम्म ए डिभिजन लिग समेत खेलेका छैनन्।

एउटा प्रशिक्षकका रूपमा उनले ठूलो जोखिम मोल्ने आँट गरेका हुन्।

तर टोली परिवर्तनको उनको उद्देश्य भने स्पष्ट थियो।

उनले भने, " मेरो लक्ष्य विश्वकप होइन, साफ च्याम्पियनसिप हो। र यो टोली भविष्य निर्माणका लागि गरिएको प्रयास हो। तत्काल होइन, यसले दीर्घकालीन नतिजा दिनेछ।"

कुवेती प्रशिक्षक
तस्बिरको क्याप्शन, कुवेती प्रशिक्षक अब्दुल्लाह अलमताइरीका लागि आगामी सेप्टेम्बरमा बाङ्ग्लादेशको ढाकामा हुने आगामी साफ च्याम्पियनसिप वास्तविक परीक्षा हुनेछ

प्रशिक्षकले विश्वकपमा रच्ने रणनीतिले उनको दीर्घकालीन योजना बुझाउने नै छन्।

तर विश्वकप जस्तो ठूलो प्रतियोगितामा युवा टोलीमा गरिएको विश्वासले उनको आलोचना पनि भएको छ।

विश्लेषक सञ्जीव मिश्र भन्छन्, " खाडी राष्ट्र जस्तो गर्मी स्थानमा खेलिने खेल र कोरोनाभाइरसले नतिजा तलमाथि हुनसक्ने सम्भावनाका माझ उनले ठुलो चुनौती मोलेका हुन्। त्यस्तो अप्ठेरो भएको अवस्थामा अनुभवी खेलाडीहरूको खाँचो पर्न सक्छ। "

टोलीको संरचनाप्रति भएको आलोचनाप्रति प्रशिक्षक क्षुब्ध देखिएका थिए। तर सामाजिक सञ्जालमा के कस्ता प्रतिक्रिया वा आलोचना गरियो भन्ने विषयमा प्रशिक्षक अलमलिन नहुने उनलाई कतिपयको सुझाव छ।

परीक्षा

कोरोनाभाइरस सङ्क्रमणको जोखिम र निषेधाज्ञाका बीच अत्यन्त सावधानी अनि स्वास्थ्य सुरक्षाका माझ नेपालले काठमाण्डूमा तयारी गर्‍यो।

अब टोलीले इराकविरुद्ध उसकै भूमिमा जेठ १५ गते मैत्रीपूर्ण खेल खेल्नेछ।

हुन त इराक जस्तो बलियो टिमसँग मैत्रीपूर्ण खेल खेल्नु नेपालको लागि सही निर्णय मानिएको छैन।

बलियो टोलीसँग नमिठो पराजय भोगेमा त्यसको असर विश्वकप छनोटमा पर्न सक्ने कतिपयले बताएका छन्।

तर कोरोनाकालमा अरू विकल्प एन्फासँग पनि थिएन।

अर्कोतर्फ कुवेती भूमि नेपालको लागि राम्रो देखिएको छैन।

त्यहाँ कुवेतसँग नेपाल ७-० ले पराजित मात्र भएको थिएन, प्रदर्शन पनि निकै बिग्रिएको देखिएको थियो।

यद्यपि त्यहाँ अस्ट्रेलिया र चाइनिज ताईपेईले पनि उही प्रतिकुल मौसमसँग जुझ्नुपर्ने भएकोले त्यो नेपालको लागि बेफाइदा हुने छैन।

जोर्डनले त्यहाँ सबैभन्दा बढी फाइदा उठाउन सक्नेछ।

जे भने पनि विश्वकप छनोट यो युवा टोली र प्रशिक्षक अलमटाइरी दुवैको लागि चुनौती र अवसर हो।

प्रशिक्षक अलमटाइरीले यसै खेलबाट आफ्नो क्षमताको परिचय दिनेछन्। तर उनले यो यात्रामा गुमाउनुपर्ने विषय भने केही पनि छैन।

किनकि विश्वकप छनोट सहज प्रतियोगिता हुँदै होइन।

आगामी सेप्टेम्बरमा बाङ्ग्लादेशको ढाकामा हुने आगामी साफ च्याम्पियनसिप उनको लागि वास्तविक परीक्षा हुनेछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘तलब बराबर भयो, अब अवसर पनि बराबर चाहिन्छ’