इजरेल-गाजा युद्धः शत्रुले प्रहार गरेको क्षेप्यास्त्र ध्वस्त पार्ने 'आइरन डोम' प्रतिरक्षा प्रणाली के हो

आइरन डोमले आकामशमै क्षेप्यास्त्र ध्वस्त पारिदिन्छ
तस्बिरको क्याप्शन, 'आइरन डोम'ले आकाशमै क्षेप्यास्त्र ध्वस्त पारिदिन्छ
Published

इरानले ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै इजरेलमाथि आक्रमण गरेपछि इजरेलले सयौँ ड्रोन र क्षेप्यास्त्रलाई निष्क्रिय पारिएको बताएको छ। त्यसका लागि इजरेली सेनाले 'आइरन डोम' क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि प्रयोग गरेको छ।

यसअघि हमास लडाकु समूहले प्रहार गरेका रकेटहरू निष्क्रिय पार्न उक्त क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली' उपयोगी भएको इजरेलले बताएको थियो।

उक्त प्रणाली प्रयोग नगरिएको भए अहिले जारी द्वन्द्वमा इजरेलपट्टि हुने मानवीय क्षति "निकै बढी" हुने इजरेली सेनाको भनाइ थियो। यद्यपि इजरेलतिर प्रहार गरिएका केही रकेटहरू आवासीय क्षेत्रमा खसेका थिए।

इजरेली अधिकारीहरूका अनुसार उक्त प्रणालीले अधिकांश रकेटलाई आकाशमै ध्वस्त पारिदिन्छ।

त्यसो हुँदा सघन बस्ती भएका इजरेली सहरलाई जोगाउन सकिन्छ।

आइरन डोम प्रणालीले कसरी काम गर्छ?

आइरन डोम

'आइरन डोम' को उद्देश्य इजरेललाई लक्ष्य गरी प्रहार गरिएका छोटा दूरीका क्षेप्यास्त्रलाई निस्तेज पार्नु हो। यसले जस्तोसुकै मौसममा पनि काम गर्न सक्छ।

यसले रकेटको अवस्थिति पत्ता लगाउन 'रेडार' प्रयोग गर्छ अनि आवासीय क्षेत्रमा पुग्न सक्ने सम्भावना भएका र नसक्ने रकेट छुट्ट्याउन सक्छ। यो प्रणालीले मानिसहरू बस्ने क्षेत्रमा प्रहार गर्न सक्ने रकेट पहिचान गरेर तिनलाई निस्तेज पार्न 'इन्टर्सेप्टर' अर्थात् 'अवरोधक क्षेप्यास्त्र' प्रहार गर्छ।

यसमा इजरेलभरि प्रयोग गरिएको विविध क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू संलग्न छन्। प्रत्येक प्रणालीमा तीनदेखि चारवटा 'लन्चर' हुन्छन् र तिनले २० वटा 'अवरोधक क्षेप्यास्त्र' प्रहार गर्न सक्छन्।

यो प्रणाली एकैठाउँमा जडान गरेर राखिएको र चलायमान गरी दुई थरी हुन्छ।

यो प्रणालीका लागि इजरेलले अर्बौँ डलर खर्च गरेको छ। तीन वर्षअघि एउटा अवरोधक क्षेप्यास्त्रको मूल्य डेढ लाख अमेरिकी डलर पर्ने विवरण आएको थियो।

यो प्रणाली कसरी बनाइयो?

ध्वस्त पारिएको रकेट
तस्बिरको क्याप्शन, 'आइरन डोम' प्रणाली सन् २०११ देखि प्रयोग भइरहेको छ

दक्षिणी लेबननमा आधार बनाएर लड्ने हिज्बुल्लाह लडाकु समूहसँग सन् २००६ मा द्वन्द्व भएपछि इजरेलले यो प्रणाली विकास गर्न आवश्यक ठान्यो।

हिज्बुल्लाहले हजारौँ पटक रकेट आक्रमण गरेर इजरेलमा ठूलो धनजनको क्षति पुर्‍याएको थियो।

त्यसको एक वर्षपछि इजरेलले राज्यद्वारा सञ्चालित 'राफेल एड्भान्स्ड डिफेन्स सिस्टम्स'ले क्षेप्यास्त्र रोक्ने नयाँ "ढाल" बनाउने घोषणा गर्‍यो।

उक्त परियोजनाका लागि २० करोड डलरभन्दा बढी रकम उपलब्ध गराइयो।

केही वर्षको अनुसन्धान र निर्माणपछि सन् २०११ मा उक्त प्रणालीको वास्तविक प्रयोग भयो। दक्षिणी इजरेलको बीरशिबा नगरमा प्रहार गरिएको एउटा क्षेप्यास्त्रलाई त्यसले निस्तेज पारिदियो।

सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले 'आइरन डोम' प्रणालीका केही एकाइ किन्ने र परीक्षण गर्ने निर्णय गर्‍यो।

आइरन डोम प्रणाली कति प्रभावकारी छ?

आइरन डोम
तस्बिरको क्याप्शन, 'आइरन डोम'ले धेरै मानिसको ज्यान बचाएको छ

इजरेली सेनाले यो प्रणालीको सफलताको दर ९० प्रतिशतसम्म भएको जनाएको छ।

छ महिनाअघि इजरेलमाथि अप्रत्याशित आक्रमण गर्दा आफूले ५,००० वटा रकेट प्रहार गरेको हमासले जनाएको थियो। यद्यपि इजरेलले केवल २,५०० वटा रकेट प्रहार भएको हुन सक्ने बताएको थियो।

आइरन डोम प्रणालीले थेग्न नसक्ने गरी ती रकेटहरू छोटो अवधिमा प्रहार भएका थिए।

हिज्बुल्लाह समूहले लेबनानतिरबाट पनि रकेट प्रहार गर्ने गरेको छ। इजरेली डिफेन्स फोर्सेसका अनुसार अक्टोबर ७ पछि इजरेललाई लक्ष्य गरी हजारौँ रकेट प्रहार गरिएको थियो।

केही रकेट आवासीय क्षेत्रमा खस्दा इजरेली भूमिमा केही मानिस हताहत भएको इजरेली सञ्चारमाध्यमले जनाएका छन्।

आइरन डोमले इजरेली नागरिकहरूलाई रकेट आक्रमणबाट जोगाएकोमा कुनै सन्देह छैन। तर यसले पूर्ण सुरक्षा दिन सक्दैन।

भविष्यमा अरू शत्रुबाट आक्रमण भयो भने गाजाबाट प्रहार भएका ९० प्रतिशत रकेट रोक्न सक्ने क्षमता अपर्याप्त हुन सक्छ।

द जेरुसेलम पोस्टका एक वरिष्ठ पत्रकार योनाह जेरेमी बबका अनुसार हिज्बुल्लाहसँग थोरै समयमा धेरै क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता छ। त्यस्तो स्थितिमा 'आइरन डोम'लाई सबै प्रहार निस्तेज बनाउन कठिन हुन सक्छ।

आइरन डोमको यो उपकरण दक्षिणी इजरेलको एउटा सहरमा छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक , इन्स्टाग्राम र ट्विटर मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।